मध्यमर्स्याङ्दीमा ४० मेगावट मात्रै विद्युत उत्पादन



लमजुङ।

लमजुङ स्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनामा ३० मेगावट विद्युत उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि उत्पादन पनि घटेको हो ।

आयोजनाका केन्द्र प्रमुख पवन बस्नेतका अनुसार बर्खाको समय टर्बाइन खुला छाड्दा ७३ मेगावाटसम्म उत्पादन हुने जलविद्युत केन्द्रबाट अहिले दैनिक औसत ४० मेगावाट मात्रै विद्युत उत्पादन हुने गरेको छ । पानीको बहाव कम भएका कारण आयोजनाबाट औसत दैनिक ४० देखि ४२ मेगावाट विद्युत मात्र उत्पादन भएको प्रमुख बस्नेतले बताए । पानी नपर्ने र हिउँ नपग्लिने कारण विद्युत उत्पादन घट्दै गएको केन्द्रले जनाएको छ । उक्त आयोजन३५–३५ मेगावाटका दुईवटा टर्बाइन गरी ७० मेगावट क्षमताको हो ।

जिल्लामा रहेका अन्य जलविद्युत आयोजनामा समेत पानीको बहाव कम हुँदा विद्युत उत्पादन घट्न थालेको छ । लमजुङस्थित पिपुल हाईड्रोपावर कम्पनीद्वारा संचालिन ५४ मेगावट क्षमताको सुपरदोर्दी ’ख’ आयोजनाबाट ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ । आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलका अनुसार हाल १८ मेगावाट मात्र विद्युत मुस्किलले उत्पादन भइरहेको छ ।

त्यसै गरी मर्स्याङदी गाउँपालिका स्थितभुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ’ए’ जलविद्युत, दोर्दी करिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माण भएको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका ६ ढोडेनी स्थित लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण भएको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ’ए’ जलविद्युत् आयोजना, २५. मेगावाट, १२ दशमलव १ मेगावाट साथै ५ मेगावाटको सिउरी, ४ दशमलव ४ मेगावाटको रांधी, ३ मेगावाटको मिदिम करापु र २ मेगावाटको छयाङदी जलविद्युत् आयोजनाहरूबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्