राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सय रोपनी जग्गा



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउने विषयमा बोलेको कुरा अब पूरा गर्ने बताउनुभएको छ। उहाँले सरकारले केन्द्रलाई सय रोपनी जग्गा उपलब्ध गराउने घोषणासमेत गर्नुभयो ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोपण समाजको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री दाहालले सम्मेलनको निष्कर्ष र सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मष्तिस्क मृत्युपछि अंगदान गर्दा धेरैले नयाँ जीवन पाउँछन्, योभन्दा ठूलो धर्म केही होइन भन्नुभयो।

देशमा भएका विज्ञहरूको पहिचान गरी उहाँहरूसँगको ज्ञान र सीपको उच्च मूल्यांकन गरी जनमानसमा सकारात्मक सन्देश दिँदै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सम्मेलनमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले ३ हजार बिरामी प्रत्येक वर्ष मिर्गाैला प्रत्यारोपणको लाइनमा हुने तर वर्षमा २ सय जनाले मात्र प्रत्यारोपणको अवसर पाउने बताउनुभयो ।

अस्पतालको भौतिक संरचना र जनशक्ति आवश्यकताअनुसार सरकारले दिन सके हाल पाइरहेको सेवाको संख्यालाई ५ गुनाले वृद्धि गर्न सकिनेमा उहाँले जोड दिनुभयो।

उहाँले प्रधानमन्त्री प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रत्यारोपण केन्द्रलाई सूर्यविनायकस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा रहेको सय रोपनी जग्गा उपलब्ध गराउन गरेको निर्णय हाल उद्योग मन्त्रालयमा अड्किएकाले उपलब्ध गराउन अनुरोध गर्दै जग्गा प्राप्ति हुनासाथै ५ सय बेडको अस्पतालको क्षमता वृद्धि गर्न सकिने बताउनुभयो।

उहाँले अस्पताल स्थापना भएको ११ वर्षमा १२ सय बिरामीको मिर्गाैला प्रत्यारोपण भक्तपुरबाट मात्र गर्न सफल भएको जानकारी दिनुभयो।

उहाँले शहीद धर्मभक्तको विशेषता भनेको सबैभन्दा बढी मिर्गाैला प्रत्यारोपण, पहिलोपटक सबैभन्दा जटिल, महँगो तथा चुनौतीपूर्ण कलेजो प्रत्यारोपण, पहिलोपटक मष्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण, निःशुल्क डाइलाइसिस तथा मिर्गाैला प्रत्यारोपणको सुरुआतका लागि आवश्यक पर्ने नियम, कानुन, नीति, योजना बनाउन सरकारलाई घचघच्याइरहनु हो भन्नुभयो। हाल दिनमा ४ वटासम्म मिर्गाैला प्रत्यारोपण हुने गरेको छ।

निजी क्षेत्रबाट सञ्चालित अस्पतालका चिकित्सकलाई पनि केन्द्रबाट मिर्गाैला प्रत्यारोपण, डायलाइसिसको तालिम दिइएको, काठमाडौं बाहिर गण्डकी र कर्णाली प्रदेशमा मिर्गाैला प्रत्यारोपण शुरू गरेको उहाँले जानकारी दिनुभयो।

उहाँले अब सातै प्रदेशमा शुरू गर्ने कार्यक्रम बनाई सम्झौता गरी कामका लागि तयारी अवस्थामा पुगेकाले सरकार र नागरिक सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो।

उहाँले भक्तपुर अस्पतालमा भएको सेवाबाट मिर्गौला प्रत्यारेपण गरेकाहरू ९८ प्रतिशत र डाइलाइसिसमा भएकाहरू ९५ प्रतिशतभन्दा बढी बाँच्नसक्नु अत्यन्तै गौरवको कुरा भएको बताउनुभयो।

सोही अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री महेश बस्नेत, सांसद डा. चन्दा कार्की, सांसद रज्जु झा, राजेन्द्र पाण्डे, अपोलो अस्पताल भारतका अंग प्रत्यारोपण विज्ञ डा. सन्दीप गुलरियाले आफ्नो मन्तव्य राख्नुभएको थियो।

एकदिवसीय कार्यक्रममा नेपाल, भारतका विज्ञहरूका साथ अमेरिकाबाट समेत विज्ञहरू भर्चुअल सहभागी भई घनीभूत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्