विद्यार्थीलाई सरकारी सेवा सम्बन्धी जानकारी



पनौती, काभ्रे ।

पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढ्दो छ । पछिल्लो समय विद्यार्थीहरु बिदेसिने क्रम बढेकोले कतिपय शैक्षिक संस्थाहरु नै बन्द हुने अवस्थामा पुगेका छन् । १२ कक्षा सम्मको अध्ययन गरेपछि त प्राय विद्यार्थीहरु स्वदेश बस्नै चाहदैनन् । उच्च शिक्षा अध्ययन गर्ने हेतुले विदेशिय पनि अधिकाशं युवाहरू विदेशमा सामान्य काम गरिरहेका पाइन्छ । विदेशी विनिमय दर महङ्गो हुने भएकोले त्यहाँ थोरै कमाउदा पनि नेपालमा धेरै हुन्छ । काम जे भएपनि पैशा धेरै हुने भएकोले पनि विद्यार्थीहरुमा विदेश मोह बढ्दो छ ।

विद्यालय स्तरको पढाई नसकिँदै आम विद्यार्थीहरुले विदेश जाने धारणा बनाउन थालिसकेको सन्दर्भमा पनौतीमा रहेको ईन्द्रेश्वर क्याम्पस तथा काभ्रे सेवा समाजले विद्यार्थीहरुलाई सरकारी सेवा सम्बन्धी जानकारी मूलक कार्यक्रम शुरु गरेको छ । यो कार्यक्रममा विभिन्न सरकारी सेवा बाट अवकाश प्राप्त प्रशिक्षकद्वारा विद्यार्थीहरुलाई स्वदेशमै प्राप्त अवसरलाई कसरी प्राप्ती गर्ने भन्ने बारेमा जानकारी दिनुका साथै विद्यार्थीहरुलाई आफ्नो क्षमता अनुसार स्वदेशमा काम गर्न प्रेरणा समेत प्रदान गरिने काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी बत्ताउँछन् ।

खास गरी यो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो पढाइका साथै लोकसेवा आयोगले लिने परीक्षामा समेत सामेल हुन प्रेरणा दिँदै निजामती, सुरक्षा स्वास्थ्य लगायत विभिन्न सेवा प्रवेशको बारेमा जानकारी गराइन्छ । शुक्रवार आयोजित कार्यक्रममामा पूर्व सहसचिव प्रदीपराज कणेलले भने– विद्यार्थीहरुले आफ्नो क्षमता अनुसार अवसरको खोजी र प्रतिस्पर्धा गर्नु पर्छ । ‘एउटा व्याचलर गरेको युवा विद्यार्थीले परराष्ट्रमा शाखा अधिकृत पास भए १५-१६ वर्ष पछि त्यो व्यक्ति

अमेरिकाको राजदूत सम्म हुन सक्छ’ उदाहरण दिँदै पूर्व सहसचिव कणेल भन्छन्– अहिले विद्यार्थीहरुले भाडा माझ्न परे पनि जसरी पनि म अमेरिका जान्छु भनेर प्रयास गर्ने की अहिले शाखा अधिकृत भएर अमेरिकाको राजदूत सम्म हुन्छु भनेर प्रयास गर्ने ? । आफ्नो क्षमता अनुसार हरेक क्षेत्रमा अब्बल बन्न सकिने भन्दै उनले विद्यार्थीहरुलाई लोकसेवाले लिने परीक्षा बारमा पनि जानकारी राख्न आग्रह गरे ।

दश जोड दुई पास भएको र २२ वर्ष उमेर ननाघेको व्यक्ति सेनामा अफिसर हुन सक्ने भन्दै पूर्व कर्णेल सूर्य अधिकारी भन्छन्– सेनामा आफ्नो क्षमता अनुसार सेना, प्रहरी लगायत सुरक्षा निकायमा समेत प्रशस्त अवसरहरू भएकोले विद्यार्थीहरुले बेलैमा सोच विचार गरेर सेवा प्रवेशमा प्रयास गर्नुपर्छ । विद्यार्थीहरुले आफ्नो पढाई सगै सरकारी सेवा प्रवेशको पनि तयारी गर्नु पर्ने बताउदै इन्द्रेश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाल भन्छन्– विद्यार्थीहरु विदेश पलाएन हुने सोचलाई हटाएर स्वदेशमा प्राप्त हुन सक्ने अवसरहरू प्रति प्रतिस्पर्धा गर्न सक्ने बन्नुपर्छ ।

विद्यार्थीहरुलाई सरकारी सेवा सम्बन्धी जानकारी मूलक कार्यक्रममा डिफेन्स क्यारियर एकेडमीका स्रोत व्यक्ति पूर्व डिआजि पुर्ण सिंह खड्का, पूर्व एसएसपी गुप्त बहादुर श्रेष्ठ, काभ्रे सेवा समाजका महासचिव पूर्व एसएसपी राघव सिंह थापा लगायतले विद्यार्थीहरुलाई सेवा प्रवेशबारे जानकारी गराएका थिए । आयोजकले इन्द्रेश्वर क्याम्पसको अलवा अन्य क्याम्पसका विद्यार्थीहरुलाई पनि यस्तो स्वदेशमै रोजगारीको अवसर प्राप्त गर्न र प्रतिस्पर्धा बन्न प्रोत्साहन गर्न नियमित कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्