जिल्ला अस्पतालमा हेमो डायलासिस सेवा प्रारम्भ



उदयपुर ।

उदयपुरको जिल्ला अस्पताल गाईघाट बोक्सेमा सोमबारदेखि डायलासिस सेवा प्रारम्भ गरिएको छ ।
कोशी प्रदेश सरकारको स्वास्थ्य सेवा विभागले गरेको मुल्याङ्कनमा सबैभन्दा बढी ८३ अंक ल्याएर प्रदेश  कै उत्कृष्ट अस्पताल भएको उदयपुर जिल्ला अस्पतालमा अबदेखि मृगौलाका विरामीहरुको सहज र सरल तरिकाले उपचार हुने भएको हो ।

डायलासिस सेवाको शुभारम्भ गर्दै उदयपुर निर्वाचन क्षेत्र नं १ का संघीय सांसद डा. नारायण खड्काले अस्पतालको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने र सेवा सुविधा, भौतिक पूर्वाधार जनशक्ति लगायतका विषयमा सम्बन्धित निकायमा गएर आवश्यक पहल गर्नुका साथै आवश्यक पर्ने अन्य उपकरणहरु समेतको व्यवस्थापनमा सहयोग गर्ने बताए ।

 

डा. खड्काले यो जिल्ला अस्पतालबाट थप उपचारका लागि बिरामीहरुले बाहिर जाने अवस्था आउन नदिन र बाहिरका बिरामीलाई यस अस्पतालमा ल्याएर उपचार गर्ने स्वास्थ्य केन्द्रका रुपमा कोशी प्रदेश कै अझ उत्कृष्ट अस्पताल बनाउनेतिर आफ्नो ध्यान केन्द्रित हुने बताए।

सो कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय गीता रेग्मीले अस्पताललाई श्रोत र साधनले पूर्ण बनाउन आफू पनि निरन्तर लागि परेको जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारकालागि सबैको सहयोग अपरिहार्य भएको बताए ।

सो कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतले नगरपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग निरन्तर गरिरहने जानकारी दिँदै भवन तथा अन्य भौतिक पूर्वाधारको अभाव रहेकोले आफूले प्रदेश सरकारका मुख्य मन्त्री तथा स्वास्थ्य सचिवसँग भेटेर अस्पतालको स्तरोन्नतकिालागि आवश्यक कुरा राखेर पहल गरिरहेको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेश सभाका माननीय सदस्यहरु गीता रेग्मी, सम्झना तामाङ, लीला राई, रामकुमार खत्री, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।

अस्पतालका डा. रञ्जित राउतको स्वागत मन्तव्यबाट प्ररम्भ भएको सो कार्यक्रममा कार्यक्रम संचालक तथा अस्पतालका सूचना अधिकारी योगेश्वर खनालले नगरपालिकाले १५ जना करार सेवाका कर्मचारी उपलब्ध गराएको जानकारी दिएका छन्. । अस्पतालको थप दुई वटा भवन निर्माणकालागि २६ करोड र ३६ करोडको लागतमा ३०० बेड क्षमताको अस्पताल भवन बनाउन विस्तृत परियोजना विवरणडिपिआर तयार भैसकेको जानकारी पनि सूचना अधिकारी खनाल दिएका  छन् ।

प्रतिक्रिया दिनुहोस्