सम्बन्ध विच्छेदको मात्रै ५७ प्रतिशत मुद्दा दर्ता 



 धादिङ। 

जिल्ला अदालत धादिङमा यस वर्ष कूल मुद्दामध्ये सम्बन्ध विच्छेदका ५७ प्रतिशत मुद्दा दर्ता भएको स्रेस्तादार माधव भण्डारीले बताएका छन्  । बुधवार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् ।

सम्बन्ध विच्छेदका २ सय ४१ मुद्दामध्ये यस आर्थिक वर्षमा १ सय २६ मुद्दा फछ्र्योट भएको छ । अंश मानाचामलसम्बन्धी १ सय १४ मुद्दामध्ये ३० मुद्दा फर्छ्यौट भएको स्रेस्तादार भण्डारीले जानकारी दिँदै जबरजस्ती करणीसम्बन्धी ५२ मुद्दामध्ये ८ मुद्दा यस वर्ष फैसला भएको जनाए ।

अदालतमा गतवर्षबाट जिम्मेवारी सरेर आएको ७ सय १६ थान मुद्दा, यस वर्ष नयाँ दर्ता ३ सय ८४ गरी १ हजार १ सय थान मुद्दा रहेकोमा यस वर्ष ३ सय ४५ मुद्दा फैसला भएको छ । २ वर्ष नाघेका ७६ थान मुद्दा अझै बाँकी रहेको छ ।

स्रेस्तादार भण्डारीले अन्तरक्रियाको उद्देश्य, नागरिकको दृष्टिकोमा अदालत र सञ्चारकर्मी, अदालती समाचार संकलन र यसका स्रोत, धादिङ जिल्ला अदालतको वर्तमान अवस्थालगायतको विषयमा सहजीकरण गरेका थिए ।

त्यस्तै, जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाले अदालत विशुद्ध जनआस्थासँग जोडिएको संस्था भएको बताएका छन्  । नागरिकहरुले धेरै आशा र अपेक्षा गरेको संस्था अदालत भएको भन्दै उनले अदालतप्रतिको विश्वास गुम्न नदिने स्पष्ट पारे । सामाजिक सञ्जालबाट अदालतप्रति भ्रम फैलाउने काम गरिरहेको भन्दै बास्तोलाले सञ्चारमाध्यमले त्यस्ता भ्रमलाई चिर्नुपर्ने दायित्व थपिएको बताए ।

अदालतमा हुने बिचौलियालाई बन्देज गरिएको, सामान्य नागरिकले स्रेस्तादारसँग पहुँच पु¥याउन सक्ने व्यवस्थापन गरिएको उनको भनाइ छ ।
यसै गरी, अदालतमा आउँदा दुई पक्ष भएको न्यायाधीशले फैसला गर्दा कानुन अनुसार गर्नुपर्ने र यसलाई व्यावहारिक पक्ष वा रीतिरिवाज हेर्न नसकिने जिल्ला न्यायाधीश गीता श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्