स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस : ‘सबैका लागि स्वास्थ्य आजैदेखि जुटौं’



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार ‘सबैका लागि स्वास्थ्य : आजैदेखि जुटौं’ भन्ने नाराका साथ स्वास्थ्यमा सर्वव्यापी पहुँच (यूएचसी) दिवस मनाएको छ।

स्वास्थ्य सेवा विभाग टेकुमा आयोजित कार्यक्रममा उपचारात्मक सेवा महाशाखाअन्तर्गतको आधारभूत स्वास्थ्य व्यवस्थापन शाखा प्रमुख डा. पोमावति थापाले स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि अहिलेसम्मको प्रगति र आगामी योजनाको समीक्षा गर्दै र जन सचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ को डिसेम्बर १२ देखि राष्ट्रसंघमा आबद्ध राष्ट्रहरूले प्रत्येक वर्ष डिसेम्बर १२ मा यो दिवस मनाउँदै आएको हो।

एघार वर्षपहिले दक्षिण–पूर्वी एसियाली देशहरूको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभाले सबै देशहरूलाई स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउने कार्यलाई तीव्रता दिन आग्रह गर्दै डिसेम्बर १२ मा स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाउने महत्वपूर्ण प्रस्ताव अनुमोदन गरेको थियो । त्यसैको तीन वर्षपछि २०१५ मा यूएचसी स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यहरूको संस्थापक सिद्धान्त बनेको हो ।

यसै अवसरमा विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन र दक्षिण–पूर्वी एसिया क्षेत्रमा यसका सदस्य राष्ट्रहरूले स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले स्वास्थ्य प्रणालीहरूमा बढ्दो दबाब र मागहरूको साथै विश्वव्यापी उथलपुथलको समयमा स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई गति दिन आवश्यक भएको जिकिर गर्दै भन्नुभयो– ‘कोभिड– १९ को महामारी, जारी रहेको विश्वव्यापी द्वन्द्व, त्यसबाट उब्जिएका आर्थिक चुनौतीहरू, महामारी र जनसांख्यिकीय संक्रमण, तीव्र जलवायु संकट, नयाँ र नयाँ रोगहरूको आवृत्ति, द्रुत शहरीकरणलगायतका कारण सामूहिक रूपमा यस क्षेत्रभरि नै अहिलेको स्वास्थ्य प्रणालीमा थप सुधारको आवश्यक्ता देखिएको छ।’

उहाँले विश्व स्वास्थ्य संगठन समसामयिक चुनौतीहरू र अवसरहरूको पहिचान गर्दै दक्षिण–पूर्वी क्षेत्रका सदस्य राष्ट्रहरूमा प्राथमिक स्वास्थ्य सेवाको आधारशिलालाई सुदृढ पार्दै स्वास्थ्यमा सर्वव्यापी पहुँचको गति बढाउन प्रतिबद्ध रहेको बताउनुभयो।

एक महिनाअघि मात्रै विश्व स्वास्थ्य संगठनको दक्षिण एसियाली राष्ट्रहरूको ७६ औं क्षेत्रीय समितिको सम्मेलनमा स्वास्थ्य मन्त्रीहरूले स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने मुख्य आधारशीलाको रूपमा प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ पार्ने दिल्ली घोषणापत्र जारी गरेका थिए।

दिल्ली घोषणापत्रमा सदस्य राष्ट्रहरूका स्वास्थ्य मन्त्रीहरूले जीवनचक्र दृष्टिकोणमा आधारित स्वास्थ्य सेवा वितरण प्रणालीलाई समुदायमा पुनःस्थापित गर्न प्रतिबद्धता जनाइएको छ।

त्यसै गरी स्वास्थ्य बजेटमा प्राथमिक स्वास्थ्य सेवालाई प्राथमिकता दिने र राष्ट्रिय तथा उप–राष्ट्रिय तहमा जवाफदेहिता र अनुगमनका लागि प्रणालीलाई सुदृढ गर्दै स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गरिने पनि घोषणापत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्