निर्देशकहरुको छनोट प्रक्रियामा देखा परेको अन्योलप्रति डा. केसीको ध्यानाकर्षण



काठमाडौं।

चिकित्सा शिक्षा आयोगकका निर्देशकहरुको छनोट प्रक्रियामा देखा परेको अन्योलप्रति डा गोविन्द केसीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा दलीय भागवण्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं भनेका हुन्।

त्यसैगरी डा केसीले सिफारिस समितिले आवेदन दिएका इच्छुकहरुमध्येबाट योग्यतम व्यक्तिलाई पाखा लगाएर स्वार्थको द्वन्द्व हुने गरी निजी संस्थामा काम गरिरहेका कैयौं उम्मेदवारहरुलाई सर्टलिस्ट गरेको आरोप समेत लगाएका छन्।

विज्ञप्ति

हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत छौं।

पछिल्लो समय चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको छनोट प्रक्रियामा देखा परेको अन्योलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। प्रथमतः सिफारिस समितिले आवेदन दिएका इच्छुकहरुमध्येबाट योग्यतम व्यक्तिलाई पाखा लगाएर स्वार्थको द्वन्द्व हुने गरी निजी संस्थामा काम गरिरहेका कैयौं उम्मेदवारहरुलाई सर्टलिस्ट गरेको छ। एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको छ। त्यसमा हाम्रो गम्भीर आपत्ति छ।

त्यसो नहोस् भनेर हामीले बारम्बार चेतावनी दिइरहँदा पनि खुलेआम त्यस्तो सिफारिस हुनु गलत हो।

अर्कोतिर सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागवण्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ। त्यस्तै चलखेल अन्तर्गत नियुक्तिको प्रक्रियालाई अहिले न्यायालयमा पुर्याएर अलपत्र पारिएको छ। उच्च अदालतले समेत विषयवस्तुको संवेदनशीलता बुझ्न सकेको छैन।

आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल हामीलाई स्वीकार्य छैन। छनोट समितिका सदस्यको स्वार्थ होस् वा दल र नेताहरुको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा रहनु हुँदैन र स्वार्थको द्वन्द्व नहुने योग्य उमेदवारहरु मात्रै छनोट गरिनुपर्छ। त्यसो नगरिएमा दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने जानकारी गराउँछौं।

अब नियुक्तिको प्रक्रिया अघि बढाउँदा कुनै पनि हालतमा दलीय भागवण्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं। साथै सम्मानित अदालतलाई समेत यो विषयको सम्वेदनशीलता विचार गर्दै नियुक्तिमा ढिलाइको कारण नबन्न अनुरोध गर्दर्छौं।

डा गोविन्द केसी

 

प्रतिक्रिया दिनुहोस्