लुम्बिनीमा गरिएको शिविरमा ३७ सय बढी लाभान्वित

 ९०९ जना मोतिया विन्दुका बिरामीको शल्यक्रिया



बुटवल। 

बुद्धजन्मस्थल लुम्बिनीमा भएको निःशुल्क आँखा शिविरबाट ३ हजार ७५५ जना सर्वसाधारणले लाभ लिएका छन्। राजकीय थाई विहार लुम्बिनीको आयोजनामा थाइल्यान्ड र नेपालका आँखा रोग विशेषज्ञहरुको उपस्थितिमा भएको शिविरबाट रुपन्देहीको लुम्बिनी, कपिलवस्तु र रामग्रामका स्थनीयहरुले लाभ लिएका हुन् ।

 स्वास्थ्यको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी नेपाल र थाइल्यान्डका विशेषज्ञ चिकित्सकहरुको टोलीले बुद्धजन्मस्थल लुम्बिनीमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेका छन् । लुम्बिनीमा ४ दिनसम्म नि: शुल्क आँखा परीक्षण र मोतिया विन्दु लागेकाहरुको नि: शुल्क शल्यक्रिया गरिएको हो ।  शिविरमा चेकजाँच गराएकामध्ये  ९०९ जना मोतिया विन्दुका विरामीहरुको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ ।

विहारका प्रमुख भिक्षु सुफोतले बुद्धजन्मस्थल वरपरका मानिसहरुलाई सेवा दिने उद्देश्यले १४ औँ संस्करणका रुपमा नि:शुल्क आँखा शिविर गरिएको हो ।

तिलगंगा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रोईत, थाईल्याण्डका नेत्ररोग विशेषज्ञ अनुचित पोनाथ्याङ, डा. नवत वातानाची, डडा स्वात कौशाकुल, सहितको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविरको उपचारमा खटिएका हुन । बुद्धजन्मस्थल वरपरका सर्वसाधरणहरु स्वास्थ्य पहुँचबाट टाढा रहेकाले नि:शुल्क आँखा शिविर गर्ने गरिएको छ । सर्वसाधरणमा आँखाका सम्बन्धमा हेलचेक्र्याइँ र आर्थिक अवस्था समेत कमजोर हुने भएकाले आँखा शिविर गरिएको हो । शिविरबाट कतिपय बिरामीहरूले नयाँ जीवन पाएका छन् ।

त्यसो त थाई विहार लुम्बिनीले नि:शुल्क आँखासँगै यो पटक नि:शुल्क दन्त शिविर पनि सञ्चालन गरेको हो । थाइल्यान्डका राजा भूमिबोल अदुलयादेजको स्मृतिमा नि:शुल्क आँखा र दन्त शिविर गरिएको हो । राजकीय विहारले बुद्ध र यससँग जोडिएका क्षेत्रका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने क्षेत्रमा सक्दो सामाजिक कार्य गर्दै आएको छ । विहारले आधुनिक प्रविधिबाट घुँडा प्रत्यारोपण, भूकम्प प्रभवितहरुलाई सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्