धुलिखेल अस्पतालमा विश्वको अनुभवसँगै प्रविधिको प्रयोग

दुई महिनामा विभिन्न रोगका करिब एक दर्जन कार्यशाला



काभ्रे।

धुलिखेल अस्पतालका विभिन्न विभागहरुले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधि, सिप, ज्ञान र अनुभवलाई प्रयोगमा ल्याउन थालेको छ ।
विरामीहरुलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले पछिल्ला केही महिना यता धुलिखेल अस्पतालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन थालेका छन् । ‘विगतको प्रविधि तथा ज्ञान अहिले बदलिएको छ’–अस्पतालका प्रशासक प्रा.डा.रमेश माकजुले भने–‘निरन्तर सिकाई प्रक्रिया हो । उपचार पद्धति एक पटक सिकेर अन्त्य हुने विषय हैन ।’

पित्तनलीमा पत्थरीको समस्याका लागि दूरबिनबाट (बिना चिरफार) गरिने उपचारका लागि धुलिखेल अस्पताल नेपाल भरि प्रख्यात छ । देशका सबैजसो अस्पतालहरुबाट जटिल खालका त्यस्तो समस्याको लागि रेफरल अस्पताल पनि हो । यही समस्यासँग सम्बन्धित अनुभव एवं इआरसिपी र इन्डोस्कोपी प्रविधिका  विषयमा हालै जर्मनीबाट आएको विशेषज्ञहरुको टोलीसहित ३० जनाको टोलीले तीन दिनसम्म उक्त विधि, प्रविधिसँगै ज्ञान र सिप आदान प्रदान गरेको छ ।

 उक्त प्रविधिको माध्यमबाट बिरामीलाई घाउ नबनाई दूरबिन प्रविधिबाट पत्थरी निकालिन्छ भने बिरामी केही दिनमा नै घर फर्कन सक्नेछ । कम खर्चमा सहज र सरल उपचारका लागि उक्त प्रविधिले विरामीहरु लाभान्वित हुने विभागिय प्रमुख डा. राम गुरुङले बताए । उक्त प्रविधि नहुँदा बिरामीलाई खुल्ला रुपमा घाउ बनाएर अप्रेसन गरिन्थ्यो । पित्त नलीमा हुने पत्थरीको अपरेसन झनै जटिल हुन्थ्यो । ठुलो घाउ हुँदा बिरामीका लागि कठिन र उपचारका हिसाबले पनि खर्चिलो हुने गरेको थियो । धुलिखेलमा सुरु भएको प्रविधिबाट विरामीहरु लाभान्वित भएको डा. गुरुङले बताए ।

यसैगरी धुलिखेल अस्पतालमा अस्ट्रियाको ग्राज युनिभर्सिटीका प्राध्यापकहरुले प्याथोलोजी सम्बन्धी विषयमा छलफल गरेका छन् । ११ जनाको उक्त समूहले ग्यास्ट्रो इन्टेस्टाईनल अर्थात् पेट र आन्द्रा सम्बन्धीको उपचार एवं यस सम्बन्धित प्याथोलोजी विषयमा कार्यशाला सम्पन्न गरेको छ । उक्त कार्यशालाबाट विरामीहरुको आमाशय र आन्द्रा सम्बन्धी उपचारमा थप सहयोग पुग्नेछ । उक्त कार्यशालाको अनुभव रोग पत्ता लगाउने विधि थप परिष्कृतता आई रोगहरुको उपचारमा सहज हुने विशेषज्ञ प्रा.डा.रमेश माकजुले बताए ।

धुलिखेल अस्पताल हड्डी तथा नशा सम्बन्धी रोगका लागि पनि विश्वसनीय मानिन्छ । हड्डी तथा त्यसका विभिन्न भागका बारेमा छलफल गर्ने क्रममा व्यक्तिको मेरुदण्डको गर्धनको भागको रोगको उपचारका बारेमा आधुनिक चिकित्सा सम्बन्धी सम्मेलन आयोजना गरिएको छ । ६० जना सहभागी रहेको दुई दिने सम्मेलनमा सिंगापुर, जापान, दक्षिण कोरिया, भारत लगायतका देशका विशेषज्ञहरू सहभागी रहेको विशेषज्ञ प्रा.डा. दीपक श्रेष्ठले बताए । सिएसआरएस एसिया प्यासिफिकको आयोजनामा यस्तो खाले सम्मेलन नेपालमा पहिलो पटक भएको हो । यसअघि मेरुदण्डको अन्य भाग एवं हाडजोर्नीका अन्य विषयमा चार पटक आयोजना भैसकेको छ ।

 यो पटकको पाँचौँ सम्मेलनमा अर्थाेपेडिक स्पाईन सर्जनका बारेमा विभिन्न मुलुकमा भएका अभ्यासका बारेमा छलफल भएको थियो । यो सम्मेलन विभिन्न देशमा वर्षको दुई पटक आयोजना हुने गरेको छ । यस्तो सम्मेलनले व्यक्तिको निधन भए पछि स्वैच्छिक शरीर दान गर्ने अभियानलाई बढवा पुग्ने छ भने दान गरिएका ब्यक्तिहरुको शरिरमा उपचारात्मक अभ्यास गर्न सहज हुने निष्कर्ष निकालिएको थियो । अहिले पशुका विभिन्न अंगहरुमा अभ्यास गरिँदै आएको छ । प्रा.डा. श्रेष्ठले यसैकारण पनि व्यक्तिको निधन भए पछि शरीर दान गर्न प्रोत्साहन गर्नु पर्ने बताए ।

त्यसैगरी जर्मन नेपाल सोसाईटी अफ अब्स्टेट्रिक्स एन्ड गाइनेकोलोजीको आयोजनामा तीनदिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यस सम्मेलनका अवसरमा स्त्री तथा प्रसूतिसँग सम्बन्धित सैद्धान्तिक एवं प्रयोगात्मक अनुभव आदान प्रदान भएको थियो ।

अस्पतालमा पछिल्लो एक महिनाको अवधिमा काठमाडौँ विश्वविद्यालय हाईस्कुल (कुप्स) मा अध्ययन गर्ने विद्यार्थीहरुले सिमुलेशन ल्याबका बारेमा जानकारी लिएका छन् । अस्पतालले बालबालिकाहरुलाई विद्यालय तहबाटै प्रजनन स्वास्थ्य तथा नर्सिङ्ग विषयका बारेमा जानकारी गराउने उद्देश्यले केही समय अघि निजी क्षेत्रका विद्यालयका प्रमुखहरुसँग समेत अन्तर्क्रिया गरेको थियो । सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्यका बारेमा सचेत गराउने उद्देश्यले सिमुलेसन ल्याबका बारेमा जानकारी गराउन सुरु गरिएको स्त्री रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता प्रा.डा.सुमनराज ताम्राकारले बताए ।

त्यस्तै धुलिखेल अस्पताल (काठमाडौँ विश्वविद्यालय अस्पताल), दक्षिण कोरियाको सिउल नेशनल युनिभर्सिटी, दक्षिण कोरियाको जेडब्ल्यू लि सेन्टर र नेसोग (नेपाली स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको संगठन) को सहकार्यमा दुई दिने प्रसूति तथा बालरोग सम्बन्धी छैठौं अल्ट्रासाउन्ड, सीटी स्क्यान र एमआरआई एजुकेशन कार्यक्रम आयोजना गरिएको छ । संस्थाका नेपाली संयोजक एवं धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा मिडिया एवं कम्युनिकेशन चिफ प्रा.डा. सुमनराज ताम्राकारका अनुसार दुईदिने सैद्धान्तिक अनुशिक्षण एवं प्रयोगात्मक (ह्याण्ड्स अन तालीम) कार्यक्रममा नेपाल भरका १ सय ३० जना प्रसूति रोग विशेषज्ञ, रेसिडेन्ट डाक्टर, मेडिकल अफिसर एवं ईन्टर्न डाक्टरहरुले सहभागिता जनाएका थिए । धुलिखेल अस्पताल र दक्षिण कोरियाका करिब एक दर्जन प्रशिक्षकहरुले सैद्धान्तिक एवं व्यवहारिक तालीम प्रदान गरेका थिए । यस अघि सन् २०१६, २०१७, २०१८, २०१९ र २०२२ मा गरि पाँच पटक यस्तै खाले अनुशिक्षण एवं प्रशिक्षण सम्पन्न भएको प्रा.डा. ताम्राकारले बताए ।

त्यसैगरी बालरोग विभागबाट डिन्स लाकेन, जर्मनीको सहयोगमा दुई समूहमा गरी करिब ४२ जना बालरोग विशेषज्ञ एवं स्नातकोत्तर तहका विद्यार्थीहरुलाई चार दिने अल्ट्रासाउन्ड एवं मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी) को व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

त्यस्तै विपद पूर्व तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा सम्पन्न भएको छ । ‘धुलिखेल अस्पतालमा विभिन्न मुलुकका विपद् विशेषज्ञहरू सम्मिलित पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ’– जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन विभाग तथा आयोजक समिति सचिव डा. सम्झना बस्नेतले भनिन् –‘सम्मेलनमा विश्वका विभिन्न मुलुकमा भएका विपद पूर्व तयारीका विषयमा तीन दिनसम्म बृहत् छलफल भएको थियो ।’ सम्मेलनको निष्कर्ष महत्त्वपूर्ण भएकाले आगामी दिनमा कार्यक्षेत्रमा प्रयोगमा ल्याउन सहज भएको डा. बस्नेतले बताइन् । ‘प्रकोप, त्यसको असर तथा आघात, आपतकालिन उद्धार तथा त्यसको संचार, प्रकोपमा हेरचाहको विन्दु अर्थात विभिन्न तयारी, अन्तर विभाग, अन्तर अस्पताल र संचार समन्वयका बारेमा पहिलो दिन छलफल भयो’– सम्मेलन संयोजक धुलिखेल अस्पतालमा कार्यरत प्रा.डा.बलराम मल्लले भने–‘सामरिक चिकित्सा, उपचारका लागि आवश्यक पर्ने अन्य उपकरण तथा सामाग्री, संक्रमण रोकथाम र नियन्त्रणका बारेमा दोस्रो दिन छलफल भयो ।

अस्पतालमा हुने नेतृत्वदायी भूमिका तथा निर्देशन र संयोजन, प्रकोपमा नेतृत्व, विपद व्यवस्थापन अनुभव साझेदारी, अभ्यास तथा प्रकोपमा औषधीको व्यवस्थापन र सूचना संचारका बारेमा समेत छलफल भएको छ ।’ सम्मेलनको अन्तिम दिन सङ्क्रामक रोगको प्रकोप, ठुलो भूकम्प, विमान दुर्घटना, अस्पतालको भवन भत्किएको अवस्थामा उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवा तथा अन्य प्रकोपमा खेल्नु पर्ने भूमिकाका बारेमा छलफल भएको थियो । औषधी तथा उपकरण विना नै चिकित्सकहरुले विपदमा कसरी उपचार गर्न सक्छन् भन्ने विषयमा समेत सम्मेलनमा छलफल भएको आयोजक समिति सचिव सम्झना बस्नेतले जानकारी दिइन् । सम्मेलनमा विभिन्न मुलुकका विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । करिब दुईसय चिकित्सक तथा विपद्का क्षेत्रमा कार्यरत ब्यक्तिहरुले सम्मेलनमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।

विभिन्न मुलुकका विशेषज्ञहरू धुलिखेल अस्पताल ल्याएर अनुभव साटासाट गर्दा विकसित उपचार पद्धति सम्बन्धी सिक्ने, सिकाउने, उपचार गराउने प्रक्रिया सँगसँगै गर्न सकिने अस्पतालका प्रशासक प्रा.डा. रमेश माकजुले बताए । नियमित अन्तरालमा फरक फरक ढंगको स्वास्थ्य क्षेत्रको उपचार विधिका बारेमा सम्मेलन, कार्यशाला तथा अन्र्तक्रियाहरुले बिरामी तथा चिकित्सकहरुका लागि थप जानकारी हुने माकजुले बताए ।

अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकजुले धुलिखेलमा मात्रै नभई धुलिखेलमा भएका नयाँ नयाँ अनुभव र सिकाई अन्यत्र पनि सिकाउँदा नागरिकहरुले सहज रुपमा सेवा पाउन सकिने बताए । ‘अस्पतालको मुख्य उदेश्य मेडिकल क्षेत्रमा भएका नयाँ नयाँ अनुभव र सिकाईलाई समुदाय स्तरमा तथा फरक फरक स्थानमा प्रस्तुत गरेर नागरिकहरुलाई सहज र सरल सेवा दिने हो’– डा. रामकण्ठ माकजुले भने –‘हामी मात्रै सक्षम भएर हुँदैन अन्य क्षेत्रका सरोकारवाला सबै निकाय सक्षम हुँदा मात्रै नागरिकहरुले गुणस्तरीय सहज र सरल रुपबाट सेवा प्राप्त गर्न सक्नेछन् ।’
यसबीच जर्मनीकै सहयोगमा अन्कोलोजी (क्यान्सर विषय) मा ६ दिने कार्यशाला र नर्वेको सहयोगमा धुलिखेल अस्पताल र दोलखा अस्पतालमा एकदिने बाथरोग सम्बन्धी अन्तत्र्रिmया पनि सम्पन्न भएको छ ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं मिडिया एवं कम्युनिकेशन चिफ प्रा.डा. सुमनराज ताम्राकारले समुदाय स्तरको अस्पताल धुलिखेलले विरामीहरुको उपचारमा सहज बनाउन नयाँ नयाँ प्रविधि र ज्ञानका बारेमा अनुभव साटासाट गर्न कार्यशालाहरु महत्त्वपूर्ण रहेको बताए । यस्तैमा डिसेम्बर १७ मा दक्षिण कोरियाको सिउल नेशनल युनिभर्सिटी र दक्षिण कोरियाको जेडब्ल्यू लि सेन्टरको सहयोगमा अस्पतालमा हुने संक्रमण रोकथाम एवं नियन्त्रण सम्बन्धी एक दिने कार्यशाला आयोजना हुँदैछ ।

मेडिकल क्षेत्रमा फेलोसिप गर्ने प्रचलन नेपालमा निकै समय अघि देखि भए पनि नर्सिङ क्षेत्रको लागि भने नौलो हो । धुलिखेल अस्पतालमा हालै ६ जना नर्सिङ स्टाफहरुले क्रिटिकल केयर, अपरेसन थियटर व्यवस्थापन, ग्यास्ट्रोइन्टेस्टिनल एवं इन्डोस्कोपी विषयमा फेलोसिप सफलतापूर्वक सम्पन्न गरेका छन् । यो नेपालको लागि पहिलो कोशेढुंगा हो ।

प्रतिक्रिया दिनुहोस्