रारामा यो वर्षको पहिलो हिमपात, यात्रु मर्कामा, कृषक हर्षित



मुगु। 

कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि भएको मौसम बदलीपछि जुम्ला, मुगु, डोल्पा, हुम्लालगायत जिल्लामा हिमपात भएको हो ।हिमपातले किसान खुसी भएका छन् भने जनजीवन कष्टकर बनेको छ ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल, मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । राराताल घुम्न आएका पर्यटक हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुन सक्ने भन्दै बिहानै हिँडेको रारा राष्ट्रिय निकुञ्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए ।

रारा तालसमेत हिउँले छोपिएको छ । हिमपातले हिउँदे बालीलाई राहत पुग्ने भएकाले किसान खुसी छन् । किसान धनदेवी शाहीले भनिन्, ‘भर्खरै रोपेको जौबालीमा हिउँले राहत पुग्छ । हिमपातपछि वातावरण पनि सफा र स्वच्छ हुन्छ । बालीनाली सप्रिन्छ । किसान खुसी नै छाैं ।’ चिसो अत्यधिक बढेकोले महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । पानी र हिमपात हुन थालेपछि हिउँदे बाली गहुँ, जौ र नाफल खेती राम्रो हुने, हिमाली यार्सा, जडीबुटी वृद्धि हुनुका साथै गुणस्तरको हुने भन्दै किसान, जडीबुटी व्यापारी खुसी भएका छन् ।

भूकम्पबाट घरबारविहीन भएका जाजरकोटका भूकम्पपीडित हिउँ पर्दा समस्यामा परेका छन् । हिमपातका कारण जाजरकोटको बारेकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा समस्या भएको छ । जिल्लाभरि नै पानी परेकाले चिसो अत्यधिक बढेको छ । त्रिपालको सहारामा बस्दै आएका सर्वसाधारणलाई चिसोले जीवनयापन कठिन बनाएको छ ।

जुम्लाको उच्च भू–भागमा बाक्लो हिउँ परे पनि बेसी क्षेत्रमा भने परेको छैन । गत वर्ष माघबाट मात्र हिमपात सुरु भएको थियो । तर, यस वर्ष मंसिर तेस्रो सातामै हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएपछि जनजीवन प्रभावित हुनुका साथै हवाई उडान प्रभावित भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी, चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

हिमपात र वर्षासँगै ह्वात्तै चिसो बढेपछि कर्णालीको जनजीवन कष्टकर बनेको छ । दिनभर मौसममा सुधार नभएपछि कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पामा हुने नियमित उडान प्रभावित भएका छन् । सोमबार मुगु जिल्लाको एकमात्र ताल्चा विमानस्थल बन्द हुँदा सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सयौं यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्