अस्थायी आवास बनाउँदै स्वयम्सेवक



जाजरकोट । 

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको कामलाई तीव्रता दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा विप्लपका नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रका नागरिकका अस्थायी आवास निर्माणमा गाउँबस्ती केन्द्रित भएका छन् । घरबासविहीन भएपछि चिसो समयमा त्रिपाल र राहत सामग्रीले सिरेटो र चिसो छल्दै बसेका पीडितका घर बनाउन दलका स्वयमसेवक गाउँबस्तीमा व्यस्त देखिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार भूकम्प प्रभावित क्षेत्रमा पीडितका एक हजार अस्थायी आवास निर्माण गर्ने लक्ष्यका साथ अभियानमा जुटेको छ । स्थानीय तथा केन्द्र स्तरका नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित भएका छन् । कात्तिक १७ गतेको भूकम्पले आमासहित दुई भाइ गुमाएका कुशे गाउँपालिका–७ धनराशीका लक्ष्मण टमाटाको अस्थायी टहरा निर्माण कांग्रेसले गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्माले प्रभावित क्षेत्रका गरिब दलित, विपन्न परिवारका सदस्यसहित घर भत्किएका परिवारको आवासका लागि अस्थायी टहरा निर्माण गर्ने भएपछि कुशे गाउँपालिका–७ धनराशिमा नेता मुक्ति आचार्यलाई जिम्मा दिएको थियो सोहीअनुसार उहाँको नेतृत्वमा गएको कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री रामछाया शाही, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष दीर्घजंग सिंह, कर्णाली प्रदेशका शिक्षक नेता दिनेशकुमार सिंहसहित स्थानीय नेता कार्यकर्ताले अस्थायी आवास निर्माण गरेको छ ।

कर्णाली प्रदेश सभाका सदस्य राजीवविव्रmम शाहले घरवासविहीन भएका नागरिकलाई न्यानो बनाउन बालबालिकाको लागि न्यानो कपडा त्रिपाल विद्यालय र स्वास्थ्य चौकीलाई टेन्ट वितरण गर्नुभएको छ । विपत्को समयमा सबैले सक्ने सहयोग गर्नुपर्छ भने भावना बोकेका शाहले सातवटै पालिकाका भूकम्प प्रभावित वडा बस्तीमा पुग्नुभएको उहाँले दाताले दिएको सामग्री वास्तविक पीडितलाई दिन स्थानीय सरकारका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

बुबाको दुई वर्षअगाडि मृत्यु भएपछि आमाको सहारामा चार दाजुभाइ बसेका थिए । कार्तिक १७ गते मध्यरात गएको विनाशकारी भुइँचालोले घर भत्किएपछि आमासँगै दुई भाइको मृत्युपछि सहाराविहीन भएका उनीहरूको पार्टी केन्द्रीय निर्णयअनुसार अस्थायी टहरा निर्माण गरिएको नेता मुक्ति आचार्य बताउनुभयो । भूकम्पमा परी आमा पार्वती टमटा छोराहरू जनक टमटा, धर्मराज टमटाको मृत्यु भएको थियो भने बुहारी तिलसरा टमटा, १ वर्षीया छोरी मनिषा विक घाइते भएका थिए ।

ज्यालामजदुरीबाट जीवन निर्वाह गरेका उनीहरूलाई विनाशकारी भूकम्पले घर तथा परिवार गुमाएपछि बिचल्लीमा परेपछि राहत सामग्रीले छाक र रात काटेका छन् । खेतीपातीका लागि पर्याप्त जमिन नभएपछि ज्यालामजुदरीबाट जीवन निर्वाह गरेका उनीहरू राहतबाट पाएको सामग्रीले गुजारा गरेका छन् । घर र परिवारका सदस्य गुमाउनुपरेको पीडा त्रिपालमुनिको बसाइ राहत सामग्रीले चिसो नछलेपछि आगो तापेर रात बिताउन बाध्य छन् ।

अस्थायी टहरा निर्माणका लागि दिने भनेको ५० हजार रुपियाँ पाउन नसकेपछि त्रिपालमुनि बस्नुपरेको छ । कुशे गाउँपालिका–७ का जसन्ती सिंहले सरकारले दिने भनेको रकम नपाएपछि त्रिपालमुनि बस्नुपरेको बताउनुहुन्छ । चिसोले जीवन कष्टकर बन्दै गएको छ । लेकाली भेग सिरेटो, हिमपात पर्न थालेको छ भूकम्पपीडितको जीवनमा झन् समस्या आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्