सन्दर्भ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

धुलिखेललाई अपाङ्गता मैत्री नगर निर्माण गर्ने घोषणा



धुलिखेल। 

धुलिखेल नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या १ सय ८६ पुगेको छ । जस मध्ये नगरपालिकाले क श्रेणीमा ८ पुरुष र २० महिला समावेश गरेको छ भने ख श्रेणीमा ३२ महिला र ४६ पुरुष गरी ७८ जना समावेश गरेको छ । नगरपालिकाको तथ्याङ्क अनुसार सामाजिक सुरक्षा भत्ताका लागि योग्य क र ख श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या ९८ भए पनि १ सय १५ जनाले स्थानीय संरचना अगावै परिचयपत्र प्राप्त गरेका आधारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् ।

‘हरेक वर्ष अपाङ्गता भएका व्यक्तिहरूको अभिलेख वडा कार्यालयमा अद्यावधिक गर्नु पर्ने कानुनी व्यवस्था छ’–धुलिखेल नगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत पूजा काफ्लेले भनिन–‘नयाँ परिचयपत्र वितरण गर्ने कार्य पनि कठिन भएको र पुराना परिचयपत्रहरु अद्यावधिक गर्ने कार्य व्यवहारिक रुपमा कठिनाइ भएको छ ।’ महिला विकास कार्यालय मार्फत परिचयपत्र प्राप्त गरेका मध्ये केहिको स्वास्थ्य अवस्था सुधार भएको छ । स्वास्थ्य अवस्था सुधार भए पछि सोही वर्गको सुविधा लिन मिल्दैन । तर स्थानीय सरकारले खाइपाइ आएको नागरिकहरुको सुविधा खोस्न सक्ने आँट गरेको देखिँदैन ।

नगरपालिकाले अद्यावधिक गरेको ग श्रेणीमा ३० महिला र २८ पुरुष गरी ५८ जना छन् भने घ श्रेणीमा १० महिला र २० पुरुष गरी ३० जना छन् । धुलिखेल नगरपालिकाको तथ्याङ्कमा १ सय ८६ जना अपाङ्गता भएका ब्यक्तिहरु भए पनि सामाजिक सुरक्षा भत्ता २ सय १३ जनाले प्राप्त गरिरहेका छन् । नगरपालिकाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी अपाङ्गता भएका व्यक्तिहरूका लागि निर्माण गरिएका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय कानुन, कार्यविधी तथा विभिन्न सेवा र सुविधाका बारेमा जानकारी गराएको छ । धुलिखेल नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि अलग्गै परिषद् नगर सभाले पास गरेको कानुन अनुसार गठन भएको छ ।

अपाङ्गता परिषद्का अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको ब्यक्तिगत प्रोफाईल तयार गरिएको बताए । ‘नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र वितरण कार्यविधि, अपाङ्गता समन्वय समिति गठन, अपाङ्गता परिषद् गठन र अपाङ्गता लक्षित कार्यक्रम सञ्चालन गरेका छौं’–नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भने–‘पूर्ण अपाङ्गता र अति असक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता वितरण, मेयर गरिबी निवारण कार्यक्रम अन्तर्गत हरेक वर्ष बजेट विनियोजन गरी अपाङ्ग परिषद् कार्यक्रमहरु सञ्चालन, अपाङ्गता भएका ब्यक्तिका लागि सहायता सामाग्री वितरण, विभिन्न ब्ववसाय सञ्चालन तथा उद्यम स्थापनाका लागि सामाग्री वितरण र अन्य सहयोग गरिएको छ ।’

नगरपालिकाले ५० वटा ह्विलचियर, २ सय वटा हेयरिङ्ग हेड, ३० वटा सेतो छडी, ३० वटा वैशाखी उपलब्ध गराएको छ भने रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा ३ सय वटा ह्विलचियरहरु प्राप्त गरी वितरण गरेको छ । मसला, सरफ, लगायतका ब्यवसायका लागि आर्थिक सहयोग, ३० जना बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि साङ्केतिक भाषाको तालिम, अपाङ्गता सशक्तीकरण कार्यक्रम वडा स्तर तथा नगर स्तरमा सञ्चालन गरिएको शाखा अधिकृत काफ्लेले जानकारी गराइन् । आगामी वर्षका लागि पनि परिषद् मार्फत स्वीकृत कार्यक्रम आवश्यकता अनुसार सञ्चालन गर्ने नगरपालिकाले जानकारी गराएको छ ।

 

नगरपालिकाले अपाङ्गता मैत्री ट्रेल निर्माण कार्यको थालनी, अपाङ्गता मैत्री नगर निर्माणका लागि नगर सभाबाट प्रतिबद्धता सहितको कार्यान्वयन सुरु गरेको छ भने पहुँचयुक्त संरचना निर्माणका लागि पहुँचयुक्तता परीक्षण प्रतिवेदन तयार गरी कार्यान्वयन गर्ने योजना बनाएको छ । त्यस्तै अपाङ्गता क्षमता विकास तालिम, समन्वय बैठक तथा अनुगमन, हरेक वडामा सम्मेलन तथा सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख नीराजन जंगम, सामाजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष गणेश आचार्य, शाखा अधिकृत पूजा काफ्ले, कर अधिकृत सुशीला ढकाल, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, अपाङ्गता परिषद्का उपाध्यक्ष दिलकृष्ण देवजु लगायतले अपाङ्गता भएका व्यक्तिहरूका समस्या र राज्यले गर्नु पर्ने दायित्वका बारेमा धारणा राखेका थिए । जन्मँदै हात नभएकी ढकालले खुट्टाले लेखेर लोक सेवा पास गरिन भने अध्ययन पनि सकाइन् । अपाङ्गता भएकी सुशीला ढकाल र उनका श्रीमान् थापालाई नगरपालिकाले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्