‘लम्पी स्किन’ ले मरेका ३२ पशुको बीमा भुक्तानी

घुम्ती कोषले उत्पादन र रोजगार बढाउँदै माई उग्रचण्डी साना किसान कृषि सहकारी



काभ्रे।

लम्पी स्किन रोगबाट मृत्यु भएका ३२ पशुको श्रीमाई उग्रचण्डी साना किसान कृषि सहकारी संस्था लिमिटेड बनेपा ४ ले शेयर सदस्यहरुलाई ७० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराएको छ । शेयर सदस्य कृषहरुले बीमा बापत १.५ देखि २.५ प्रतिशतसम्म प्रिमियम रकम उपलब्ध गराएका थिए ।

‘संस्थामा आवद्ध ९ सय २४ जना शेयर सदस्य मध्ये २ सय ९९ जनाले ७ सय ६५ वटा पशुहरुको बीमा गराएका छन्’–अध्यक्ष सीता दंगालले भनिन–‘६ करोड ३४ लाख २६ हजार मुल्याकनका लागि ११ लाख १३ हजार ३ सय ३७ रुपैयाँ बीमा शुल्क बुझाएका थियौं । लम्पी स्किनबाट बीमा गरिएका ३२ वटा पशु मरेका छन् । मरेका पशुहरुको बीमा बापत प्राप्त ७० प्रतिशत रकम भुत्तानी सुरु गरेका छौं ।’ संस्थाले पहिलो चरणमा ५ जना कृषकहरुको रकम भुक्तानी गरेको छ भने अन्य कृषकहरुलाई क्रमशः उपलब्ध गराउँदै जाने बताएको छ । लम्पी स्किन अघि अघिल्लो आर्थिक वर्षमा मरेका चारवटा पशुको बीमा बापतको क्षतिपूर्ति रकम भुक्तानी गरिसकेको थियो । १६ महिनाको अवधिमा उक्त संस्थामा बीमा गरिएका ३६ पशुको निधन भएको छ । ६ सय २३ वटा गाई, १ सय १ वटा भैसी र ४१ वटा बाख्रा बीमा गरिएको छ ।

संस्थाका प्रमुख सल्लाहकार मणिप्रसाद सापकोटाले १० वर्ष अघि १ लाख रुपैयाँ पुँजी  जिल्ला पशु सेवा कार्यालय मार्फत उपलब्ध गराउँदै सुरु भएको पशुपालन सम्बन्धी व्यवसायी अभियानको घुम्ती कोषमा अहिले १ लाख ७५ हजार पु¥याईएको छ । कोषबाट २५ जनालाई बाख्रा वितरण गरिएको छ भने ३ जनालाई बोका वितरण गरिएको छ । एक जना कृषकललाई २० हजार रुपैयाँ उपलब्ध गराउँदै पाडो पाल्न रकम उपलब्ध गराइएको छ । बाख्रा पालनका लागि प्रति व्यक्ति ५ हजारका दरले उपलब्ध गराइएको छ भने बोकाका लागि प्रति व्यक्ति १० हजार उपलब्ध गराइएको छ । थोरै पुँजीबाट धेरै आम्दानी गर्न सकिने गरी उक्त रकम विना ब्याज उपलब्ध गराइएको सनिता बजगाईले बताइन् । १५ जना कृषकहरुले प्राप्त गर्दै आएको बाख्रा पालनको घुम्ती कोषको रकम गत वर्षबाट बृद्धी गरी २५ जनालाई पु¥याईएको अध्यक्ष दंगालले बताइन् ।

हरेक वर्ष संस्थाले आयोजना गर्ने साधारण सभाको अघि घुम्ती कोषको रकम फिर्ता गरे पछि अन्य सदस्यलाई उपलब्ध गराउने गरिएको छ । संस्थाले सदस्यहरुको हितका लागि साना किसान बैक मार्फत प्राप्त १ करोड ५० लाख ऋण सहुलियत कर्जा स्वरुप पशुपालनका लागि उपलब्ध गराएको छ । ९ प्रतिशत ब्याजमा उपलब्ध गराएको रकमबाट खरिद गरिएका पशुहरुको व्यवसायी पालन सुरु गरिएको छ । ४३ जना कृषकहरुले ३ प्रतिशत ब्याजमा उपलब्ध गराइएको उत्पादन र रोजगारी कार्यक्रममा संस्थाले ५४ लाख लगानी गरेको छ । उक्त शीर्षकमा ऋण लिएका कृषकहरुका लागि संस्थाले सेवा शुल्क लिँदैन ।


त्यस्तै ग्रामिण उद्यमी कर्जा प्राप्त गरेका चार जना कृषकहरुका लागि ५ वर्षे अवधिको ऋण लगानी गरिएको छ । जसमा ५ लाख देखि १८ लाख रुपैयासम्म छ । उक्त शीर्षकमा १० प्रतिशत ब्याज तिर्नु पर्ने छ । ६ वटा भन्दा धेरै पशुपालन तथा तरकारी खेती गर्ने कृषकहरुले उक्त शिर्षकको ऋण प्राप्त गर्नेछन् । ऋण अनुसार किस्ता तिर्ने अवधी तोकिएको छ । चार जना शेयर सदस्य सदस्यहरुको घर निर्माणमा सहयोग गरेको उक्त संस्थाले डकर्मी तालिमका साथै ६ जना कृषकहरुलाई कृषि सम्बन्धी व्यवसायी तालिमका लागि इजरायल पठाएको थियो । इजरायल गएर फर्किएका कृषकहरुले अहिले व्यवसायी खेती गरिरहेका छन् ।

कृषि, मासु तथा दुग्धजन्य, तरकारी, पशु ब्यवसाय, उत्पादन रोजगारी, ग्रामीण उद्यमी लगायतका शीर्षकमा ऋण लिन सकिने ब्यवस्था गरेको साना किसान सहकारी बनेपा नगरपालिकाको एक मात्रै हो । संस्थाले कृषकहरुले पालन गरेको गाई, भैसी, पाडापाडी वा बाच्छी, गोरु, राँगो, बाख्रा, भेडा र बंगरको बीमा गर्दै आएको छ भने पशुपालन र तरकारी खेतीको तालिम, शेयर सदस्यहरुलाई सहुलियत ऋण तथा राहत उपलब्ध गराउँदै आएको छ । शून्य सेवा शुल्कमा ऋण लगानी, उत्कृष्ट समूह पुरस्कृत, जेष्ठ नागरिक तथा बाल सदस्यहरु सम्मान, उत्कृष्ट पशु बीमाकर्ता तथा कृषक कार्यक्रम, घुम्ती कोष अन्तर्गत पशुहरुको वितरण गर्दै आएको अध्यक्ष सीता दंगालले बताइन् ।

संस्थाका संस्थापक एवं सल्लाहकार समितिका प्रमुख सल्लाहकार मणिप्रसाद सापकोटाले श्रीमाई  उग्रचण्डी साना किसान कृषि सहकारी संस्थाले बनेपा नगरपालिकाको नाला क्षेत्रको व्यवसायी पशुपालन र कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । संस्था मार्फत ऋण परिचालन गरी आयआर्जन तथा स्वरोजगारमा योगदान पु¥याएको संस्थाले आगामी दिनमा अझै सशक्त रुपमा कार्य गर्न सापकोटाले सुझाव दिए ।

 साधारण सभामा उपाध्यक्ष सीता सापकोटा, सचिव सनिता बजगाई, कोषाध्यक्ष रसिला पराजुली, सदस्यहरु सम्झना पौडेल, रामप्यारी सापकोटा, राधा खत्री, नारायणी बजगाई, देवकी नेपाल, जानुका दाहाल, कान्छी बोगटी लगायतको सहभागिता रहेको थियो भने लेखा समितिका संयोजक रञ्जु सापकोटा, सदस्यहरु भगवती बजगाई र शर्मिला दाहालको सहभागिता थियो । सभामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस चौतारी नेपालका अध्यक्ष भुवन रायमाझी, पत्रकारहरु विकास तिमल्सिना र श्याम सापकोटाको सहभागिता रहेको थियो ।

संस्थाले ९ सय २४ शेयर सदस्यहरुबाट ७ करोड ५४ लाख ११ हजार ४ सय ९४ रुपैयाको कारोवार गरेको छ भने ४ सय २५ जनालाई ऋण लगानी गरेको प्रबन्धक कल्पना सापकोटाले बताइन् । ३६ लाख ९४ हजार ५ सय शेयर पुँजी रहेको उक्त सहकारीलाई साना किसान विकास बैक मार्फत ऋण सहयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्