के हो “सुगर ड्याडी” ?



डा. राजेन्द्र भद्रा

सुगर ड्याडीको प्रचलन पश्चिमा विकसित मुलुकमा बढ्दो क्रममा रहेको भए पनि नेपालमा यसको प्रचलन कुन स्तरमा वा कति व्यापक छ भन्न सकिने स्थिति भने छैन । पश्चिमा मुलुकमा एक निश्चित उमेरपछि शिक्षा तथा लालनपालनको जिम्मेवारी मातापिता वा परिवारले नलिने चलन छ ।

अहिले बिस्तारै पूर्वीय संस्कृतिमा सर्न थालेपछि युवायुवतीहरूले यस्ता सहयोगी हात खोज्नु स्वाभाविक नै मानिन्छ । कतिपय व्यक्तिले शिक्षाको लागि सहयोग गरिरहेको उदाहरण पनि छन् तर यस्तो सम्बन्ध सुगर ड्याडी भन्न मिल्ला कि नमिल्ला, यो पनि बहसको विषय हो ।

त्यसैले नेपालमा यो त्यति व्यापक छैन कि भन्ने अनुमान गर्न सकिन्छ । तर अहिले नेपालमा कतिपय स्थानमा आफ्नो खर्चको जोहो आफैँले गरेर शिक्षा लिने गरेका उदाहरण भेट्न सकिन्छ ।

कतिपय स्थितिमा के–कस्तो काम गर्ने गर्दछन् भन्ने स्पष्ट हुँदैन । यसै सन्दर्भमा नेपालका विभिन्न स्थानका नामसहित भएको सुगर ड्याडी वा सुगर बेबी खोज्न सघाउने वेब साइट हुनुले यसको अस्तित्वको संकेत भने गर्दछ । केही वेब साइटमा व्यक्तिगतरुपमा फोटोसहित शारीरिक बनावट, रंगरुप, उचाइका साथै शिक्षा, धर्म, रुचि, बसाइँ सराइ गर्न स्वीकार्य भए-नभएको जस्ता कतिपय जानकारी पनि राखिएको पाइन्छ ।

सुगर ड्याडी

मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले भनेको जस्तो छोरीहरूको पिताप्रतिको आकर्षण इलेक्ट्रा मनोथ्रन्थि Electra Complex भने यो होइन । यहाँ ड्याडी भन्ने शब्दको प्रयोग भएको भए पनि यसकारणले पिता–छोरी सम्बन्ध भनेर झुक्किनु भने हुँदैन । सामान्य अवस्थामा यो सुगर ड्याडी भनेको एक किसिमले यस्तो केटासाथी हो जसले आर्थिक सहायता गर्ने गर्दछ र यस्ता सहयोगमा पढाइ खर्च, दैनिकी आवश्यकताका खर्च व्यहोर्ने र अन्य उपहारहरू दिने गर्दछ । यसको सट्टामा केटीले उसको साथमा समय बिताउनुपर्ने हुन्छ ।

पर्याप्त पैसा छ भने एकभन्दा बढी सुगर बेबी राख्न सकिने स्थिति पनि हुन्छ ।

यस्तो सम्बन्धमा केटा र केटीका बीचमा यौनसम्पर्क हुन्छ भन्ने छैन तर केही स्थितिमा यौनसम्पर्क राखिने पनि हुन्छ । प्रायः केटाको उमेर पाको वा वयष्क हुने र केटीको उमेर कम हुने गर्दछ । उनीहरू प्रायः किशोरी वा युवती हुने गर्दछन् । यस्ता किशोरी वा युवतीलाई ‘सुगर बेबी’ -sugar baby भन्ने गरिन्छ । शायद केटा तथा केटीको बीचमा भएको यही उमेरको फरकको कारणले नै यस्तो सम्बन्धलाई ‘सुगर ड्याडी’ -sugar daddy प्रयोग भएको हुनुपर्दछ । त्यसै गरी पाका महिलाहरू, जसलाई ‘सुगर मामा’ (sugar mama) भनिन्छ, ले कम उमेरका केटाहरू (जसलाई पनि कगनबच दबदथ भनिन्छ) सँग यस्तो सम्बन्ध राख्ने गरेको समेत पाइन्छ । तर केटा ‘सुगर बेबी’ केटाको तुलनामा निकै नै कम पाइन्छ ।

विपरीत लिंगी व्यक्तिका माझ मात्र होइन, यस्तो सम्बन्ध समलिंगी व्यक्तिका बीचमा पनि पाइने देखिन्छ । गहिरिएर हेर्दा यस्ता सुगर ड्याडीको विभिन्न प्रकार हुने गर्दछ । यो प्रायः उसले कति खर्च गर्न सक्छ वा खर्च गर्ने चाहना राख्दछ भन्ने कुरामा भर पर्दछ । कतिपयले दैनिक आवश्यकता पूरा गर्न खर्च दिने मात्रै होइन, कतिपय उनीहरू मनोरञ्जन तथा विशेष स्थानमा छुट्टी मनाउन लैजाने खर्चसम्म पनि बेहोर्ने गर्दछन् । उनीहरूको भेटघाटलाई सुगर डेटिङ sugar datingवा सुगरिङ (sugaring) भनिन्छ ।

सुगर ड्याडीले किन यस्तो गर्दछन् त ?

हामीमध्ये धेरैलाई प्रश्न आउन सक्छ, किन सुगर ड्याडीले यस्तो गर्ने गर्दछन् ? उनीहरूलाई के फाइदा होला ? यो प्रत्येक दुई व्यक्तिअनुसार फरक–फरक हुने गर्दछ । विशेष गरी सफल पुरुषले यस्ता सम्बन्ध राख्ने गर्दछन् र उनीहरूको विचारमा परम्परागत डेटिङ (भेटघाट) भन्दा यसका फाइदा धेरै छन् । उनीहरूको विचारमा यदि यौनसम्बन्धलाई परै राख्ने हो भने उनीहरूले सम्बन्ध राख्ने यस्ता सुगर बेबी अर्थात् केटीहरूलाई सम्हाल्न अन्य महिलाभन्दा सजिलो हुनुको साथै पढेका र सुरुचिपूर्ण हुने गर्दछन् ।

मुख्य फाइदाको रुपमा यसले उनीहरूलाई साथ दिने, समय बिताउने दिएर उनीहरूको भावनात्मक आवश्यकता पूरा गर्ने गर्दछ । यसदेखि बाहेक कतिपय स्थितिमा गुरू–चेलीको जस्तो सम्बन्ध रहने पनि बताएका छन् । यस्ता सम्बन्ध मन पराइने अर्को कारण रमाइलो हुने तर बन्धन नहुने भन्दछन् । परम्परागतरुपमा महिलासँग सम्बन्ध राख्न गाह्रो हुन्छ भने यहाँ मन पर्ने केटीसँग समय बिताउन पाइन्छ तर पनि यस्ता सम्बन्ध सुगर बेबीसँग एक किसिमको दूरी पनि कायम रहेको हुन्छ । यस किसिमको सम्बन्धमा यौनसम्पर्क हुनै पर्दछ भन्ने नरहे पनि कतिपय स्थितिमा यस्तो सम्बन्धमा स्वाभाविकरुपमा नै यौनसम्पर्क पनि हुने गर्दछ ।

अहिले यो बढ्दोरुपमा हुुनुुको कारण विशेषतः किशोरी तथा युवतीहरू विविध कारणले आर्थिक दबाबमा हुुने र आर्थिक लाभ लिने स्थिति हुुँदा किशोरी वा युुवतीको साथ चाहने वयष्कहरू पनि पर्याप्त हुुनुु यसको कारणको रुपमा लिइन्छ । सुगर ड्याडी बन्न चाहनेलाई आफ्नो दिक्क लाग्दो दैनिकी सम्बन्धभन्दा बाहिर रमाइलो सुरुचिपूर्ण, आकर्षक किशोरी वा युवतीसँग समय बिताउने अवसर दिन्छ । पर्याप्त पैसा छ भने एकभन्दा बढी सुगर बेबी राख्न सकिने स्थिति पनि हुन्छ ।

यौन शोषण र देहव्यापारको कुरा
यस चलनको पक्षधरहरुको भनाइमा यो एक–आपसीरुपमा फाइदा हुने सम्बन्ध हो । यो सहमतिमा हुने सम्बन्ध भएको कारणले यहाँ जबरजस्तीको सवाल हुने कुरा नभएको तर्क गर्ने गर्दछन् । त्यसैले सहमतिमा हुने यस्तो सम्बन्ध यौनशोषणयुक्त नभएको हुन्छ भन्छन् । यस्ता सम्बन्धमा रहेका कतिपय किशोरी वा युवतीले यौनसम्पर्क राख्नु एक अपेक्षित कार्य नै भएको ठान्दछन् ।

देहव्यापारको सन्दर्भमा किशोरी वा युुवतीहरू पनि आफू देहव्यापारीको रुपमा परिचय बनाउन चाहँदैनन् । यहाँ ग्राहक वा कर्मी भन्ने शब्दको प्रयोग नगरेर पार्टनर वा साझेदारको रुपमा यस्तो सम्बन्धलाई चिनाउने गरिन्छ । त्यसैले कतिपयको विचारमा यो देहव्यापार (वेश्यावृत्ति) होइन । तर अर्कोतिर कतिपयले भने यस किसिमको सम्बन्ध राख्नुको मुख्य कारण देहव्यापारको जस्तै नै हुने गर्दछ । यस्तो सम्बन्धमा भावनात्मक विकास स्वाभाविकरुपमा हुने स्थिति नहुने र पैसा तथा उपहारको प्राप्तिको वरिपरि नै हुने गर्दछ । यस्ता कुराहरूको नकारात्मक प्रभाव आत्मसम्मान तथा मानसिक स्वास्थ्यमा पर्न सक्छ । तर कतिपयले आफ्ना आवश्यकता पूरा गर्न यस्तो सम्बन्ध राख्नु गलत देख्दैनन् ।

सावधानी के अपनाउनुपर्ला ?

भनिन्छ, परापूर्वकालदेखि नै धनाढ्य पुरुषहरुले युवतीहरूको साथ पाउन आफ्नो शक्ति र धन (पैसा)को प्रयोग गर्ने गर्दछन् । उमेर पुगेका किशोरावस्था वा युवावस्थाका विद्यार्थीले मातापिताले नभई आफैँले अफ्नो खर्चको जोहो गर्नुपर्ने स्थितिमा विकल्प खोज्दा यस्तो सम्बन्ध स्थापित हुन जाने सम्भावना हुन्छ नै । कतिपय यस्ता सम्बन्धमा भेटघाट र कुराकानी वा किनमेलमा मात्रै सीमित नहुन सक्छ । यौनहिंसा वा त्यस्तै अनिच्छित स्थितिको सामना जहिले पनि हुन सक्छ । यसको लागि सजग हुनुपर्दछ ।

किनकि किशोरी वा युवतीहरूको लागि यी समस्या गम्भीर प्रकृतिको नै हुने गर्दछ । यी वयष्क वा प्रौढ व्यक्तिका श्रीमती वा सन्तानलाई यो सम्बन्धको बारेमा थाहा नै नहुन सक्छ । लुकाएर राखिनुपर्ने सम्बन्धमा कृत्रिमता हुन्छ, यस्ता सम्बन्धले हीनताबोध गराउने वा आत्मसम्मानमा चोट पु¥याउने हुन्छ । कतिपय किशोरीहरूले यस्ता सम्बन्धमा कामको लागि नभई साथै बिताएका समयको लागि पैसा तिर्ने गरेको स्थिति सम्मानजनक नहुने रहेको बताउँछन् । उनीहरूले बाध्यताको स्थितिमा आफू प्रयोग भएको अनुभव गर्ने गर्दछन् । यौनसम्बन्ध भए पनि, नभए पनि, पैसाको लागि सम्बन्ध राखिने भएकोले यो स्थिति भावनात्मकरुपमा आघात पु¥याउने खालको हुन्छ । उनीहरूलाई लज्जाबोध, अपराधबोध, असुरक्षित, चिन्ता अनि निराशापनजस्ता कपिपय कुराको अनुभूति हुने हुन्छ ।

सम्बन्ध पैसा वा उपहार लेनदेनको सेरोफेरोमा बाँधिएको हुनाले, यो सम्बन्ध स्वाभाविक भने हुँदैन र यो शोषणयुक्त हुने जोखिम हुन्छ भनिन्छ । यो सम्बन्ध वयष्क वा प्रौढ, पैसावाला वा धनी व्यक्ति र पैसा नभएको वा गरिब अनि कम उमेरमा किशोरकिशोरी वा युवायुवतीबीचको सम्बन्धको बीचमा शक्तिको असन्तुलन हुने कुरा स्पष्ट छ ।

र, यस्तो सम्बन्ध एक किसिमले जोखिमयुक्त हुने गर्दछ भनिए पनि कतिपयले यो कुरा स्वीकार भने गर्दैनन् । सुगर बेबी राख्न चाहने सुगर ड्याडीले अपनाउनुपर्ने सावधानीका कुरा पनि छन् । सुगर बेबीको सम्बन्धको सम्भावित व्यक्तिलाई छान्नुअघि सक्दो बढी जानकारी लिने, सम्बन्ध स्थापित गर्नुभन्दा पहिले नै अपेक्षाहरूको बारेमा विस्तृतरुपमा छलफल गर्ने र सर्तहरूको बारेमा सहमत हुने, सुगर बेबीलाई आदर र दयायुक्त व्यवहार गर्ने, शालीन तरिकाले व्यवहार गर्ने गर्दा आफू अपेक्षित सीमाभन्दा बाहिर गइँदैन ।

यहाँ सहमतिको भनिए पनि असहमतिमा यस्तो सम्बन्ध रहेको भनेर आरोप सार्वजनिक गरिएको स्थितिमा सुगर ड्याडी बनेका व्यक्तिको प्रतिष्ठा नै माटोमा मिल्न सक्छ । जोशमा होस नहराउन वयष्क वा प्रौढ व्यक्तिको लागि पनि त्यत्तिकै महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्