कामना र साधना खाेजी खाेजी जड्थे



सुप्रभात भण्डारी अध्यक्ष, अभिभावक महासंघ नेपाल

कुनै समय थियो नेपालमा पत्रपत्रिका पढ्न पाउन हम्मे हम्मे हुन्थ्यो, करिब उन्चालिस वर्षअगाडि बजारमा सीमित प्रकाशन गृहका केही पत्र पत्रिकाहरू बजारमा प्रकाशित भएर पाठकसमक्ष आइपुग्थ्यो । उस बखत स्वर्गीय पुष्करलाल श्रेष्ठलगायतले कामना प्रकाशन समूह स्थापित गरेर महानगर दैनिक, शुरूमा आजको समाचारपत्र हाल नेपाल समाचारपत्र दैनिक , कामना र साधना प्रकाशन गर्न करिब उन्चालिस वर्ष अगाडिबाट शुरू भएको थियो । तीनताक नेपालमा निर्दलीय पञ्चायत व्यवस्था थियो, अहिलेजस्तो सामाजिक सञ्जालको प्रचुुरता थिएन ।

पाठकहरूलाई राजनीतिलगायतका गतिविधिबारे जानकारी पु¥याउन कामना प्रकाशनको नेपाल समाचारपत्र र महानगरले ठुलो मद्दत गरेको थियो । साहित्य र घटना प्रधान तथा विचारहरूका निमित्त साधना र कामनाले पाठकहरूलाई मनोरञ्जन तथा ज्ञान प्रदान गर्ने गरेको थियो । म त्यस बखतदेखि नियमित पाठक थिएँ ।

बिहान निस्कने नेपाल समाचार समाचार पत्र र दिउँसो निस्कने महानगर पत्रिका त म हेर्नलाई बिरलै छुटाउँथे होला । त्यस्तै ,साधना र कामनाको हरेक अंक प्रकाशित भएसँगै त्यसको खोजी गर्ने थुप्रै पाठकहरू हुन्थे म पनि त्यसमा पर्थें । नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भई संवैधानिक राजतन्त्रात्मक बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने आन्दोलनका निमित्त कामना प्रकाशनको विशेष महत्व तथा योगदान रहेको भुल्न सकिँदैन ।

यो क्रम मुलुकको पछिल्लो जन आन्दोलन हुँदा होस वा सरकारहरूलाई चौथो अंगको रूपमा रचनात्मक तथा स्वस्थ आलोचनाको माध्यमबाट पत्रपत्रिकामा प्रकाशन हुने राजनीतिक, सामाजिक, आर्थिक तथा शैक्षिक विषयका सामग्र्रीहरूबाट आजसम्म पनि अनवरत रूपमा भूमिका खेल्दै आएको सन्दर्भमा लाखौं पाठकहरू कामना प्रकाशनप्रति आभारी रहँदै आएका छन् ।

३९ वर्षको अनवरत यात्रा पार गर्दै गरेको कामना प्रकाशनले १ सय १६ पेजको विशेषांक प्रकाशन गर्न लागेकोमा सिंगो कामना प्रकाशन परिवारमा हार्दिक बधाई एवं आगामी दिनमा प्रकाशनको सफलताको निमित्त मुरी मुरी शुभकामना ।

प्रतिक्रिया दिनुहोस्