पुस १६, २०५७ नेपाल समाचारपत्र

अब राष्ट्र बचाउने जिम्मा पाँच राष्ट्रिय दैनिकको



पुष्करलाल श्रेष्ठ

पुष्करलाल श्रेष्ठ

एक महिनाभन्दा बढी चलेको अन्योल र उतारचढावपछि भर्खरै टुङ्गिएको अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज डब्लु बुस अमेरिकाको ४३औं राष्ट्रपति घोषित हुनुभएको छ ।

आफू राष्ट्रपति घोषित भइसकेपछि बुसले गरेको पहिलो वासिङ्टन भ्रमणमा सबैभन्दा न्यानो माया र हार्दिक स्वागत आफूद्वारा पराजित डेमोक्रेटिक पार्टीका उम्मेदवार अल गोरबाट प्राप्त भएको अभिव्यक्ति उहाँले प्रकट गर्नुभएको छ । यसरी गोरबाट बुसलाई गरिएको न्यानो र आत्मीय स्वागतको उदाहरणीय दृश्य हेर्ने सौभाग्य स्वदेशी वा विदेशी टेलिभिजन च्यानलका लाखौँ उपभोक्ता नेपालीहरूलाई पनि प्राप्त भएकै हो ।

कसैले हेर्ने अवसर नपाएका भए यसै राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा मिति २०५७ पुस ६ गतेको छैटौँ पृष्ठमा ‘वासिङ्टन बैठकपूर्व नवनिर्वाचित राष्ट्रपति बुसलाई स्वागत गर्दै उपराष्ट्रपति अल गोर’ भनेर क्याप्सन लेखिएको प्रकाशित एउटा तस्वीरलाई हेरेर पनि पाठकले अनुमान लगाउन सक्नुहुनेछ । उक्त छापिएको तस्वीर हेर्दा निर्वाचित भएका राष्ट्रपति बुसभन्दा पराजित राष्ट्रपति गोर झन् बढी प्रसन्न मुद्रामा देखिनुहुन्छ ।

विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बन्न पाउनु चानचुने कुरा होइन । अमेरिकाजस्तो सबै कुराले सुसम्पन्न देशले पनि यसपटक राष्ट्रपति पाउन एक महिनाभन्दा लामो अवधिको उतारचढाव भोग्नुप¥यो । राष्ट्रपतिको चुनाव अमेरिकाको सर्वोच्च अदालतसम्म पुगेर अड्कियो ।अन्ततः लामो समयपछि अमेरिकाको सङ्घीय सर्वोच्च अदालतले रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज डब्लु बुसलाई राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा ग¥यो ।

अचम्म लाग्दैन र ! यस्तो लामो उत्तारचढावका बाबजुद अमेरिकामा न त चक्काजाम भयो, न त कतै ढुङ्गामुढा नै । अरु त अरु, सर्वोच्च अदालतले हराइदिँदा समेत न त अल गोरले अमेरिका बन्दको घोषणा गरे, न त उनको डेमोक्रेटिक पार्टीले नै अदालत घे¥यो । कल्पना गरौँ, अहिलेको स्थितिमा नेपालमा सो अवस्था सिर्जना भइदिएको भए के गति हुन्थ्यो यस देशको ? कति मच्चिसक्थ्यो होला यहाँ पार्टी र नेताहरूको ताण्डव नृत्य ? हामी सबैलाई थाहा भएकै कुरा हो, अहिले यहाँ गिरिजाप्रसाद कोइरालाविरुद्ध शेरबहादुर देउवा जागिरहनुभएको छ ।

विगतमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध कोइराला साम, दाम, दण्ड र भेदका साथ सुरिनुभएको पनि हामीले बिर्सेका छैनौँ । यता वामदेवविरुद्ध सीपी मैनालीको लडाइँ अझै सकिएको छैन । माधव नेपालविरुद्ध केपी ओलीको झगडाको पोल सबैभन्दा बढी एमाले पक्षकै अखबारबाट खुलिरहेको हुन्छ । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द कहिले मिल्छन्, कहिले झगडा गर्छन्, कसैले भन्नै सक्तैन । यी त सबै एउटै पार्टीका नेताहरू हुन् ।

रिपब्लिकन पार्टीका जर्ज बुस र डेमोक्रेटिक पार्टीका अल गोरजस्तै छुट्टाछुट्टै पार्टीका नेताहरू पनि होइनन् यिनीहरू । जनताका अगाडि सार्वजनिक ठाउँमा उभिएर भाषण गर्दा नेपाललाई अमेरिका, सिङ्गापुर बनाइदिन्छु भनेर उदाहरण दिने हाम्रा नेताहरू ती राष्ट्रका नेताहरूजस्तो उदार र सभ्य राजनीतिक संस्कारलाई चाहिँ किन आदर्शका रूपमा अङ्गीकार गर्र्दैनन् ? यही नै यहाँ सबभन्दा ठूलो चिन्ताको विषय बनिरहेको छ ।

यसको कारण छ, त्यो पनि सानोतिनो कारण होइन, ठूलै कारण छ । अमेरिका, जापान, सिङ्गापुर र युरोपेली मुलुकहरूको अत्याधुनिक विकास गराउनुमा मात्र होइन, सभ्य राजनीतिक संस्कारको विकास गराउनुमा पनि त्यहाँका प्रेसले ठूलो र उल्लेखनीय भूमिका खेलेका रहेछन् । र, खेलिरहेको पनि देखिन्छ । पत्रकारिताको अध्ययन गर्ने सिलसिलामा यस लेखकले गरेका विभिन्न मुलुकको भ्रमणमध्ये खासगरी अमेरिका, जापान, चीन र सिङ्गापुरको प्रेस अवलोकन गर्दा यी कुराहरूलाई प्रत्यक्ष रूपमा हेर्ने र अनुभव गर्ने अवसर मल्यो ।

जापान र अमेरिकाको भ्रमणलगत्तै ती देशहरूको विकासमा त्यहाँका प्रेसले खेलेको भूमिकाबारे यस लेखकले पहिले पनि पटक–पटक कलम चलाइसकेको सम्झना पाठकहरूलाई पनि भएकै हुनुपर्छ । अङ्ग्रेजी भाषाका प्रसिद्ध विद्वान्, लेखक तथा समीक्षक अस्कर वाइल्डले देश निर्माणका लागि प्रेसले निभाउनुपर्ने भूमिका र यसको ठूलो जिम्मेवारीलाई ध्यानमा राखेर जसरी यसलाई सम्मान दिनुभएको छ, माथि उल्लेख गरिएका अधिकांश देशहरूका प्रेसले पनि यसैलाई आदर्श मानी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको पाइएको छ ।

यहाँजस्तो कुनै व्यक्तिविशेष, राजनीतिज्ञ र कुनै पार्टीको निहित स्वार्थपूर्ति गर्नका लागि चेसको गोटीजस्तै कुनै पार्टी र राजनीतिज्ञको औँलाले चल्ने गर्दैनन् प्रायः त्यहाँका प्रेसहरू । प्रेसभन्दा माथिका तीन ठूला अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन् । यी तीनवटा अङ्गमध्ये कुनै अङ्ग बिग्रिन खोज्यो अथवा सबै अङ्गमा बेकाइदा, बदमासी देखिन थाल्यो भने जनताका तर्फबाट खबरदारी गर्न सक्ने बलियो हतियार भएकै कारणले प्रेसलाई चौथो अङ्गको सम्मान दिइएको हो ।

हाम्रो देशमा अहिले यी तीनवटै अङ्गलाई यसका सञ्चालकको अयोग्यता भनौँ वा व्यक्तिगत स्वार्थले ध्वस्त बनाइसकेको छ । माओवादीहरूले सार्वजनिक चोकमा आएर आमसभा गर्ने हिम्मत गरिरहेका छन् । एउटा वक्तव्यको भरमा सात–सात दिन अधिराज्यभरका विद्यालयमा हडताल भइरहेको छ । एउटा अज्ञात पर्चाको भरमा सजिलैसँग नेपाल बन्द हुन्छ, भइरहेको पनि छ । एउटा विद्यार्थी र मजदुरबीचको हातपातलाई लिएर कैयौँ दिन पूर्वाञ्चल र पश्चिमाञ्चलमा नाकाबन्दी हुन्छ । राजधानीभित्रै दिनहुँ लुटपाट र बलात्कारका घटनाहरू बढिरहेका छन् ।

शान्तिसुरक्षाको नामोनिसान कतै छैन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेका छन् । घुस र कमिसनविना यस देशको प्रशासनिक कार्यमा सिन्कोसमेत नभाँचिने भएको छ । यस देशमा सरकार छ÷छैन, दिउँसै लालटिन बालेर खोज्नुपर्ने स्थिति छ । माथिका यी सबै विकृति हटाउनकै लागि २०४६ सालको जनआन्दोलनलाई नेपाली प्रेसले साथ दिएको थियो । पञ्चायती शासनकालको बेलामा हिजो हामी यसो भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिने गथ्र्र्यौं, ‘के गर्ने, हामीलाई लेख्ने स्वतन्त्रता नै छैन, केही लेख्यौँ भने पनि दानापानी नै हरण हुने गरी सरकारले प्रेस नै जफत गरिदिन्छ । प्रेस स्वतन्त्र भइदिएको भए देश र जनताका लागि हामीले गर्न जानेका थियाैं ।’

अब त देशमा प्रजातान्त्रिक व्यवस्था लागू भइसकेको पनि एक दशक बितिसकेको छ । व्यवस्थाले प्रेस स्वतन्त्रताको भविष्य पनि सुनिश्चित गरिदिइसकेको छ । अब हामीलाई देश र जनताको सेवा गर्न के कुराले रोकेको छ ? केही कुराले रोकेको छ भने मात्र त्यो हाम्रो पेसागत एकताको कमी र देश विकासका लागि सामूहिक प्रतिबद्धताको अभाव हो । देशको वर्तमान स्थितिलाई गम्भीरतापूर्वक नियालेर हेर्ने हो भने अब यो देशलाई भगवान् पशुपतिनाथले पनि बचाउन नसक्ने गरी हजम गरिसकेका छन् यहाँका शासकहरूले ।

पोहोर साल चीन भ्रमण गर्दा बेइजिङबाट प्रकाशित हुने इकोनोमिक डेलीका प्रधान सम्पादक उ छुनेले यस लेखकको जिज्ञासा मेट्दै भन्नुभएको थियो, ‘हाम्रा नेता देङ चाओपिङले आर्थिक उदारताको नीति ल्याउनुभयो । यसलाई लागू गर्न सकिएको खण्डमा यसको विकासमा कायापलट नै हुने भविष्य चीनको प्रेसले देख्यो । त्यसपछि चीनका प्रायः अधिकांश प्रेसले नेता देङको नीतिमा हो मा हो थप्यो । आज तपाईं चीनको विकास देखेर आश्चर्यचकित हुनुको परिणाम पनि यही नै हो । नेता माओत्सेतुङले चीनका जनतालाई अनुशासन सिकाए, त्यसको फाइदा उठाउँदै देङले विकासको भिजन दिएर चिनियाँ जनतालाई विकास सुम्पे ।’

यस्तै, एउटा उदाहरण लेखकलाई जापान भ्रमणमा रहँदा पनि प्राप्त भएको थियो । जापानमा प्रकाशक तथा सम्पादकहरूको सङ्घ निहोन सिम्बुन ख्योकईका डाइरेक्टर हाइदे साकाताले टोकियोबाट क्योटोमा गइरहेको बेलामा बुलेट ट्रेनभित्र एक प्रसङ्गमा हाँस्दै भन्नुभएको थियो, ‘साँच्चै जापानको विकास हुनुमा जापानको प्रेसले ठूलो भूमिका खेलेको छ । यहाँका प्रेसले नेताहरूका अनावश्यक भाषण र कुराकानीलाई कहिल्यै प्राथमिकता दिँदैनन् ।

बरु उनीहरूले केही गल्ती गरे वा गर्न खोजेमा प्रेसले त्यस्ता कुरालाई खोजी गरी तुरुन्तै जनतासामु राखिदिन्छन् । सबभन्दा ठूलो कुरा त यहाँका प्रेसले राजनीतिक कुरालाई भन्दा विकासका कुरालाई बढी प्राथमिकता दिने गर्छन् । राजनीतिज्ञहरूलाई अनावश्यक रूपमा उचाल्ने र पछार्ने काम यहाँ गरिँदैन । जापानमा एउटा प्रेस क्लब छ, जापानका प्रायः सबै ठूला–साना पत्रकार यस क्लबका सदस्य हुन्छन् ।

क्लबमा सबै पत्रकारहरूको भेटघाट भइरहन्छ । यहाँ एकले अर्कालाई थाहा भएका कुराको एक–आपसमा साटासाट पनि गर्छन् । देश र जनताका लागि अहित हुने कुरा सरकारबाट वा कतैबाट हुन लागेको थाहा पाइयो भने यही क्लबमा भेला भएर जापानी पत्रकारहरू अरिँगालको गोलोजस्तो कुनै पनि विकृतिविरुद्ध एकजुट भएर आक्रमणमा उत्रिने कार्य गर्छन् । प्रायः अधिकांश जापानीहरू जापानी प्रेसबाट अत्यन्त सन्तुष्ट र विश्वस्त हुनुको प्रमुख कारण पनि यही नै हो ।’

कार्यपालिका होस् वा व्यवस्थापिका, न्यायपालिका नै किन नहोस्, यी तीनवटै अङ्गलाई सबैभन्दा नजिकबाट हेर्ने अवसर सर्वप्रथम कसैलाई प्राप्त हुन्छ भने त्यो प्रेस अथवा चौथो अङ्गलाई नै हो । त्यसैले, विकृतिको चरमचुलीमा पुगिसकेका यी तीन अङ्गलाई सही बाटोमा ल्याउने अभिभारा अब नेपाली प्रेसले नै बोक्नुपर्दछ ।

अन्यथा भोलि प्रजातन्त्रमै जनताको वितृष्णा जाग्यो भने त्यसको दोष र जिम्मेवारी पनि नेपाली प्रेसले नै बोक्नुपर्ने हुन्छ । किनभने २०४६ सालको जनआन्दोलनमा देश विकासका लागि प्रजातन्त्र नै उत्तम शासन व्यवस्था हुन सक्छ भनेर नेपाली प्रेसले उठाएको आवाजलाई नै पत्याएर जनता पनि पञ्चायती शासनविरुद्ध मैदानमा उत्रिएका थिए ।

त्यसैले जापानमा जस्तै हामी पनि यहाँ एउटा प्रेस क्लब बनाऔँ कि भनेको । बेलैमा राष्ट्रिय दैनिकहरूको यस्तो क्लब स्थापित भइसकेको भए ऋतिक रोशन सन्दर्भजस्तो एक किसिमको वाहियात विषयलाई लिएर देशले ठूलो मूल्य चुकाउनुपर्ने पनि थिएन होला । हामी मिडियाले यस विषयमा अलि गम्भीर ध्यान पु¥याउन नसक्दा देश र जनता दुवैले भर्खरै एउटा ठूलो र अप्रत्याशित दुर्घटना भोग्नुप¥यो । कस्तो कुराले देश र जनताको हित गर्छ र कस्तोले हानि गर्छ भन्ने कुरालाई विश्लेषण गरेर प्रेसमा स्थान दिने-नदिने भन्ने सरसल्लाहकै लागि पनि यस्तो प्रेस क्लबको आवश्यकता अत्यन्तै जरुरी भइसकेको छ ।

दैनिक प्रकाशित हुने र राष्ट्रभरि नै वितरण हुने भएकाले सुरुमै यस क्लबको नेतृत्व ब्रोडसिटमा प्रकाशित हुने राष्ट्रिय दैनिकहरूले नै मिलेर गरौँ । पछि विस्तारै यस क्लबको दायरा बढाउँदै लगेर अरु दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रिकालाई पनि समावेश गराैं । गोरखापत्र दैनिक र राइजिङ नेपाल पुरानो भए पनि प्रजातान्त्रिक मुलुकमा सरकारले अखबार चलाउन नमिल्ने भएको निजी क्षेत्रबाट स्थापित पहिलो राष्ट्रिय दैनिक हुने सौभाग्य प्राप्त भएकाले शुरुमा यस क्लबको अध्यक्ष कान्तिपुर प्रकाशनका अध्यक्ष हेमराज ज्ञवालीले नै लिनुपर्ने यस लेखकको धारणा छ ।

हिमालय टाइम्स र स्पेस टाइमसँग कान्तिपुरलाई कुरो बढाउन अप्ठ्यारो भए त्यो अभिभारा यस लेखकलाई दिए हुन्छ । काठमाडौं पोस्ट त आफैँ भइहाल्यो । पेसागत रूपमा हामीबीच जस्तोसुकै प्रतिस्पर्धा भए पनि देश र जनताकै लागि हामी इमानदारीका साथ एकजुट हुनुपर्ने अवस्था आइसकेको छ । पेसागत हकहितकै लागि अथवा भनौँ अन्तरात्मादेखि नै हाम्रो मिसन देश, जनता र प्रजातन्त्रको स्थायित्वका लागि हो भने अब हामीले यसमा एकपल पनि ढिलो गर्नु ठीक हुँदैन, स्वयम् देशका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हामीप्रति लक्षित गर्दैै पाँच राष्ट्रिय दैनिकका कारण प्रजातन्त्र खतरामा परेको आरोप लगाइसक्नुभएको छ ।

हामी पाँच राष्ट्रिय दैनिकका लागि योभन्दा ठूलो गम्भीर चुनौती अरु के कुन हुन सक्ला ? छिमेकी राष्ट्र भारतमै जन्मे÷हुर्केका यी नेतालाई संसारकै सबैभन्दा विकसित प्रजातान्त्रिक मुलुक अमेरिका, सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक मानिने भारतका प्रायः सबै ठूला राष्ट्रिय दैनिकहरू पुँजीपतिहरूबाटै सञ्चालित भइरहेको जानकारी अल्पज्ञानकै कारणले थाहा नभएको होला त ? आफूले गरेका भ्रष्टाचार र बदमासीलाई देखे पनि नदेखेजस्तो गर्ने प्रेसलाई प्रजातन्त्रवादी देख्ने र यस्ता कुरालाई पर्दाफास गरिदिएकै कारणले व्यावसायिक रूपमा अघि बढ्न खोजिरहेका ठूला प्रेसलाई ‘टाइकुन’ (पुँजीपति)को आरोप लगाउँदै प्रजातन्त्रविरोधी देख्ने यस्ता लुच्चा नेतालाई तह लगाउनकै लागि पनि यस लेखकलाई लाग्छ, अब पाँच ठूला राष्ट्रिय दैनिक एकजुट हुनु आवश्यक भइसकेको छ ।

होइन भने २०४६ सालमा प्रजातन्त्रका लागि आन्दोलनमा भएको हाम्रो योगदान हामीले आफ्नो पेसागत सुरक्षाको स्वार्थले मात्र गरेको साबित हुनेछ । राजदरबारका भाइभारदार र मरीचमान, सूर्यबहादुरहरूले मोज गरेको हेर्न नसकी ईष्र्याले कोइराला परिवारका भाइभारदार र कृष्णप्रसाद, शेरबहादुरलाई मोज गर्ने अवसर दिएको आरोप लाग्न सक्छ नेपाली प्रेसलाई । प्रेसको जिम्मेवारी देशमा प्रजातन्त्र ल्याउनु मात्र होइन, यसको संरक्षण र संवद्र्धन गर्नु पनि हो ।

अहिले जसरी प्रजातन्त्रमाथि नै जनतामा वितृष्णा जागिरहेको छ, भोलि यही लहरले जनता प्रजातन्त्रकै विरुद्धमा २०१७ सालमा झैं सडकमा ओर्लन बाध्य भए भने विश्वास गर्नुहोस्, जनतालाई झुक्याएको आरोपमा नेताहरूसँगसँगै नेपाली जनताले प्रेसलाई पनि पाता कसेर शहर घुमाउनेछन् । जनताले नसके पनि प्रजातन्त्र मास्ने सरकारले त कसिहाल्छ होला, कमसेकम पाता कसिनबाट बचौँ ।

प्रतिक्रिया दिनुहोस्