कामना न्यूज पब्लिकेसन्स्को योगदान अविस्मरणीय छ: श्रेष्ठ



धुलिखेलको विकासको पर्यायवाची नाम हो बेलप्रसाद श्रेष्ठ । उहाँले धुलिखेल नगरपालिका, धुलिखेल खानेपानी, होटल व्यवसाय, पर्यटकीय नगर, काठमाडौं विश्व विद्यालय, धुलिखेल अस्पताल बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । धुलिखेल नगरपालिकाका संस्थापक मेयरसमेत रहनुभएका उहाँले नेपाल समाचारपत्रका लागि कामना पब्लिकेसन्स्को ४० औं वार्षिकोत्सवका अवसमा सह–सम्पादक भगवती तिमल्सिनासँग गर्नुभएको कुराकानी:

सर्वप्रथम नेपालको इतिहासमा निजी क्षेत्रबाट पहिलोेपटक पत्रिका निकाल्ने प्राइभेट कम्पनी कामना न्युज पब्लिकेसन्स् प्रा.लि.को ४०औं वार्षिकोत्सवको उपलक्ष्यमा यो पब्लिकेसन्सबाट प्रकाशित हुने नेपाल समाचारपत्र, कामना, साधना, न्युज अफ नेपाल अनलाइन पत्रिकाको सफलताको कामनासहित उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

तपार्इंले आफ्नो गाउँ ठाउँलाई सकारात्मक रूपमा विचारधारा राख्न सक्नुहुन्छ पत्रिकाको महत्व त्यहाँ हुन्छ । आजभोलि थुपै्र पत्रिकाहरू छन् कुनै पत्रिका नबिराई पढ्नुपर्ने हुन्छ । त्यसमध्ये नेपाल समाचारपत्र एक पढ्नै पर्ने विश्वसनीय समाचार सम्प्रेषण गर्ने पहिलो पत्रिकामा पर्छ ।

पछिल्लो समय पत्रिकामा भन्दा सामाजिक सञ्जाल, इलेक्ट्रिक डिभाइसमा छिटो सूचना पाउन थालेको धेरैले महसुस गरेको पाइन्छ, तर विश्वसनीयताका लागि पत्रिका नै चाहिन्छ । त्यो पनि नेपाल समाचारपत्र जस्तो सबै पक्षलाई ब्यालेन्स गरेर समाचार पस्किने पत्रिकाले मानिसको जीवनमा भोग्नुपरेका अप्ठ्यारा कुराहरू, स्वास्थ्य, शिक्षा, रोजगारी, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन जस्ता मानव जीवनका अपरिहार्य विषय प्राथमिकतामा राखेकोछ ।

कुनै पनि रोग, मानसिकतासम्बन्धी समस्या, भोगेका कुरा सरल भाषामा पस्किन्छ । व्यक्तिको जीवनमा मेल खाने व्यावहारिक विषय पढ्नका लागि पत्रिका नै महत्वपूर्ण हुन्छ । नेपाल समाचारपत्रले हरेक दिन एउटा न एउटा बिषय समेटेकै कारण पाठकको मन जित्न सफल भएको छ र भोलिका दिनमा पनि यसरी नै पाठकको मन, मुटु र मष्तिष्कमा सकारात्मक छाप छोड्न सक्नुपर्छ ।

समाचारले मानिसको खोजी पूरा गर्नुका साथै आशा र विश्वास जित्ने खालको खुराक दिनुपर्छ । त्रिभुवन विमानस्थलमा गयौँ भने दैनिक विदेसिने र बाकसमा फर्कनेको लर्को हुन्छ । त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा स्वदेशमै सम्भावना बोकेको खोजी समाचार प्रकाशित गरी प्रशस्त बाटाहरू देखाउन सके राम्रो हुन्छ ।

विदेसिने युवाहरूका लागि आवश्यक खोजी गर्न सही सूचना दिने भूमिका खेल्न कामना न्युज पब्लिकेसन्सका प्रकाशनहरूले सकोस्, यो अर्को महत्वपूर्ण विषय हो । देशका होनहार युवाहरू ठूलो आशा बोकेर केही गर्छु भनेर विदेसिन्छन् । उनीहरूलाई आज रोकिएन भने ऋणको भारीले भोलि फर्केर आउने ठाउँसम्म रहँदैन । पत्रिकाको भूमिका भनेको आजको मूल समस्या पहिचान गरी सचित्र वर्णन गरी सम्भावना पहिचान गरेर प्रकाशन गर्ने बेला आएको छ ।

नेपाल सरकारको नीति नियम, विदेश सरकारको नीति नियमको जानकारी आजको आवश्यकता भइसक्यो । यो सबैको चासोको विषय हो । हाल भइरहेको विषयमा खोजमूलक र मानवलाई ज्ञानबद्र्धक कुरा पत्रिकाले पस्कनुपर्छ । आज राजनीतिक भाषणलाई भन्दा जीवनउपयोगी विषयलाई समेटेर विश्वास दिलाउने शक्ति भएको माध्यम पत्रिका र पत्रकार भएकाले युवालाई ज्ञान र शक्तिले भरिएको स्वास्थ्य, शिक्षा, सामाजिक विषयमा युवा केन्द्रित विषय पस्किनुपर्छ । हिजो जसरी नेपाल समाचारपत्रले आम पाठकको मन जित्यो त्यसरी नै घटना, परिघटनालाई समेट्दै विदेसिएका युवालाई स्वदेशको माया दिने योगदान गर्न सके देशकै लागि यो पत्रिकाले ठूलो गुन लाउन सक्छ ।

कामना न्यूज पब्लिकेसन्सका संस्थापक प्रकाशक, सम्पादक पुष्करलाल श्रेष्ठले देशकै मायामा ओतपोत भएको सन्तान जन्माएर अमेरिका जस्तो सुविधा सम्पन्न देशमा पत्रकारिता पढाएर स्वदेशमै फर्काएर पत्रकारितामा नै सम्भावना देखाउन सफल हुनुभयो त्यसरी नै युवा पुस्ताको लागि कामना न्युज पब्लिकेसन्स् प्रालिका सीईओ दिरेकलाल श्रेष्ठले पनि उदाहरणीय बनेर अरु युवाहरू पनि सफल बनाएर देशको विकासमा टेवा पु¥याउन सक्नुहोस् ।

कामना न्युज पब्लिकेसन्सको संघर्ष, योगदानबाट प्राप्ति भएको सफलताले युवा पुस्तालाई सकारात्मक सन्देश दिन सकोस् । पत्रिकाले राम्रो छ भन्दा राम्रै हन्छ । खराब छ भन्यो भने खराब नै हुन्छ । फेसबुकका कुरा विश्वासिलो हुन्न । पत्रिका नै विश्वासिलो माध्यम हो ।

त्यसैले, खानपान, पेशा, वातावरण, स्वास्थ्य, शिक्षा, के खान हुन्छ, के गर्नु राम्रो कसरी गर्ने भन्ने विषयमा प्रचलित विषयमा खुराक पस्किनुभयो भने सधैं सफलता मिल्छ । स्वस्थ शरीरले जसरी काम गर्न सक्छ त्यस्तै गरी युवाहरूले यो देशको माटोमा टिक्न सक्ने वातावरण बनाउनेतर्फ सरकारको समेत ध्यान केन्द्रित हुने गरी खोजमूलक, युवा केन्द्रित विषयमा हरेक दिन फरक–फरक विषयमा लेख्नुपर्छ त्यसले निश्चय नै ठोस काम गर्छ र पत्रिकाको महत्व बढाउँछ ।

हिजोका दिनमा जसरी सातामा हरेक दिन शिक्षा, स्वास्थ्य, संस्कृति, विकास, जीवन उपयोगी विषयलाई प्राथमिकता दिँदै आएको थियो त्यसरी नै निरन्तरता दिनु सबभन्दा उपयोगी हुन्छ । पत्रकारिता र पत्रिका भनेको जीवनको महत्वपूर्ण ऐना बन्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्