रेयूकाई मासुनागा आँखा अस्पताल बनेपामा अन्तराष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलन हुँदै



काभ्रे। 

रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले मसिंर २२ र २३ गते अन्तराष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । सोहि अवसरमा अस्पतालले विस्तार गरेको ओपिडी भवनको पनि शुभारम्भ हुने भएको छ ।

सम्मेलनमा अमेरिका र नेपालका करिब १ सय ५० देखि २ सय नेत्र विशेषज्ञहरु सहभागी हुनेछन् । पहिलो दिन ओपडी भवनको शुभारम्भ स्वास्थ्य मन्त्रीले गर्ने कार्यक्रम छ । ओपिडी भवनको उद्घाटनसँगै सम्मेलनको शुभारम्भ हुनेछ । सम्मेलनमा विश्वभर भइरहेका अभ्यास तथा अनुभव र आगामी दिनमा हुन सक्ने सम्भावित चुनौतीका बारेमा विशेषज्ञहरुले छलफल गर्नेछन् । अस्पतालका प्रशासकिय प्रमुख हीरामणि शर्माले सम्मेलनको तयारी पुरा भएको बताए । अध्यक्ष मधु आचार्यले रेयुकाई मासुनागा आँखा अस्पतालले काभ्रेपलाञ्चोक जिल्ला र आसपासका क्षेत्रका नागरिकहरुमा आँखामा हुने रोगहरुको पहिचान, उपचारसँगै मोतियाविन्दु मुक्त बनाउने अभियानमा तिन तहकै सरकारको समन्वय आवश्यक रहेको बताए ।

सन् २००७ सालमा स्थापना भएको अस्पतालले २०२३ सम्ममा १० लाख नागरिकहरुलाई ओपिडी सेवा उपलब्ध गराएको छ । ५ जना विशेषज्ञ डाक्टरहरुद्वारा नियमित सेवा प्रदान गर्दै आएको अस्पतालले बनेपाका अलावा जिल्लाको भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुर ढल्केबरमा समेत सेवा उपलब्ध गराउँदै आएको छ । ३ वटा उपचार केन्द्र र ३ वटा आँखा अस्पताल संचालन गरेको अस्पतालले बनेपामा मात्रै एकै दिन ओपिडी सेवा ४ सयलाई उपलब्ध गराएको छ । विद्यालय स्तरमा पुगेर बालबालिकाहरुमा आँखा सम्वन्धी रोगको पहिचान तथा उपचार शुरु गरेको अस्पतालले पहिलो पटक बनेपाका २४ हजार बालबालिकाहरुको आँखा निःशुल्क परीक्षण गरिरहेको मेडिकल डाईरेक्टर डा. रुची श्रेष्ठले बताईन् । उनी रेटिना सर्जन तथा मोतिविन्दु विशेषज्ञ हुन् ।

पछिल्लो समय आँखामा जलविन्दु, मोतिविन्दु लगायतका समस्या धेरै देखिन थालेका छन् । मानिसहरुमा हुने सुगर प्रेसरका कारण आँखामा हुन सक्ने जटिल समस्या हुन नदिन नियमित आँखा परीक्षण गर्न अस्पतालले सुझाव दिएको छ । अस्पतालले अघिल्लो आर्थिक वर्ष ६० हजार विरामीलाई सेवा गर्ने लक्ष्य लिएकोमा ५५ हजार ९ सय ९७ जनालाई सेवा उपलब्ध गराएको थियो भने ६ सय जनाको अप्रेसन गर्ने लक्ष्य लिएकोमा ४ सय ४५ जनाको अप्रेसन गरेको छ । चालु वर्षका लागि ७० हजारलाई सेवा दिने योजना बनाएको छ भने ६ सय ५० जनाको अप्रेसन गर्ने लक्ष्य लिएको छ

प्रतिक्रिया दिनुहोस्