शिर मेमोरियलमा सुरु भयो क्यान्सर रोगको उपचार सेवा



काभ्रे। 

काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लाका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालले सेवा शुभारम्भ गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संयुक्त रुपमा सेवा शुभारम्भको घोषणा गरेका हुन् ।

 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले अस्पतालले सेवामा सहजता प्रदान गर्ने उद्देश्यले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि जनचेतना फैलाउने गरी सेवा विस्तार गरिएको बताए । समन्वय समिति प्रमुख दिपकुमार गौतमले क्यान्सर महामारीका रुपमा फैलिएकाले त्यसको उपचारमा नागरिकहरुले बेहोरिरहेको असहजतालाई सहज बनाउन शिर मेमोरियल अस्पतालमा सुरु भएको क्यान्सर रोगको उपचार सेवालाई गुणस्तरीय र आम नागरिकको पहुँचमा पु¥याउन समन्वय गर्ने बताए । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगर क्षेत्रका मात्रै नभई जिल्ला भित्रका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजताका लागि अस्पतालले सुरु गरेको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारको तर्फबाट सहजिकरण गरिने बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. एन्जिला बस्नेतले नेपालमा एक जना डाक्टरका लागि शहरी क्षेत्रमा १२ हजार र ग्रामीण भेगमा १ लाख ५० हजार नागरिक हेर्नु पर्ने अवस्था रहेको बताउँदै क्यान्सर रोगका बिरामीहरूका लागि अझै भयावह अवस्थामा रहेको बताउँदै रोग लाग्नै नदिन, रोग लागेकालाई क्यान्सर बढ्न नदिन र निको नहुने खालका बिरामीलाई सहजता प्रदान गर्न उपचार सेवा प्रभावकारी हुने बताइन् । ‘नेपालमा फोक्सो, स्तन, आन्द्रा र पेट, पाठेघरको मुखमा हुने क्यान्सर धेरै देखिन थालेको छ’–डा बस्नेतले भनिन–‘रहनसहन, खानपान, वंशाणुगत, जनचेतनाको अभाव, लार्पवाही लगायतबाट फैलने क्यान्सर रोगको उपचार खर्चिलो छ । महँगो छ । सामान्य ब्यक्तिका लागि पनि ८० हजार वार्षिक कमाई हुँदा ३ लाख ८० हजार खर्च हुने गरेको छ ।’ अझ कठिन बिरामीलाई क्यान्सर भए पछि हुने घाउ र त्यसले पार्ने अन्य अङ्गको असर मुख्य समस्या रहेको डा. बस्नेतले बताइन् ।

कार्यक्रममा क्यान्सर रोगका सर्जन डा. पुष्प खर्रवुजाले अस्पतालले दुई महिनाको अवधिमा ६ वटा जटिल प्रकारका क्यान्सर रोगका विरामीको शल्यक्रिया गरेको बताए । ‘क्यान्सर रोगको उपचारसँगै नर्स तथा डाक्टरहरुलाई तालिम लगायतका आवश्यक पूर्वाधारको व्यवस्थापन गरेका छौँ’–डा. खरबुजाले भने–‘हामी वार्षिक, दुई वार्षिक, त्रैबार्षिक र पञ्चवर्षीय योजना लिएर क्यान्सर रोगका बारेमा सम्पूर्ण उपचार गर्ने गरी तयारीमा जुटेका छौँ ।’ शिर मेमोरियल अस्पतालमा बाल क्यान्सर, रगत क्यान्सर, रेडियोलोजी, प्याथोलोजी, भ्याक्सिन, सर्जरी, किमो थेरापी लगायतका क्यान्सरसँग सम्बन्धित सबै रोगहरुको उपचार सेवाका लागि आफ्नै भवन, अत्याधुनिक मेशिन र दक्ष जनशक्तिको व्यवस्थापनमा जुटेको डा. खरबुजाले बताए । नागरिकलाई सहज र सरल उपचारका लागि प्रयत्न गरिएको उनले बताए ।

कार्यक्रममा क्यान्सर केयर कोअर्डिनेटर डा.पुष्प कँडेलले अस्पतालले सुरु गरेको सेवा सबैका लागि सहज पहुँचमा हुने बताए । एक जना व्यक्ति क्यान्सरका कारण बिरामी हुँदा उसले भोग्नु पर्ने आर्थिक,सामाजिक र व्यवहारिक कठिनाइका साथै उपचारमा सहज हुन नसक्दा परेका जटिलता सामान्य गराउन शिर मेमोरियलमा सुरु गरेको उपचार सेवाले थप सहजता हुने बताए । नेपालमा वार्षिक १४ हजार नागरिकको क्यान्सर रोगका कारण निधन हुने गरेको छ भने वार्षिक २० हजार भन्दा धेरैलाई क्यान्सर रोगबाट संक्रमित हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । कार्यक्रममा उपप्रमुख विमला सापकोटा, सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य, अस्पतालका विभिन्न विभागका प्रमुखहरु, स्वास्थ्य कार्यालय काभ्रेकी निमित्त प्रमुख अनिता खनाल, वडा अध्यक्ष बलराम अधिकारी, अस्पतालकी दिव्या लाखे लगायतले अस्पतालका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्