वैदेशिक रोजगारी

जिल्लाबाट रोजगारका लागि एक वर्षमा  ११ हजार ९ सय ४८ जना विदेशिए

 २३ जनाको शव फर्कियो, १० जना अङ्गभङ्ग



काभ्रे । 

वैदेशिक रोजगारमा जाने ब्यक्तिहरुलाई सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको प्रभावकारिता तथा नेपालमा वैदेशिक रोजगारको अवस्थाका बारेमा धुलिखेल नगरपालिकाका पदाधिकारीहरुसँग अन्तर्क्रिया गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले वैदेशिक रोजगारीमा जान खोज्ने ब्यक्तिहरुलाई सिप, भाषा तथा कानुनी विषयमा जानकारी गराउन कार्यक्रम प्रभावकारी भएको बताए ।

‘सामी कार्यक्रमले वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सूचना, न्याय, सिप विकास तथा परामर्शका लागि गरेका कार्य महत्वपूर्ण छन्’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘सकेसम्म वैदेशिक रोजगारमा जान नदिन स्थानीय सरकारले आय आर्जन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने तथा जान इच्छुक ब्यक्तिका लागि सिप र भाषा तथा सूचना र कानुनी विषयमा जानकारी गराउन नगरपालिकाले आवश्यक कार्य गरिरहेको छ । सामी कार्यक्रमले थप सहजता बनाएको छ ।’

अन्तर्क्रिया कार्यक्रममा धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । सहभागिहरुले वैदेशिक रोजगारमा जान चाहनेहरुले लिएको श्रम स्वीकृति, वैदेशिक रोजगारमा गएकाहरुको पारिवारिक अवस्था, सामाजिक र आर्थिक अवस्था, रोजगारबाट पठाएको रकमको सदुपयोगको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सामी कार्यक्रमका व्यवस्थापक पुरुषोतम अधिकारीले दैनिक २ हजार २ सय ब्यक्तिहरु वैदेशिक रोजगारमा गइरहेको बताए । विश्वका १० देश नेपालीहरुका लागि वैदेशिक रोजगारका लागि मुख्य गन्तब्य बनेकाले वैदेशिक रोजगारमा जानेहरुका लागि सूचनामा र न्यायमा पहुँच, सिप विकास तालिम, मनोसामाजिक परामर्श लगायतका विषयमा सामी कार्यक्रमले नेपालका विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको व्यवस्थापक अधिकारीले बताए ।

आर्थिक वर्ष २०७९-२०८० को अन्त्यसम्ममा नेपालबाट वैदेशिक रोजगारका लागि ७ लाख ७१ हजार नागरिक गएकोमा १ हजार ३ सय १० जना मात्रै सिपमा आधारित भएर गएको तथ्याङ्कले देखाएको अधिकारीले बताए । काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल नगरपालिका लगायतका केही पालिकाहरुमा उक्त कार्यक्रम लागू  भएको छ । सिभिक फोरमले धुलिखेल नगरपालिकामा सामी कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले जिल्लाबाट वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि जिल्ला प्रशासन कार्यालयबाट परामर्श तथा मनोपरार्मश समेत सञ्चालन गरिरहेको बताउँदै वैदेशिक रोजगारमा गएर अलपत्र परेकाहरुको उद्धार र ठगीमा परेकाहरुलाई कानुनी उपचारका लागि सहजीकरण गरिरहेको बताए ।

काभ्रेपलाञ्चोक जिल्लाबाट अघिल्लो आर्थिक वर्षमा ११ हजार ९ सय ४८ जना वैदेशिक रोजगारमा गएकाहरु मध्ये महिला २ हजार ९ सय ५७ जना र पुरुष ८ हजार ९ सय ९१ जना छन् । वैदेशिक रोजगारमा गएकाहरु मध्ये नेपालमा एक वर्षमा १ हजार ६२ जनाको शव फर्किएको छ भने बागमती प्रदेशमा १ सय २५ जना र काभ्रेपलाञ्चोक जिल्लाका २३ जनाले ज्यान गुमाएर शव फर्किएको छ । त्यस मध्ये काभ्रे जिल्लाका १० जना अङ्गभङ्ग भएर फर्किका छन् । नेपालमा सबै भन्दा धेरै वैदेशिक रोजगारमा जाने नागरिकहरु मधेस प्रदेशबाट छन् भने जिल्लागत रुपमा चितवनबाट धेरै छन् । बागमती प्रदेशका १ लाख १६ हजार ९ सय ६२ जना वैदेशिक रोजगारमा गएका थिए । नेपाल सरकारको तथ्याङ्कले वैदेशिक रोजगारमा जानेहरुले एक वर्षको अवधिमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण प्राप्त भएको देखाएको छ । अघिल्लो वर्षको तुलनामा यो रकम २१.२ प्रतिशतले वृद्धि भएको हो । कुल जिडिपीमा २२.६८ प्रतिशत हिस्सा यसले मात्रै ओगटेको छ । चालु वर्षको असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड भित्रिएको तथ्यांकले देखाएको छ । कार्यक्रममा सामी कार्यक्रम अधिकृत भागिराम थारु लगायतले सामी कार्यक्रम र वैदेशिक रोजगारका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्