मुलुकको वर्तमान अवस्था र ‘मिसन ८४’ को पर्खाइ



रमेशकेशरी वैद्य

राजतन्त्रदेखि अहिलेसम्मको समयलाई हेर्दा मुलुकमा विकास नै भएको छैन भन्न मिल्दैन । यो कुराचाहिँ सही हो कि यहाँ धेरै चुनौतीहरु छन् । यहाँ भ्रष्टाचार मौलाएको छ । नागरिकका लागि अझै सुविधा–सहुलियतको कमी छ । नागरिकको सेवा गर्न बसेकाहरुमा लोभलालच बढेको छ । मूर्ख र स्वार्थ संस्कार मौलाउँदै गएको छ । यसबाहेक देशमा अशान्ति छ । विकास सुस्त छ । राष्ट्रकोषको दुरुपयोग भइरहेको छ । यसकारण मानिसहरुको अपेक्षा यो छ कि अब राम्रा बुद्धिजीवीहरु आएर देश हाँक्नुपर्छ, यत्तिमात्र हो ।

आउने चुनावमा भोटको राम्रो जानकारी दिएर जनतालाई जनचेतना जगाउनुको लक्ष्य नै मिसन ८४ हो । अर्को शब्दमा भन्ने हो भने आउने  चुनावमा यी पुराना नेताहरुलाई हामीले देखाउनेछौं । समय एउटा यस्तो लहर हो जसले प्रकृति, भगवान् दुवैको काम गरिराखेको हुन्छ । वास्तवमा एक हिसाबले भन्ने हो भने समय प्रकृति, भगवान् भन्ने एउटै कुरो हो, खालि मानिसको हेर्ने दृष्टिकोणमात्र फरक हो । यीमध्येमा प्रायः मानिसले भगवान्प्रति आस्था गरिराखेका हुन्छन्, तर अहिले आएर समय बलवान् छ भनेर अघि बढ्नेहरु पनि धेरै छन् ।

कारण मानिसको जीवनमा मर्म, चोट, दुर्घटनाजस्ता कुराहरु समयले देखाउने कुरा हो । उनीहरुको कर्म अनुसार यसलाई पनि बिस्तारै समयले नै ठीक गर्दै मलहमको काम गरिराखेको हुन्छ । त्यसकारण मानिसहरु प्रायजसो भगवान्सँग जस्तो समयसँग पनि डराउने गर्दछन् । हाम्रो देशमा धेरै आयस्रोतहरु छन्, जुन भनिराख्नुपर्ने कुरा होइन । तैपनि हामीले यी चिजहरुबाट उति फाइदा लिन सकिराखेका छैनौँ । कारण लोकतन्त्रपश्चात् लालच, स्वार्थ, ज्ञानको कमीले गर्दा सबै पक्षहरु बिग्रँदै गए ।

त्यसमाथि मानिसहरुको अहंता बढ्यो । साथै गफ, झुटो बोली र आफ्नो गल्ती स्वीकार नगरी अरुलाई मात्र दोष थोपर्नु प्रवृत्ति बढ्यो । एक–अर्कामा गाली–कलहले गर्दा चाहेर पनि यो मुलुकलाई अगाडि बढाउन सकिएन । यसमा हामीले एक पक्षलाई मात्र गाली गरिराखेका हुन्र्छौ, जुन बिलकुल गलत हो । यस घडीमा हामीले दुईवटा मात्र कुरा सिक्ने हो । एक आफ्नो दायित्व नभुल्ने र अर्को आपूmमा ज्ञान–शिक्षा छ भने अरुलाई बाँड्ने हो । तर हाम्रो मुलुकमा पैसा र गाली–कलहमा नै जीवन बितिराखेको छ ।

एउटा मनुष्यको कर्तव्य हो जन्मेर जीवन पाएपछि राम्रो कर्म गर्ने हो । यसको फल मीठो पनि हुन्छ । हामीले सधैँ गएका कुरालाई कोट्याइराख्नुभन्दा भोलिको कुरा सोच्ने हो । त्यसकारण नेता, कर्मचारी, हनुमान, बिचौलिया आदिलाई गाली गर्नुभन्दा आउने राम्रा व्यक्तिहरुलाई राम्रा–राम्रा कुराहरुका लागि राय–सुझावहरु दिइराख्ने हो । कारण दिन भनेको सधैँ एकनासको हुँदैन, त्यसकारण सकारात्मक सोेच लिएर अघि बढ्नुपर्छ । सबैले भोलि आउने राम्रा देश चलाउनेहरुले पनि रोजगार कृषि, उद्योग, टुरिजम आदि कुराहरुलाई राम्रो गरेर जनतालाई सुख दिने हो । यसैको आशा गरी जनताले यस्ता व्यक्तिहरुलाई भोट हाल्ने हो । त्यसकारण जनताले पनि अल्छी नभई, पैसामा नबिकी यस्ता व्यक्तिहरुलाई प्रोत्साहन गर्ने हो ।

जिन्दगीभर नै सानो सोच लिएर बस्ने, नकारात्मक भएर बस्ने, स्वार्थी भएर बस्ने, लालची भएर बस्ने, एक–अर्कालाई दोष दिएर बस्ने हो भने मुलुक सधैंँ उस्तै हो । यस्तो बेलामा भगवान्ले हामीलाई चिढ्याउनको निमित्त नेताहरु राखेको हुन्छ । शायद यो मुलुकमा नटवरलाल मूर्ख मानिस धेरै भएकोले होला, अहिले हाम्रो मुलुकमा एउटा दुःख लाग्दो कुरा के छ भने प्रायः मानिस यहाँ देशको अवस्था र आफ्नो जीवन उन्नतितिर बढाउनलाई मात्र ध्यान दिइराखेका हुन्छन् । यही कारणले गर्दा नै समाज र आउने पुस्ताहरुलाई असर गरिराखेको छ । त्यसकारण यस्ता कुरालाई बदल्नु नै सबैको कर्तव्य हो ।

अहिले मुलुकमा व्यवसायी तथा सर्वसाधारणको जीवन अति कष्टकर छ । सरकारका कार्य र महँगीले गर्दा यहाँ मानिसहरु निराश छन् । तैपनि हामीले हिम्मत हार्नुहुँदैन । साथै निराश हुनुपर्ने जरुरत पनि छैन । कारण अझै हाम्रो देशमा राम्रा–राम्रा बुद्धिजीवीहरु मरेका छैनन् । खालि यिनीहरुको राम्रो दिन मात्र नआएको हो । साथै यस्ता मानिसलाई काम गर्न नदिने, शंका गर्ने, डाह गर्ने, रिस गर्ने, बदनाम गर्ने, खुट्टा तान्ने तथा गालीगलौजले गर्दा यिनीहरुको राम्रो दिन नआएको मान्न सकिन्छ । तर समयले सब ठीक गर्नेछ । यसलाई नै राम्रा बुद्धिजीवी मानिसहरुले सकारात्मक रुप लिएर अघि बढ्नुपर्दछ अनि मात्र मुलुक अघि बढ्ने हो । तर यसको लागि देशमा भएका सबै सर्वसाधारण व्यक्तिहरुले राम्रा व्यक्तिहरुलाई हमेसा साथ दिनु जरुरी छ ।

देशमा अझै शिक्षाको कमी, भौगोलिक वातावरण, कच्चा नेता, छिमेकी राष्ट्रहरुको केही स्वार्थपन र औसतमा जनता सीधासाधा भएका कारणले गर्दा पनि मुलुक अघि बढ्न नसकेको हो । तैपनि नराम्रो दिन पनि नआउला भनेर भन्न सकिन्न । सिर्फ नेपाली जनताले धैर्य पनि गर्न जरुरी छ ।
अहिले देशमा कलह, गालीगलौजहरु निरन्तर नै भइराखेको छ । यसले के सिद्ध हुन्छ भने, खराब मानिसहरु संसारमा जतासुकै हुन्छन्, धेर–थोर मात्र फरक हो ।

हाम्रो देशमा एक समयको कुरा गर्ने हो भने, खराब मानिसहरु न्यून थिए तर पनि राम्रो विकास हुने थिएन । अहिले समय परिस्थिति तथा मानिसका स्वार्थ, सोचले गर्दा खराब कुराको व्यापक विकास भयो । भोलि यसको रोकथाम गर्ने पनि राम्रा मानिसहरु नै हुन् । वास्तवमा हाम्रो देशमा सानो सोच भएका मानिसहरु र नटवरलालहरुको सोच बदल्न धेरै गाह्रो छ । कारण यिनीहरु एकोहोरो, घमण्डी, मूर्ख हुन्छन् । यही कारणले गर्दा भगवान्ले हामीलाई चिढ्याउन खराब निमित्त नेताहरु राखेको छ हाम्रो देशमा, जुन थोरै मानिसले मात्र बुझ्ने गर्दछन् ।

यस्ता खराब मानिसहरुले गर्दा नै आगामी २०८४ सालको चुनावमा हामीले बुद्धिजीवी, नयाँ र स्वच्छ छवि भएका नेताहरुलाई मौका, हौसला र प्रोत्साहन दिने हो । यो नै ‘मिसन ८४’ हो । यसले नै मुलुकको कायापलट हुन सक्छ । आशा गरौँ, वि.सं. २०८४ को चुनावपछि मुलुकमा गतिला जनप्रतिनिधिहरुको आगमन हुनेछ । त्यसपछि मुलुक बन्नेछ । एउटा कुरा, हाम्रो यति सानो मुलुकलाई प्रदेशमा विभाजन गर्नै पर्दैनथ्यो । भलै सात प्रदेशमा विभाजन भई कार्य सञ्चालन पनि हुँदै आएको छ । तर प्रदेश सरकारहरुले जति तीव्र गतिमा प्रदेशको विकास गर्नुपर्ने थियो त्यो हुन सकेको छैन । यदि यस्तै हो भने त्यस्ता प्रदेशको के काम ? हटाइदिए भइगो नि !

प्रतिक्रिया दिनुहोस्