माफिया ग्याङको चङ्गुल तोड



सागर पण्डित

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको यही पुसमा एक वर्ष पुग्दै छ । झन्डै एक वर्षको अवधिलाई विश्लेषण गर्दा सरकारको कामकारबाही प्रभावकारी बन्न सकेको देखिएन । प्रधानमन्त्रीले शुरुका दिनमा जुन जोश, जाँगर, उत्साह व्यक्त गरेका थिए सो अनुसार आफ्ना संयन्त्रहरुलाई सशक्तरुपमा परिचालन गर्न सकेका छैनन् ।

हाम्रा हरेकजसो प्रधानमन्त्रीहरु शुरुमा सत्तासीन हुँदा बाघझैँ गर्जने गर्छन् र सत्ता छोड्दा फ्याउरोझैँ लुसुक्क बाहिरिने गर्छन् । मेरो कार्यकालमा गर्व गर्न सक्ने यी र यस्ता कार्यहरु भए भनेर प्रधानमन्त्रीहरुले ठाडो शिर गरी भन्ने अवस्था हामीकहाँ पछिल्ला वर्षहरुमा कहिल्यै पनि आएन ।
सरकार र प्रधानमन्त्री, मन्त्रीलाई परिचालन गर्ने छुट्टै ग्याङ रहेका छन् । ती ग्याङले माफिया र बिचौलियाकै रुपमा काम गर्ने गरेका छन् । शुरुमा बाघझैँ गर्जने हाम्रा प्रधानमन्त्री तथा मन्त्रीहरु जब माफिया र बिचौलियाको चङ्गुलमा पर्ने गर्छन् त्यसपछि फ्याउरोजस्तै हुने गरेका छन् । माफियाहरुको चङ्गुललाई भत्काउन खोजेमा प्रधानमन्त्री र मन्त्रीको पद नै धरापमा पर्ने गरेको देखिन्छ । त्यसैले प्रधानमन्त्री र मन्त्रीहरुले माफियाहरुसँग सम्झौता गर्ने गरेको दुःखदायी अवस्था छ । यो समस्या प्रचण्ड सरकारमात्रै होइन, यसअघिको देउवा र ओली सरकारमा पनि विद्यमान थियो ।

आधुनिक मलेसियाका सूत्राधार महाथीर मोहम्मद र विकसित सिंगापुरका पिता ली क्यान युले आ–आफ्नो देशलाई विकासको मार्गमा हिँडाउन सबै खाले माफियालाई परास्त गर्न सफल भएका थिए । त्यसैले त आज मलेसिया र सिंगापुर अत्यन्तै विकसित राष्ट्रको रुपमा रहन सफल भएका छन् । दुवै देशका जनताले महाथीर र ली क्वानलाई चिरपर्यन्त सम्झिरहने छन् । प्रधानमन्त्री प्रचण्डले पनि यदि देशलाई वास्तविकरुपमा नै समृद्ध बनाउने हो भने आफूभित्र र बाहिर रहेका दुवै खाले माफिया ग्याङलाई ध्वस्त बनाउन जरुरी छ । माफिया भनेका देश बिगार्ने धमिरा हुन् । यिनीहरु सधैँ धमिलो पानीमा माछा मार्ने खेल खेल्न चाहिरहन्छन् । त्यसैले राजनीतिलाई अस्थिर बनाउन उनीहरु न्वारनदेखिको बल लगाएर हिँडिरहेका छन् । सरकार स्थिर भयो र राजनीति सङ्लिँदै गयो भने उनीहरुको खेलसँगै उनीहरुसमेत पतन हुनेछन् । त्यसैले पनि त्यस्ता माफिया ग्याङले धेरै प्रकारका हर्कतहरु गरेर सरकारलाई कमजोर र अस्थिर राख्ने प्रयास गर्छन् ।

माफियाहरु आफ्ना हरेक प्रकारका शक्ति प्रयोग गरेर सत्तालाई कठपुतली बनाउन चाहन्छन् । शासकहरुलाई खरिद–बिक्री गरेर आफ्नो वशमा पार्न चाहन्छन् । त्यसैले त विगतमा ब्रिफकेसको बोलावाला निकै थियो । अस्थिर राजनीतिमा नेताहरु र शासकहरु माफियाको ब्रिफकेसमा कैद हुन पुग्छन् र उनीहरुले जे भने त्यही काम गर्छन् । हामीकहाँ माफियाहरुकै योजना अनुसार राजनीति अस्थिर हुँदै आएकाले मुलुक भित्रभित्रै खोक्रो बनेको हो ।

हिजोदेखि आजसम्म आइपुग्दा माफियाहरु व्यापारीको रुपमा, समाजका बौद्धिक जगत्को रुपमा, एनजीओ, आईएनजीओको रुपमा, समाजसेवीको रुपमा र यदाकदा मिडियाकर्मीको रुपमा सल्बलाइरहेका छन् । डनवाद र धनवादमा रमाउने यी माफियाहरु अहिले राजनीतिक र प्रशासनिक नेतृत्वलाई आफ्नो कब्जामा लिन सफल भइरहेका छन् । त्यसैले उनीहरुको लागि त मुलुक स्वर्गजस्तै छ । प्रधानमन्त्री प्रचण्डले आफूभित्रका माफिया समूहलाई समयमा नै चिन्दै उनीहरुबाट सतर्क भएर राम्रा, इमानदार, कर्तव्यनिष्ठ, योजना बुन्न सक्ने व्यक्तिलाई साथ लिन सके भने उनलाई सफल हुन कठिन छैन । तर विगत ११ महिनाको कार्यकाल हेर्दा प्रचण्डले त्यसरी आफैँभित्र र बाहिरका माफिया ग्याङलाई ध्वस्त पार्नुको साटो निकै माया–ममता दिएको पाइन्छ । त्यसैले उनको पालामा मुलुक अग्रगतिमा जान सक्ने सम्भावना न्यून देखिन्छ ।
मुलुक बनाउन ठूलो त्याग र समर्पणको आवश्यकता छ । विगतमा माफिया ग्याङले सरकारलाई नै किनेर नीतिगत भ्रष्टाचार गरी अर्बौं रुपियाँ हात पार्ने गरेका घटनाहरु पटाक्षेप भइरहेका छन् । जसको पछिल्लो उदाहरण बालुवाटारको ललितानिवासको सरकारी जग्गामा भएको अतिक्रमण नै हो ।

मुलुक बनाउने महान् लक्ष्यमा हिँड्दा धेरै समस्या सिर्जना हुन सक्छन्, बाधा–अवरोधहरु सिर्जना गरिन सक्छन् । प्रधानमन्त्री प्रचण्डले पनि त्यस्ता बाधा–अड्चनहरु आइपरेको विषयहरु अभिव्यक्त त गर्छन् तर ती बाधा–अवरोध हटाउन के गर्नुपर्छ भन्ने विषयमा प्रचण्डले खास उपायहरु खोजी गर्न सकेका छैनन् । यसको लागि उनमा वास्तविक इमानको जरुरी पर्दछ ।

जनताको साथ लिएर अघि बढ्ने हो भने ती सारा अवरोधहरुलाई सहजै परास्त गर्न सकिन्छ । यद्यपि जनतालाई संगठित गर्ने कार्य भनेको निकै जटिल छ । तर सरकारमा बसेकाहरुले जनताको मन छुन सक्ने गरी राम्रा र विकासका महत्वपूर्ण कार्यहरु गर्न सके भने जनता नै सरकारको सुरक्षा कवच बन्न सक्छन् ।

जनताले नै धमिलो पानीमा माछा मार्न उद्यत् माफियाहरुको जालो तोड्नेछन् । त्यसैले यदि प्रचण्ड सरकारले सबै प्रकारका माफिया र डनहरुलाई परास्त गर्ने हो भने जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कार्यहरुलाई सशक्तरुपमा अगाडि बढाउनुपर्छ । अहिले यहाँको प्रशासनिक क्षेत्र पनि माफियाको चङ्गुलमा नराम्ररी फस्न पुगेको छ । त्यसैले प्रशासन क्षेत्रमा पनि निर्मम अपरेसन जरुरी छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विश्वमै उन्नत मानिएको शासन व्यवस्था हो । हामीकहाँ उन्नत शासन व्यवस्था स्थापना त भयो तर सोही अनुसार उन्नत चेतनास्तरको विकास न यहाँका राजनीतिक नेतृत्वमा हुन सक्यो, न त यहाँका नागरिक र बुद्धिजीवीमा नै । समाजका सबै तह र तप्कामा नकारात्मक सोचको मात्रै बीजारोपण भइरहेको छ । लाग्छ, यही सोचका कारण मुलुक असफल हुने बाटोतर्फ अग्रसर हुँदै छ ।

विकास, निर्माण र सिर्जनाका गीतहरु बज्न छोडिसकेका छन् । आफूलाई विद्वान ठान्नेहरुले सकारात्मक धुन गाउन छोडेर उत्तेजित खालका संगीतहरु पस्कने काम गरिरहेका छन् । अहिले शासन व्यवस्था नै खत्तम भयो भनेर केही पक्षहरु कोकोहोलो मच्चाइरहेका छन् तर त्यस्तो होइन । केही नेताहरुका कारण प्रश्न सिर्जना भएको हो तर शासकीय व्यवस्था खत्तम भएको होइन । कागले कान लग्यो भनेर हल्ला मच्चाउनेहरु छन् । केही व्यक्तिहरु भने आफ्नो कान नै नछामी कान लग्यो भनेर होहल्ला मच्चाउनेको पछाडि दौडिरहेका छन् । यो दुःखद पक्ष हो ।

सरकारलाई असल बाटो देखाउन छोडेर चिच्याउने काममात्रै गर्नु गलत हो । सरकारलाई अस्थिर बनाउने देशी–विदेशी तत्वहरु हाबी भइरहेको अवस्थामा त्यही देशी–विदेशी तत्वको पक्षमा लाग्नु घोर राष्ट्रविरोधी काम हो । सरकारलाई आरोपमात्रै लगाइरहने कि सरकार सकारात्मकरुपमा यसरी अघि बढ् है भनेर रचानात्मक सुझावहरु पनि पस्कने ? हो, सरकारलाई गल्ती गर्ने छुट छैन, यदि गल्ती भयो भने तुरुन्त सच्याएर जनतासँग माफी माग्दै राम्रा कार्यको थालनी गर्न सकियो भने पनि त्यो सरकारकै लागि थप ऊर्जा र बल हुन्छ । यस विषयमा सरकार गम्भीर बन्न जरुरी छ ।

जस्तासुकै कमजोरी गरे पनि सरकार परिवर्तन गराएर अराजकता मच्चाउने भन्दा सरकारलाई सुधार गर्ने गरी दबाब दिनु राम्रो हुनेछ । यदि यो सरकार हटेर अर्को सरकार स्थिररुपमा आयो भने त ठीकै होला तर त्यो सरकार पनि एकबर्से सरकारकै रुपमा आयो भने त्यसको कुनै अर्थ हुनेछैन । तर वर्तमान प्रचण्ड सरकारले पनि आफ्नो चरित्र आमूलरुपमा सुधार गर्नुको विकल्प छैन ।

यही अवस्थामा सरकार रहिरह्यो भने त्यस्तो सरकार हुनु र नहुनुको कुनै अर्थ छैन । आम जनताले मुलुकमा सरकार रहेको अनुभूत गर्ने गरी सरकारले आफ्ना गतिविधिलाई अघि बढाउनुपर्छ । आम जनताका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीका समस्याहरु समाधान गर्ने गरी सरकार अगाडि बढेमा माफिया ग्याङहरु आफैँ परास्त हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले नयाँ इतिहास बनाउने अवसरसमेत पाउने छन् । प्रधानमन्त्री प्रचण्डले जनताको हितमा काम गर्दा बरु प्रधानमन्त्री पद छोड्नुपरे पनि छोड्ने लक्ष्य लिएर असल कार्यमा लाग्नुपर्छ । यसो गर्न सकेमा मात्रै उनको सरकार माफियाको चङ्गुलबाट मुक्त हुनेछ । यदि सरकार माफियाको चङ्गुलबाट मुक्त हुन सक्यो भने देशमा विकास, समृद्धि र सुशासन कायम हुन सक्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्