सर्वहारा वर्ग होइन श्रमिक वर्ग



कम्युनिस्ट विचारधाराका संस्थापक कार्ल माक्र्स, लेनिनहरुले समग्र श्रमिक वर्गका मान्छेलाई सर्वहारा वर्गका मान्छेको उपाधि दिएका थिए । सर्वहारा वर्गका आम मानिसलाई हँसिया र हथौडाको एउटै झन्डामुनि गोलबन्द हुन र क्रान्तिमा लाग्नको लागि आह्वान गर्न उनीहरुले नै सिकाएका हुन् ।

संसारभरका सर्वहारा वर्गका मान्छेहरुले एउटै दह्रो मुठी कसेर बुर्जुवा वर्गमाथि जाइलागी क्रान्ति सफल बनाउनुपर्छ भन्ने उनीहरुको तर्क रहेको थियो । बलियो वा दृढ कम्युनिस्ट विचारधारका मानिसहरु क्रान्ति सफल भएपछि समाज पुँजीवादमा प्रवेश गर्छ, पुँजीवादपछि समाजवाद हुँदै साम्यवादसम्मको यात्रालाई आफ्नो गन्तव्य स्थल ठान्दछन् । सच्चा कम्युनिस्टहरु यिनै उपलब्धि हासिल गर्नको लागि अधिक मात्रमा क्रियाशील भएर आफ्ना कर्मक्षेत्रमा लागिरहेका पनि हुन्छन् ।

समय बित्दै जाँदा कति शब्दको अर्थ उचालिएर माथि गयो । कति शब्दको अर्थ ओरालिएर तल झरी कुनामा थन्क्याउन लायकका भए । कुनै पनि शब्द प्रयोगमा आउन छोडेपछि मृतप्रायः बन्दै गएको जस्तो प्रतीत हुन थाल्दछ । यस्तै वर्गमा पर्ने सर्वहारा शब्दको पनि अपभ्रंश हुन जरुरी देखिन्छ मात्र होइन, केही मात्रामा अपभ्रंश भइसकेको छ ।

आफ्नो विचारको मन्थनले तयार पारेका पुस्तक पढेर संसारका धेरै जना मान्छेलाई प्रभावित बनाउन सकेका र उनीहरुका विचारले संसारमा निकै ठूलो हलचल ल्याएको भए पनि आजको सन्दर्भमा सर्वहारा वर्गका मान्छे छैनन् नै भन्न नसकिए पनि कार्ल माक्र्स, लेनिनहरुले जति क्षेत्रका मान्छेलाई सर्वहारा वर्गका मान्छे भनेर तोकेका थिए आजको सन्दर्भमा सुहाउँदो हुनेछैन ।

आजका सर्वहारा वर्गका भनिएका मान्छेलाई सर्वहारा वर्गका मान्छे नभनेर श्रमिक वर्गका मान्छे भन्नु औचित्यपूर्ण हुनेछ । हुन त कार्ल माक्र्सकै समयमा पनि उनीहरुले परिभाषित गरेअनुसारका सबै मानिसलाई सर्वहारा वर्गको मान्छेको ट्याग लगाइदिनु बुद्धिमानी काम होइन । कारखानामा काम गर्ने मजदुर र खेतबारीमा काम गर्ने किसान दुवैलाई बराबर मानेर एउटै प्रकारको ट्याग भिराउनु त झन् पछुतो हुनेभन्दा पनि अन्यायपूर्ण कर्म हो ।

संसारमा जुन कालखण्डसम्म दास प्रथा कायम थियो, त्यस बेलासम्मका दासहरुलाई सर्वहारा वर्गका मान्छे भन्दा फरक पर्नेवाला छँदै थिएन । दक्षिण अफ्रिकामा गोराहरुको एकतन्त्रीय र मनपर्दी शासन कायम रहुन्जेलसम्मका हब्सी जातिका मानिसहरु सर्वहारा वर्गकै मानिस थिए भनेर मान्नुपर्छ । नेपालमा कमरा–कमारी प्रथा कायम रहँदासम्म जो कमारा–कमारी हुन्थे तिनीहरु सर्वहारा वर्गमै पर्दथे । उनीहरु सुकुम्बासी होइनन् वा थिएनन् भन्ने कुरा नै होइनन् ।

जो वा जुन वर्गका मान्छेहरु अर्को रङ्ग, जाति, लिङ्ग आदिका फरकपनामा निरीह बन्न पुग्छ त्यसलाई सर्वहारा वा सर्वहारा वर्गको मान्छे भन्न कुनै बार बार्नुपर्दैन । दास प्रथा हट्दै जान थालेपछिका दिनमा सर्वहारा वर्गका मान्छेको सङ्ख्यामा क्रमशः कमी आउँदै जान थालेको हो । अबका किसान पेसा अपनाउने मान्छे हुन् कि कारखानामा मजदुरी गर्ने मान्छे हुन् कि, या बाटो सफा गर्ने मजदुर हुन्, ती कोही सर्वहारा वर्गका मान्छे हुँदै होइनन् । किनभने उनीहरुकै गरम पसिनाले भिजेको बाँझो जमिनलाई खनजोत गरेर परिश्रमका साथ कर्म भइरहेको हुन्छ ।

यसरी स्वयंमा मिहिनेत र दृढ विश्वासका साथ काम गर्ने बानी बसेको मानिस निरुपायताका साथ अरुसँग हारगुहार माग्न थाल्दैन । बरु ऊ आफैँमा रहेको दृढ विचारका साथ भिड्न खोजिरहेको हुन्छ । यसरी दृढ विश्वासका साथ संसारको धर्तीमा जन्मेर आफू बाँच्दै र अरु धेरैलाई अन्न खुवाएर बचाउँदै गर्ने मान्छे कसरी सर्वहारा वर्गको मानिस बन्न सक्ला ? यो शब्दले उही श्रमिक, उही मजदुर आदिका आँचमा आफूलाई हेपाइपूर्ण व्यवहार गरेको वा हेपाहा शब्दले सम्बोधन गरेर आफ्नो बेइज्जत गरेको वा भएको भन्नेजस्ता सोचाइहरु उत्पादन हुन थालेका छन् । सोचाइको यो उबडखाबड विचलनसँगै किसान वर्ग आदिका दिलमा एउटा खराब छाप बस्न पुग्दछ ।

बृहत् नेपाली शब्दकोशले सर्वहाराको अर्थ कुनै जमिन र घर केही पनि नभएको नागरिक वा व्यक्ति भनेर सर्वहारा शब्दको अर्थ खुलाइदिएको छ । तर आजको समयमा सर्वहारा शब्दको अर्थ यति सिमाना भनेर छुट्याउने चिनी किन्दा जोख्ने तराजुजस्तै कुनै तराजु वा साधन रहेको छैन भन्न खोजिएको हो । चेतनशील मानवले यसरी ट्याग लगाएको खण्डमा तत्कालै प्रतिवाद गर्न थाल्छ र विभिन्न खालका आन्दोलन गरेर भए पनि ढिलो वा चाँडो आफ्नो इरादा पूरा गर्ने प्रयासमा लागिरहेका हुन्छन् वा हुन्छौँ । यसरी लागिरहँदा एक्लो व्यक्तिको तुलनामा धेरै व्यक्ति मिलेर सङ्गठितरुपमा लाग्न सकेको खण्डमा आफ्नो लक्ष्य हासिल गर्न सम्भव धेरै नजिक हुनुका साथै सहज पनि हुन्छ ।

वास्तविक सर्वहारा वर्ग भनेको अमेरिकाका गोराहरुले काला जातिका मानिस ल्याएर जति जोताउन र फाइदा लिन सके ती काला जतिका मानिसका पक्षमा बोलिदिने र सहारा दिने पक्ष कतैबाट देखा नपरुन्जेलसम्म तिनीहरु सर्वहाराका रुपमा रहे । तर संसारभरमै अहिले कतै पनि मान्छेले मान्छेमाथि गरिएका यस्ता अमानवीय व्यवहार गैरकानुनीरुपमा कतै–कतै अपवादको रुपमा भए पनि कानुनी राज्यमा त्यस्ता कुरा अवश्य हुँदैनन् भनेर मान्नुपर्छ ।
हाम्रो देशमा राणा शासनकालका कुनै छोटा कालखण्डमा शासकहरुका व्यवहारले हामी आम नागरिकहरु सर्वहारा बन्न पुगे तापनि धेरै समय त्यो अवस्था टिक्न सकेन । बरु वर्तमानकै कालखण्डमा आफूलाई सर्वहारा वर्गका मुक्तिका खातिर काम गर्ने भनेर वकालत गरी नथाक्ने तर व्यवहारचाहिँ जनघाती गरेर आफ्नो उच्च पदको दुरुपयोग गर्नेजस्ता नीच कर्मबाट हामी सार्वभौम अधिकार सम्पन्न नेपालीलाई सर्वहारा वर्गका मान्छेको कोटीमा झार्ने दुष्प्रयास हुँदै छ । यस्ता खराब मनसायबाट गरिएका खराब र जनघातक कामको सर्वत्र निन्दा र भत्र्सना हुँदै गर्दासमेत लाज पचाएर पुनः त्यस्तै जनघातक काम दोहोरिइरहेका खण्डमा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट सङ्गठित भएर त्यस्ता खराब कामको प्रतिवाद गर्न तयार रहेर भए पनि सर्वहारा वर्गका मान्छे हुनबाट जोगिन खोज्नु विवेकपूर्ण काम हो ।

कम्युनिस्ट विचारधारा बोकेर प्रगतिपथमा हिँड्दै छु भन्ने आत्मिक अहङ्कार अधिक मात्रामा बोकेर हिँडेकाहरुलाई तपाईँहरुको अन्तिम गन्तव्य कहाँसम्मको हो ? भनेर सोधनी गरेको खण्डमा हाम्रो गन्तव्य सामान्तवाद, दलाल नोकरशाही, पुँजीवाद हुँदै समाजावादी बाटोको माध्यमले साम्यवाद आफ्नो अन्तिम गन्तव्य भएको कुरा बताउँछन् । कम्युनिस्टले भनेजस्तो साम्यवादी व्यवस्थामा पुग्नु भनेको मरेको मान्छे स्वर्ग पुगेर आनन्दसँग विचरण गरेजस्तै हो । यी दुवै अमूर्त कुरा हुन् ।

तथापि मरेपछि स्वर्ग जान पाइन्छ कि पाइँदैन होला ? भनेर जस्तै नास्तिकको हृदयमा पनि केही भावनाहरु अवश्य उठ्लान् । तर साम्यवाद भनेको वर्तमानमा जीवित रहेको मान्छेले स्वर्गको आनन्दको मीठो कल्पना गरेजस्तै मात्र हो । ‘म खाऊँ म लाऊँ सुख सयल वा मोज म गरुँ’ भन्ने साँगुरो मानसिकताले जकडिएको करिब ९८ प्रतिशत मानिसको भीडबाट फुत्त साम्यवाद तानेर निकाल्ने वस्तु वा व्यवस्था हुँदै होइन । शायद ९८ प्रतिशत मान्छेको मानसिकताचाहिँ म खाऊँको नभएर हामी खाऔँको भावनाले भरिएको हुँदो हो त संसारमा साम्यवादी व्यवस्था ल्याउन सकिन्छ भनेर कल्पनामा डुब्नुमात्रै होइन कि अहिलेसम्म शायद संसार पूरै नभए पनि अहिले केही मात्रमा कम्युनिस्ट अनुशासन अपनाउने देशमा भए पनि साम्यवादको स्थापना भइसकेर अरु सबैका लागि एउटा आदर्श राज्य बनिसकेको हुने थियो । बरु कसैले मैले स्थापना गरेको यो साम्यवादी शासन व्यवस्था भनी नाक नफुलाएर वर्तमानमा कायम रहेको वा जङ्गलमा बस्दै गरेका राउटे समुदायमा आफैँले आफैँमा साम्यवाद कायम गर्न सकेका छन् ।

राउटे समुदायका प्रमुख व्यक्ति राउटेका मुखिया हुन्छन् । मुखियाले कतैबाट कति पैसा, कति अनाज, कति लुगाफाटो मागेर वा आफूले बनाएका सामग्री बेचेर आएको पैसाले आफ्नो समुदायका सबै सदस्यलाई थोरै भए पनि पुग्ने सामान लगेर आफूले थोरै पनि फाइदा लुट्न नखोजी जति र जसरी पुग्ने हो त्यति सबैलाई सकेसम्म बराबर बाँडेर खान्छन् वा उपभोग गर्छन् । नेपालको सन्दर्भमा कुरा गर्दा राउटेका मुखियाले आफूले मात्र लुकाएर कति पनि पैसा वा सामान राख्दैनन् । उनीहरुले सबैलाई पुगेसम्म बाँडेपछि कोही असन्तुष्ट हुनुपर्ने वा मुखियाको विरोध गर्नुपर्ने अवस्था नै सिर्जना हुँदैन । यसरी नेपालका राउटे समुदाय र उनीहरुको बचाइको कला भन्नु नै साम्यवादको एउटा गतिलो दृष्टान्त हो ।

तान्जानिया भन्ने देशका डुलुवा जीवन बिताउने हाजाब्बे समुदायका मानिस पनि साँचो साम्यवादी व्यवस्थामा बाँचेका छन् । उनीहरुमध्ये जो युवा ठिटा छन्, तिनले कुनै पनि जीव मारेर ल्याएको मासु अरु केटाकेटीदेखि बूढाबूढीलाई समेत बराबर बाँडी खाएर सबैजना सन्तुष्ट भएका देखिन्छन् । हाजाब्बे समुदायमा कोही ठूलो, सानो भन्ने भेदभाव केही रहँदैन । सिकार गरेर ल्याएको जीवको मासु धेरै हुने भए अर्को दिनलाई राख्ने, यदि ठिक्क मात्रै हुने हो भने आजै वा अहिले नै खानको लागि पकाउने भन्ने खालको मानसिकताले काम गरेको हुन्छ ।

यदि हामी नेपाली र हाम्रो देश नेपाललाई साम्यवादको सङ्घारतिर लैजाने हो भने सारा व्यक्तिभित्रको लोभीपन र व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिनै पर्ने बाध्यता हुन्छ । दोस्रो कुरा अबका दिनमा साम्यवादी व्यवस्था स्वतः कायम गर्न सकिन्छ वा सकिँदैन भन्ने धर्म र मानसिकता बोकेका युवाहरूले साम्यवादतिर उन्मुख हुँदै वा गरिँदै रहेका बेलामा त्यसलाई निरन्तरता दिएर गन्तव्यसम्मको यात्रामा साथ दिन सक्ने अवस्थामा रहेका हुँदैनन् । एकातिर उनीहरुको मानसिकता यो ठीक अथवा ऊ ठीक भन्ने दोधारमा अल्झेर रहेको हुन्छ । बढ्दो उमेरका युवा जगत्का चाहना महत्वाकाङ्क्षी हुन्छन् ।

यी चाहना पूरा गर्नको लागि भौतिक सम्पत्ति धेरै अथवा पर्याप्त मात्रामा आवश्यक पर्दछ । अहिलेको तेइसौँ शताब्दीमा हेर्ने हो भने धन सम्पत्तिका लागि बलियो हृदयवाला जोसुकैले अर्को जोसुकैलाई पनि जे वा जस्ता अनैतिक कर्म गरेर भए पनि धन थुपार्नतिर लागेको हुन्छ । यी सबै कारणले गर्दा कम्युनिस्ट विचारधाराका नेतृत्वका लागि होस् कि शासकले जनतामाथि शासन गर्न होस्, सर्वहारा वर्गकै सहयोगको खाँचो पर्ने हुनाले ती सर्वहाराको नाम विभिन्न क्षेत्रका श्रमिक, किसान, मजदुरमध्ये कसका माध्यमले सम्बोधन गर्न सकिएला भन्ने कुरा निकै सोचनीय र गम्भीर विषय हो ।

प्रतिक्रिया दिनुहोस्