पुस्तक चर्चा

पूर्वजिशिअ गौतमको प्रेरणादायक जीवनयात्रा



 

शिक्षाक्षेत्रमा आफूले गरेको योगदानसहित आफ्नो जीवनकालका आरोह–अवरोहलाई समेटेर रमेशप्रसाद गौतमले लेख्नुभएको पुस्तक ‘मेरो अतीत मेरो अनुभव’ प्रकाशित भएको छ । आफ्नो जीवनकालमा भोगेका र अनुभव गरेका कुराहरुलाई उहाँले निर्भीकतापूर्वक यस पुस्तकमा उल्लेख गर्नुभएको छ ।

विभिन्न आठ जिल्लामा जिल्ला शिक्षा अधिकारी भएर काम गर्दा उहाँलाई आइपरेका कठिनाइहरु बडो मार्मिक छन् । साथै ती कठिनाइहरुको बुद्धिमतापूर्वक गरिएका समाधानले त्यस बखत उहाँको ओज बढाएको अनुमान गर्न गाह्रो पर्दैन । जि.शि.अ. भएर काम गर्दाको मात्र नभएर विभिन्न क्याम्पस-स्कुलको प्राध्यापन एवं प्रशासनको अनुभव पनि उहाँमा उत्तिकै छ । त्यसैले उहाँलाई प्रशासकीय अनुभवका धनी र शिक्षाक्षेत्रका विद्वत् व्यक्तित्वका रुपमा लिइन्छ ।

१२ वटा पुस्तक लेखिसक्नुभएका गौतमको यो पछिल्लो कृतिमा ९५ शीर्षकमा विभक्त छोटा, मीठा र रसिला लेखहरु प्रस्तुत गरिएका छन् । आफ्नो बाल्यकालको बालसुलभ, बाल–उपद्रव, बालखेल, गाई चराउनेजस्ता कार्यसहित टाढाको स्कुलमा गएर पढ्दाको वर्णनले त्यस बेलाको ग्रामीण सामाजिक परिवेशलाई उजागर गरेको छ।

लेखक गौतमले आफ्नो जीवनीमात्रै नभएर आफ्ना पुर्खा, घर–परिवार, वातावरण, त्यस बेलाको राजनीतिक, सामाजिक, शैक्षिक अवस्थाजस्ता पक्षहरुलाई पनि सन्दर्भ अनुसार पुस्तकमा समेट्नुभएको छ । उहाँले आफ्नो गौतम थरको मूल खोज्ने प्रयास गर्नुका साथै जन्मथलो काठमाडौंको स्युचाटार र जन्मघरको बारेमा सटिक वर्णन गर्नुभएको छ ।

उहाँले लेख्नुभए अनुसार काठमाडौं शहरको नजिक भएर पनि स्युचाटार त्यस बेला परकै कुनै गाउँजस्तो रहेछ । लत्ताकपडा, नुन र मट्टीतेलजस्ता चिजबाहेक अन्य सबै उपभोग्य सामग्रीमा हामी आत्मनिर्भर थियौँ भनेर उहाँले उल्लेख गर्नुभएको छ । धानको उत्पादन आवश्यकताभन्दा बढी हुने हुँदा त्यसको बिक्रीबाट अन्य आवश्यक वस्तुको किनमेल गर्ने गरेको कुरा उहाँले बताउनुभएको छ । त्यस बेलाको गाउँ स्युचाटार बिस्तारै शहरमा परिणत भइसकेको देख्दा काँठका गाउँको विकास भएको हो कि विनाश भन्ने कुराले भने लेखक गौतमलाई कता–कता मनमा छोएको देखिन्छ ।

साउने सङ्क्रान्तिमा नाङ्लो ठटाउँदै ‘लुत्तो लैजा है’ भनी अगुल्टु फालेको, जनै पूर्णिमामा विधिअनुसार नुहाई जनै फेरेको, दशैँमा पिङ खेलेको उहाँले अझै बिर्सन सक्नुभएको छैन । साथै काठमाडौंको स्युचाटारदेखि चन्द्रागिरि, चित्लाङ हुँदै मकवानपुरको टिस्टुङमा रहेको मामाघरमा दशैँको टीका लगाउन एक्लै हिँडेर पुगेको त्यस बेलाको वर्णन अहिलेका मानिसका लागि कथाजस्तो लाग्छ ।

यसै गरी बाल्यावस्थामा कुकुरको छाउरा समातेर खेल्दा बाहुनको छोराले कुकुरको छाउरासँग खेल्ने हो ? भन्दै बाबुले समातेर घरतर्फ ल्याएको प्रसंग उत्तिकै रोचक छ । एकपटक खाँदाखाँदैको जुठो थाल भान्सातिर फालिदिँदा व्रतबन्ध नगरेकोले भान्सा बिटुल्याएको भन्दै पिताजीले उहाँलाई पिटेको अनि अर्को भान्सा तयार गरेर खाना खाएको घटनाले त्यस बेलाको संस्कृतिलाई उजागर गरेको छ ।

बिरामी परेमा घरायसी औषधीमूलो गर्ने, फुकफाक गर्ने, धामी–झाँक्री लगाउने गरिन्थ्यो अरे ! बच्चामा एकपटक मसाने खटिरा आउँदा भाउजूले गहत उखेलेर ल्याई पेस्ट बनाएर लगाइदिएको अनि फुपूले चाहिँ कालिमाटीमा लगेर फुक्न लगाएपछि खटिरा निको भएको पुस्तकमा उल्लेख छ ।

त्यस्तै कमिज, सुरुवाल र टोपी लगाएर शान्ति निकुञ्ज स्कुलमा पढ्न जाँदा साथीहरुले टोपी खोसी भकुण्डोको रुपमा खेलेको स्कुले जीवनको कहानी चाखलाग्दो छ । उता वि.सं. २००९ मा बाह्रबर्से मेलामा गोदावरीको कुण्डमा नुहाउन आमासँग जाँदा पहिलोपटक लरी (मोटर गाडी) देखेको तर चढ्न नपाएको कुरा उत्तिकै टिठ लाग्दो छ । यसले त्यस बेलाको काठमाडौंको परिवेश र विकास कस्तो थियो भन्ने देखाउँछ ।

पाँच वर्षकै उमेरमा भएको व्रतबन्धका कुरा, छोरा नै चाहिन्छ भन्ने सामाजिक परिवेशमा छोरीहरु जन्मदाका कुरा, ससुरालीका कुरा पनि चाख लाग्दा छन् । धर्मशास्त्रको उदार र शास्त्रसम्मत व्याख्या गरी गाउँमा जातीय सद्भाव एवं समन्वय कायम गर्ने कार्यमा गाउँका पण्डित नानीराम दवाडीको विशेष योगदान रहेको चर्चा उदाहरणीय छ ।

सिन्धुलीमा जि.शि.अ. भएर रहँदा परीक्षामा हुलदङ्गा गर्ने र राजनीतिमा खुल्लेआम लाग्ने शिक्षकहरुलाई माथिल्ला तहबाट कारबाहीका लागि आएका दबाबको सामना गर्दै समझदारीबाटै समस्या सुल्झाउने मध्यमार्गी बाटो अवलम्बन गरेको कुरा प्रशंसनीय छ । उता मकवानपुरमा सरुवा भएपछि एल.एल.सी. परीक्षालाई मर्यादित बनाउन जाँदा कसैले आफूमाथि गुलेली हानेर टुटुल्को नै निस्किए पनि धैर्यताका साथ परीक्षा मर्यादित बनाएको कुरा प्रेरणादायक छ ।

उता रौतहटमा जि.शि.अ. भएर चलाउँदा ‘यो त बहुलवादी पो रहेछ’ भनी केही पञ्चहरुले मन्त्रालयमा फिर्ता बोलाएको तर पछि ‘कर्मचारी भएर राजनीति नगर्नू’ भन्दै जि.शि.अ.मै थमौती गरेको कुराले त्यतिखेर त्यहाँ जि.शि.अ. चलाउनु निकै चुनौती रहेछ भन्ने स्पष्ट हुन्छ ।

त्यस्तै पर्सा जिल्लामा रहँदा पनि स्थानीय नगर पञ्चायतका प्रधानपञ्चले एक शिक्षकलाई औँल्याउँदै ‘यो शिक्षकलाई २४ घण्टाभित्र सचिवको आदेशबमोजिम सरुवा नगरे तपाईंलाई तुरुन्तै जिल्ला शिक्षा कार्यालयबाट सरुवा गराइदिन्छु’ भनेछन् । तर पछि उनले माफी नै माग्नुपरेको घटनाले लेखक गौतम सक्षम जि.शि.अ. भएको पुष्टि हुन्छ ।

यता भक्तपुर जिल्लामा १३ वर्ष हुन नसकेको वीरेन्दै शिल्ड प्रतियोगिता गराएको, परीक्षामा अनियमितता गरेको आरोपमा कारबाहीमा पर्न लागेका २७ जना प्रधानाध्यापकलाई जोगाएको, राजा वीरेन्द्रसँगको साक्षात्कार, तत्कालीन प्रधानमन्त्री मरीचमान सिंहसँगको भलाकुसारीका प्रसंगहरु उहाँले आफ्नो पुस्तकमा सविस्तार वर्णन गर्नुभएको छ । तत्कालीन राजा एवं प्रधानमन्त्रीसँग आफ्नो निकटता भए पनि आफू कहिल्यै लोभलालचमा नफसेको र पदको दुरुपयोग नगरेको ठोकुवाका साथ उहाँले पुस्तकमा उल्लेख गर्नुभएको छ ।

एकपटक उहाँलाई सीटीईभीटीको उपाध्यक्षको पद सम्हाल्न भनिएको रहेछ । साथै राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएको समयमा मन्त्री बन्न प्रस्ताव आएको रहेछ तर उहाँले यी सबै कुरा अस्वीकार गर्नुभएको कुराले लेखक गौतमको इमानदारिता झल्काएको छ ।

जीवनको उत्तराद्र्धमा १९ वर्षसम्म पद्मोदय मा.वि.को प्रधानाध्यापक भएर काम गर्दाको उहाँको अनुभव उत्तिकै अनुकरणीय छ । शिक्षाको स्तर खस्कँदै गएकोमा लेखक गौतमलाई खिन्नता भएको पुस्तकले इंगित गरेको छ । उहाँ लेख्नुहुन्छ, ‘हामीकहाँ शिक्षाको दलीयकरण भइरहेको छ । विद्यालय र क्याम्पसमा दलका झन्डा बोक्नेका ताँती छन् । शिक्षक र विद्यार्थीलाई राजनीतिक चेतना दिने काम शिक्षाको नै हो । त्यही शिक्षा लङ्गडो बनेको छ ।’

जीवनको प्रारम्भिक कालमा १२ जनाभन्दा बढी सदस्य रहेको संयुक्त परिवारमा हुर्किनुभएका लेखक गौतमको घरमा अहिले श्रीमान्–श्रीमती दुईजना मात्रै हुनुहुन्छ । उहाँका तीन छोरीहरु विवाह गरेर आ–आफ्नो जीवन निर्वाहका लागि अमेरिकामा रमाइरहेको पुस्तकमा उल्लेख छ । तर पनि आफूलाई भने आफ्नै देश, घर, समाज प्यारो लागेकोले नेपालमै बस्ने इच्छा जागेको उहाँले उल्लेख गर्नुभएको छ ।

कहिलेकाहीँ अमेरिका गए पनि आफ्नो जन्मभूमिको मायाले अधिकांश सयम नेपालमै व्यतीत हुने गरेको उहाँको भनाइ छ । आफ्नो पुस्तकमा गौतम लेख्नुहुन्छ, ‘बाल्यकालमा गाउँघरका सरल मानिसहरुले प्रेम र आत्मीयतापूर्वक खानेकुरा खान दिएका क्षणहरुको सुमधुर सम्झना आइरहेको छ । गाउँघरनजिकका पाखापखेरा र वनजंगलमा त्यस बेला गुञ्जिएका चराचुरुङ्गीका मनमोहक आवाजहरु अहिले पनि मेरो कानमा गुञ्जिरहेको भान हुन्छ ।’

सम्भव भएसम्म सन्दर्भ अनुसार राखिएका तस्वीरहरुले पुस्तकलाई जीवन्त बनाएका छन् । राष्ट्रिय दैनिक हिमालय टाइम्सद्वारा प्रकाशित यो पुस्तक विशेष गरी शिक्षाक्षेत्रका नीतिनिर्माता, कर्मचारी, शिक्षकका लागि प्रेरणाको स्रोत बन्नेछ । साथै विद्यार्थी, राजनीतिज्ञसहित साहित्यानुरागीहरुका लागि समेत पठनीय एवं उपयोगी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्