झापा लिगको खेल तालिका सार्वजनिक



भद्रपुर।

भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ ।
गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रङ्गशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा शनिबार खेल तालिका सार्वजनिक गरिएको हो ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुने प्राविधिक संयोजक भगिरथ आले मामाले बताए ।

अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मङ्सिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल मङ्सिर २४ गते हुनेछ ।

भद्रपुरको मेची रङ्गशालामा हुने झापा लिग १८ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढिकालले जानकारी दिए ।

झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । गौरीगञ्ज गाउँपालिका भने सहभागी नहुने भएको छ । १५ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह क मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ख मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ग मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह घ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछ । क्वार्टर फाइनलका खेल मङ्सिर १९ र २० गते हुनेछ । सेमिफाइनलका खेल मङ्सिर २२ गते हुनेछ ।

खेल तालिका सार्वजनिक कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, एएफसीका विकास अधिकृत पुरुषोत्तम कट्टेल, एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का, गोल्डकपका प्रमुख सल्लाहकार टिकाराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।
त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्