पनौतीमा बृहत् भिन्तुना सम्पदा र्‍याली 



काभ्रे। 

पनौती नेपाल र पनौती नेपाल महिला समूहद्वारा नेपाल सम्वत ११४४ को अवसरमा पनौतीमा भिन्तुना पनौती सम्पदा र्‍याली  आयोजना गरिएको छ । लगातार ११ वर्ष देखि आयोजना गरिएको यो कार्यक्रम १२ औ संस्करणको हो । भिन्तुना सम्पदा र्‍यालीले पनौतीको कला, संस्कृति र सम्पदाको पहिचान गराएको अध्यक्ष निवास श्रेष्ठले बताए ।

‘नेपाल संवतलाई  राष्ट्रिय संवतको  रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने, नेपालीहरुको सुख, शान्ति, समृद्धीको कामना गर्ने, पनौती नगरपालिका र आसपासमा रहेका सम्पूर्ण झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुती र प्रचार प्रसार राष्ट्रभर गर्ने, समाजमा रहेका वर्ग, लिङ्ग, जातजाति, भाषाभाषीहरु बीच भाईचाराको विकास गरी आत्मियता कायम गर्ने छ’– अध्यक्ष निवास श्रेष्ठले भने–‘हराएका वा नासिएका मौलिक परम्परालाई खोज अनुसन्धान गरी उजागार गर्ने, हाम्रो मौलिक परम्परा एक पुस्तादेखी अर्काे पुस्तासम्म हस्तान्तरण गर्ने छौँ ।’ ‘परम्परा, संस्कृति जगेर्ना गर्ने मुख्य उद्देश्य हो’–पनौती नेपाल महिला समुह अध्यक्ष सुनमाया श्रेष्ठले भनिन–‘नगरपालिका भित्र रहेका विभिन्न वडाका सबै कला र संस्कृतिलाई समेटेर आयोजना हुने भिन्तुना पनौती सम्पदा र्‍यालीले  पनौती क्षेत्रको थप विकास हुनेछ ।’

पनौती र आसपासका क्षेत्रमा रहेका विभिन्न सांस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभुषा आदिलाई कार्यक्रममा सहभागि गराउँदै जाकीडोलको लाखे, तामाङको झाँकी नृत्य, खैजेडी भजन, पनौतीको देवी  नाच लगायत डेड दर्जन भन्दा धेरै झाँकीहरु प्रस्तुत गरिएको थियो ।

पनौतीको महालक्ष्मी पमाडीटोलबाट शुरु भएको झाँकी सहितको ¥याली पनौती बसपार्क हुँदै फर्किएर पनौती गेटबाट इन्द्रेश्वर महादेव पुण्य मावीबाट अघि बढेर सभामा समापन भएको थियो । कार्यक्रम समापनपछि नेवारी भोजको आयोजना गरिएको अध्यक्ष निवास श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा स्थानीय सरकार तथा विभिन्न संघ संस्थाहरुको सहयोग र समन्वय रहेको थियो । कार्यक्रममा उपाध्यक्ष विकास होराजु, सचिव सानुबाबु तामाङ लगायतले पनौतीमा हुने सम्पदा ¥यालीको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, जनप्रतिनिधिहरु, पूर्व  जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैगरी बनेपामा पनि विभिन्न संघसंस्थाको आयोजनामा नेपाल संवत ११४४  विविध कार्यक्रम गरी मनाइयो।

प्रतिक्रिया दिनुहोस्