काठमाडौँ विश्वविद्यालयमा उपकुलपति सम्मेलन हुँदै



मसिंरमा नेपालका उपकुलपतिहरु र फागुनमा भारतका उपकुलपतिहरुको सम्मेलन काठमाडौँ विश्वविद्यालय धुलिखेलमा हुने भएको छ । 

काभ्रेपलान्चोक। 

काठमाडौँ विश्वविद्यालय धुलिखेलमा आगामी मसिंर ८ गते नेपालमा रहेका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन हुँदै छ भने फागुन ३ र ४ गते भारतका विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन हुने भएको छ ।

‘काठमाडौँ विश्वविद्यालयले पहिलो पटक नेपालमा उपकुलपतिहरुको सम्मेलन गर्दैछ’– काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले भने–‘विश्वविद्यालय अनुदान आयोगले नियमित अनुदान उपलब्ध गराएका ११ वटा विश्वविद्यालय बाहेक स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु समेत सोही सम्मेलनमा सहभागी हुनेछन् ।’ सम्मेलनमा कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहने छ । नेपालमा पछिल्लो समय २८ वटा विश्वविद्यालयमा उपकुलपतिहरु छन् । संघ र प्रदेश सरकारले समेत विश्वविद्यालय स्थापना गर्न सक्ने कानुनी व्यवस्था अनुरुप केही विश्वविद्यालय दर्ता भएका छन् ।

नेपालका विश्वविद्यालयहरुको सम्मेलनपछि भारतमा रहेका २ सय ५० वटा विश्वविद्यालयका उपलकुलपतिहरु काठमाडौँ विश्वविद्यालयको निमन्त्रणमा धुलिखेल आउने भएका छन् । त्यसकै तयारी स्वरुप धुलिखेलमा काठमाडौँ विश्वविद्यालयले नेपालका उपलकुलपतिहरुको सम्मेलन सम्पन्न गरी भारतका विश्वविद्यालयका उपलकुलपतिहरुको सम्मेलन गर्नेछ । फागुन ३ र ४ गतेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको उपकुलपति थापाले बताए । भारतका अधिकांश विश्वविद्यालयका उपकुलपतिहरुले नेपालमा हुने उक्त सम्मेलनमा सहभागिताका लागि प्रतिबद्धता जनाउने क्रम सुरु भएको छ । त्यस्तै उपकुलपति सम्मेलनको तयारीका बीच मसिंर २७ गते दीक्षान्त समारोह हुने भएको छ।

नेपालमा विश्वविद्यालयको इतिहास

नेपालमा सबैभन्दा पहिला खोलिएको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । विक्रम सम्वत २०१६ सालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालयको स्थापना भएको हो । नेपालको दोस्रो विश्वविद्यालय विसं २०४३ सालमा स्थापना गरिएको नेपाल संस्कृत विश्वविद्यालय हो।

सरकारले २०४८ सालमा काठमाडौँ विश्वविद्यालय सञ्चालन गर्ने अनुमति प्रदान गर्‍यो  । उक्त विश्वविद्यालय नेपालको तेस्रो विश्वविद्यालय हो । चौथो विश्वविद्यालयका रुपमा २०५१ मा पूर्वाञ्चल विश्वविद्यालय, पाँचौँ विश्वविद्यालय २०५४ मा पोखरा विश्वविद्यालय, छैटौँ विश्वविद्यालयका रुपमा  २०६१ मा लुम्बिनी विश्वविद्यालय र सातौँ विश्वविद्यालयका रुपमा २०६७ सालमा मध्यपश्चिम विश्वविद्यालय स्थापना गरेको थियो । २०६७ सालमा नेपाल कृषि तथा वन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको स्थापना भएका थिए । २०७३ सालमा नेपाल खुला विश्वविद्यालय र २०७४ सालमा राजश्री जनक विश्वविद्यालय स्थापना भएका हुन् । संघीय सरकारकै पहलमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको प्रक्रियामा अगाडि बढेको छ भने नेपाल विश्वविद्यालयको ऐन निर्माण प्रक्रिया अगाडि बढेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएसँगै प्रदेश सरकारहरुले पनि विश्वविद्यालयको स्थापना गर्न सक्ने व्यवस्था रहेको छ । सोही अनुसार कोशी सरकारले २०७६ सालमा मनमोहन प्राविधिक विश्वविद्यालय, मधेस प्रदेशले २०७८ मा मधेस कृषि विश्वविद्यालय र २०७९ मा मधेस विश्वविद्यालयको स्थापना गरेका छन् । त्यस्तै विश्वविद्यालयले मधेस विश्वविद्यालय, मधेस कृषि विश्वविद्यालय र गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको स्थापना गरेका छन् । बागमती प्रदेश सरकारले पनि विश्वविद्यालयका लागि आवेदन माग गरेको थियो । धुलिखेल अस्पताल लगायतका संस्थाहरुले पनि विश्वविद्यालयका लागि आवेदन दिएका थिए ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम सरकारले पनि प्रदेश विश्वविद्यालय सञ्चालनको लागि आवश्यक छलफल तथा तयारी गरिरहेका छन् । नेपालमा १६ वटा विश्वविद्यालय सञ्चालनमा आइसकेका छन् भने संघीय सरकारको पहलमा थप २ वटा र प्रदेश सरकारको पहलमा थप ३ वटा विश्वविद्यालय स्थापना गर्ने पहल भइरहेको छ । संघ, प्रदेश सरकारको अनुमतिमा विश्वविद्यालयहरु सञ्चालनको क्रममा रहे पनि नेपालमा अहिले २८ जना उपकुलपति छन् ।

प्रतिक्रिया दिनुहोस्