३१ औ वर्षमा काभ्रे मावि बनेपा

‘विद्यार्थीमुखी शिक्षाका लागि शिक्षकलाई लगानी’



काभ्रेपलान्चोक। 

काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा सञ्चालित काभ्रे माध्यमिक विद्यालय बनेपाले ३१ औँ  वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण गरेको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षाविद् जगन्नाथ अवाको अध्यक्षता रहेको थियो ।

‘उपत्यकाको नजिक अर्थात् उपत्यकासँग जोडिएको काभ्रेपलान्चोक जिल्ला शैक्षिक हवका रुपमा विकास हुँदै गएको छ । काभ्रे माध्यमिक विद्यालयको विकास हुँदा समग्र शिक्षा क्षेत्रको विकास हुन्छ’–उपकुलपति थापाले भने–‘काठमाडौँ विश्वविद्यालयको शैक्षिक गुणस्तर कायममा काभ्रे माध्यमिक विद्यालयको महत्त्वपूर्ण योगदान रहेको छ ।’

पछिल्लो समय विद्यार्थीहरुको उच्च शिक्षा मोह अन्य मुलुकमा हुन थालेको भन्दै काठमाडौँ विश्वविद्यालयले नेपालमा नै स्वरोजगार, अनुसन्धानमूलक शिक्षाका लागि नयाँ योजना सुरु गरेको उपकुलपति थापाले बताए । ‘स्वदेशमा अर्थात् आफ्नै मुलुकमा केहि गर्ने सिपयुक्त, अनुसन्धानयुक्त र स्वरोजगार मूलक शिक्षाका लागि जोड दिएका छौँ–उपकुलपति थापाले भने–‘मुलुकको विकासका लागि शैक्षिक संस्थाहरुको दिगोपना र गुणस्तर महत्त्वपूर्ण विषय हो । काभ्रे माध्यमिक विद्यालय जस्ता शैक्षिक संस्था त्यसका धरोहर हुन् ।’

काभ्रे माध्यमिक विद्यालयले स्थापना देखि हालसम्म एसएलसी र एसइईमा १ हजार ८ सय ७८ जना विद्यार्थी उर्तिण गराएको प्रिन्सिपल कुमार मानन्धरले बताए । कक्षा १२ को विज्ञान र व्यवस्थापन संकायमा ७ सय ५३ जना विद्यार्थी उर्तिण भएका छन् । २०५२ सालबाट एसएलसीमा सहभागि हुँदै आएको विद्यालयमा हाल १ हजार २ सय ६० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारी ८४ जना कार्यरत छन् ।

 शैक्षिक गुठी अन्र्तगत सञ्चालित विद्यालयले हरेक वर्ष वार्षिक बजेट तथा कार्यक्रमको पारदर्शिता र सामाजिक लेखापरिक्षण समेत गर्दै आएको छ । शैक्षिक सत्र २०७९ बैशाख देखि २०७९ चैत्रसम्म ३ करोड ९८ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको विद्यालयले ३ करोड ६६ लाख ६७ हजार खर्च गरी ३२ लाख बचत गरेको छ । चालु शैक्षिक सत्र २०८० का लागि ४ करोड ६ लाख २० हजार आम्दानी गरी १६ लाख बचत गर्ने लक्ष्य लिएको छ । विद्यालयको भवन, जग्गा तथा अन्य सम्पत्ति गरी १४ करोडको सम्पत्ति रहेको विद्यालयको मौज्दात २ करोड र ६० लाख ऋण रहेको प्रिन्सिपल मानन्धरले बताए ।

विद्यार्थीहरुका लागि २ हजार रुपैयाँको स्वास्थ्य विमा, निःशुल्क आँखा परीक्षण, आत्मरक्षा तालिम, मार्सल आर्ट तथा अन्य अतिरिक्त क्रियाकलाप, खेलकुद सप्ताह लगायतका कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयले नेपाली र अंग्रेजी विषयको पठन सुधारका लागि अभिभावक बालबालिका कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । अभिभावक शिक्षा तथा ५ वर्ष नियमित काम गर्ने शिक्षक कर्मचारीहरुका लागि उपदान र स्थायीहरुको हकमा संचयकोषको सुविधा उपलब्ध गराएको छ ।

 माध्यमिक तहमा कार्यरत शिक्षकहरुका लागि सामुदायिक विद्यालयमा सरकारले तोकेको मापदण्डको सेवा उपलब्ध गराएको विद्यालयले अन्य तहमा पनि त्यही अनुसारको सुविधाका लागि प्रयासरत रहेको छ । डिजिटल कक्षा, अभिभावक शिक्षा कार्यक्रम, सामाजिक सञ्जालको दबदबामा इन्टरनेटको प्रयोगबाट डिजिटल शिक्षा उपलब्ध गराएको मानन्धरले बताए । मानवजाति परिवर्तनसँग डराउने भए पनि आवश्यकताले त्यसबाट भाग्न नमिल्ने बताउँदै प्रिन्सिपल मानन्धरले सामाजिक सञ्जालको सदुपयोगमा धेरै जोड दिनु पर्ने बताए ।

कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल विकास श्रेष्ठ, संचालक शान्तिराज कायस्थ, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु, जनप्रतिनिधिहरु तथा विद्यालयका शुभचिन्तकहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न विद्याको पुरस्कार उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्