धुलिखेल अस्पतालमा विपद् पूर्वतयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै 



काभ्रे। 

धुलिखेल अस्पतालमा विपद् पूर्व तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी डिसेम्बर १–३ मा आयोजना गरिने सम्मेलनको पूर्व तयारी स्वरुप अस्पतालले बुधवार सरोकारवालाहरुसँग छलफल गरेको छ ।

‘धुलिखेल अस्पतालमा विभिन्न मुलुकका विपद् विशेषज्ञहरु सम्मिलित पहिलो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको छ’– जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन विभाग तथा आयोजक समितिकी सचिव डा. सम्झना बस्नेतले भनिन–‘सम्मेलनमा विश्वका विभिन्न मुलुकमा भएका विपद् पूर्व तयारीका विषयमा तीन दिनसम्म बृहत् छलफल हुनेछ । सोही छलफलबाट निस्किएको निचोडलाई धुलिखेल अस्पताल तथा नेपालका विभिन्न अस्पतालहरुमा कार्यान्वयन गरिनेछ । जसमा जिल्लाका विपद् व्यवस्थापनमा संलग्न सरोकारवालाहरुको समेत सहभागिता रहनेछ।’

‘प्रकोप, त्यसको असर तथा आघात, आपतकालिन उद्धार तथा त्यसको संचार, प्रकोपमा हेरचाहको विन्दु अर्थात् विभिन्न तयारी, अन्तर विभाग, अन्तर अस्पताल र संचार समन्वयका बारेमा पहिलो दिन सम्मेलनमा छलफल हुनेछ’– सम्मेलन संयोजक धुलिखेल अस्पतालमा कार्यरत प्रो.डा.बलराम मल्लले भने–‘सामरिक चिकित्सा, उपचारका लागि आवश्यक पर्ने अन्य उपकरण तथा सामाग्री, सङ्क्रमण रोकथाम र नियन्त्रणका बारेमा दोस्रो दिन छलफल हुनेछ । साथै अस्पतालमा हुने नेतृत्वदायी भूमिका तथा निर्देशन र संयोजन, प्रकोपमा नेतृत्व, विपद् व्यवस्थापन अनुभव साझेदारी, अभ्यास तथा प्रकोपमा औषधीको व्यवस्थापन र सूचना संचारका बारेमा छलफल हुनेछ । तेस्रो दिन संक्रामक रोगको प्रकोप, ठुलो भुकम्प, विमान दुर्घटना, अस्पतालको भवन भत्किएको अवस्थामा उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवा तथा अन्य प्रकोपमा खेल्नु पर्ने भूमिका बारेमा छलफल हुनेछ ।’

अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले २०७२ सालको भुकम्पमा एकै पटक ४ हजार भन्दा धेरै विरामीहरुको उपचार गराएको अनुभव तथा अभ्यासका आधारमा अस्पतालले शुरु गरेको विपद् पूर्व तयारीबाट कोभिडको उपचारमा केही सहज भए पनि दैनिक हुने विपद् तथा विपद्का ठुला घटनामा स्वास्थ्य संस्थाहरुले अपनाउनु पर्ने पूर्व तयारी र सरोकारवालाहरुको भूमिकाका बारेमा सम्मेलन महत्वपूर्ण हुने बताए । सम्मेलनमा विभिन्न देशका विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । पूर्व तयारी छलफल कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नमोबुद्ध नगरपालिका उपप्रमुख रत्न लामा, सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्मेलनले आगामी दिनमा हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी योजना समेत निर्माण गर्नेछ । धुलिखेल अस्पतालले काभ्रे जिल्लाका केही स्थान बाहेक अन्यत्रबाट विपद्को केही घण्टामा बिरामी अस्पताल ल्याईपु¥याउँदा सहज रुपले उपचार गर्न सक्ने गरी तयारी गर्ने गरी तयारी गरिरहेको अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्