जिल्ला प्रशासन र स्थानीय तहबीच अन्तर्क्रिया

‘सेवा प्रवाहकै कारण नागरिकले दुख नपाउन्’



काभ्रे। 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै पालिकाबाट हुने नागरिकता लगायतका सिफारिस तथा अन्य सेवा प्रवाह र शान्ति सुरक्षाका बारेमा जनप्रतिनिधी, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तर्क्रिया सुरु गरेको छ ।

‘हामी १३ वटै पालिकाका १ सय ३५ वटै वडाका जनप्रतिनिधिहरुसँग नागरिकता लगायत स्थानीय तहबाट हुने सेवा प्रवाह तथा सिफारिस, शान्ति सुरक्षाका बारेमा अन्तर्क्रिया गर्नेछौँ’– प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले भनिन–‘नागरिकहरुले स्थानीय तहबाट ल्याउने सिफारिसबाट जिल्ला प्रशासन कार्यालयले दिने सेवामा असुविधा हुन नपाओस् । स्थानीय तहले सिफारिस गर्दा संविधान, कानुन र भएका अन्य व्यवस्थाका आधारमा गर्ने भए पनि नागरिकहरुलाई हुन सक्ने असहजतालाई सहजता प्रदान गर्न अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो ।’

काभ्रेपलाञ्चोक जिल्लाबाट केही वर्ष अघि एकै वर्षमा अनुसूची नै गायव बनाउँदै ३ सय ५० वटा नागरिकता वितरण गरिएको पुष्टि भएको छ । केही विदेशी नागरिकहरुले पनि नागरिकता लिएको गृह मन्त्रालयको छानबिन टोलीले गरेको अनुसन्धानबाट पुष्टि भएको छ । दोहोरो नागरिकता लिने, नागरिकता लिँदा विवरण झुटो पार्ने वा झुटो बनाउने, वंशज तथा अन्य प्रकृतिको नागरिकता लिँदा नागरिकहरुले सिफारिसमा झुटो विवरण बनाउन सक्ने भएकाले स्थानीय तहबाट सिफारिस हुँदा वडा अध्यक्षहरु सचेत रहनु पर्ने प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् । ‘नागरिकताका लागि विवरण झुटो बनाउने, झुटा विवरण पेस गरी दोहोरो नागरिकता बनाउने तथा अन्य क्षेत्रका विषयमा कानुनमा भएका व्यवस्था र त्यसरी सिफारिस गरी नागरिकता प्राप्त गरेको अवस्थामा सिफारिसकर्तालाई हुन सक्ने कारबाहीका बारेमा समेत जानकारी गराएका छौँ’–प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले भनिन–‘अन्तर्क्रियामा प्रशासनबाट हुने सेवा प्रवाहमा नागरिकका गुनासा, विपद् व्यवस्थापन, सेवा प्रवाह तथा अन्य विषयका बारेमा जानकारी गराएका छौँ ।’

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले नगरबासिहरुले प्राप्त गर्ने सेवालाई सहजीकरण र सरलीकरण बनाउन प्रशासनबाट भएको अन्तर्क्रिया कार्यक्रम महत्त्वपूर्ण भएको बताए । ‘वडाबाट विभिन्न खालका सिफारिसका लागि नागरिकहरुको अनुरोध भए पनि कानुनमा भएको व्यवस्थाका बारेमा वडा अध्यक्षहरुलाई जानकारी नहुन सक्छ’–नगर प्रमुख भण्डारीले भने–‘प्रशासनले स्थानीय तहसँग समन्वय गरेर नागरिकलाई सहज बनाउने प्रक्रिया सकारात्मक र महत्त्वपूर्ण छ ।’ नगर उपप्रमुख गीता बञ्जाराले नागरिकहरुले प्रशासनबाट पाउने सेवालाई अझै सहजीकरण र सरलीकरण गर्नु पर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले नगर भित्रका अनेक समस्या समाधानका लागि सहजीकरण गर्न प्रशासनको सेवालाई पारदर्शी र सरलीकृत गर्न समन्वयात्मक भूमिका खेलेकोमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासनलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रशासकीय अधिकृत दीपेश उप्रेती खत्रीले नागरिकता लगायत प्रशासनबाट प्रदान हुने सेवामा स्थानीय तहको सिफारिसमा ध्यान दिनु पर्ने विषयका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्