पाटन अस्पतालमा दुई बिरामीको एकैचोटी शंकास्पद मृत्यु

 छानबिनका लागि औषधी परीक्षण हुँदै 



काठमाडौँ। 

ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा दुई बिरामीको एकैचोटी शंकास्पद मृत्यु भएको छ ।

अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत औषधी दिएको पाँच मिनेट भित्रै दुबैको मृत्यु भएको बताइएको छ ।

निमोनियाको उपचार गराइराहेकी ओखलढुंगाकी ९० बर्षीया जनमाया राई र निमोनियासँगै कलेजोको समस्याको उपचार गराइरहेका ललितपुरका ६८ बर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार मृत्यु भएका नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पतालको जेष्ट नागरिक वार्डमा भर्ना भएका थिए।

मृत्युपछि आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाही भएको आरोप लगाउँदै आक्रोशित भएका छन् । सो क्रममा उनीहरुले डिउटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुर्व्यवहार समेत गरेको बताइएको छ।

अस्पतालका मेडिसिन विभागका प्रमुख प्रा.डा. युवराज शर्माका अनुसार दुवै बिरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधी ‘हेपारिन’ चलाइएको थियो । दुबैलाई निमोनियाको गम्भीर संक्रमण भएकाले अक्सिजन दिएर उपचार भइरहेको थियो । नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, उहाँको स्वास्थ्य अवस्था सुधार आउँदै गएकोले अक्सिजन सहित डिस्चार्ज गर्ने तयारी थियो ।

प्रा.डा. शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताए । उनका अनुसार यी दुवै औषधि सुरक्षित र भर्ना भएका बिरामीलाई सबैभन्दा बढी प्रयोग हुने औषधी हुन् ।

आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधी परीक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको थियो । सोही अनुसार सो ब्याचको औषधी परीक्षणका लागि पठाइएको प्रा.डा. शर्माले जानकारी दिए ।

उनका अनुसार ९० वर्षीया राईका आफन्तले हिजो नै शव बुझेका छन् भने नगरकोटीको शव भने पोस्टमार्टम लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्