नेपाल संवतमा पनौतीमा भिन्तुना सम्पदा र्‍याली



काभ्रे। 

पनौती नेपाल र पनौती नेपाल महिला समुहद्वारा नेपाल संवत ११४४ को अवसरमा भिन्तुना पनौती सम्पदा ¥याली आयोजना गरिने भएको छ । लगातार ११ वर्षदेखि आयोजना गरिएको यो कार्यक्रम १२ औ संस्करणको हो । आगामी कार्तिक २८ गते गोवर्द्धन पूजाको दिन आयोजित भिन्तुना सम्पदा र्‍यालीले पनौतीको कला, संस्कृति र सम्पदाको पहिचान गराउने अध्यक्ष निवास श्रेष्ठले बताए ।

‘नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने, नेपालीहरुको सुख, शान्ति, समृद्धिको कामना गर्ने, पनौती नगरपालिका र आसपासमा रहेका सम्पूर्ण झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचार प्रसार राष्ट्रभर गर्ने, समाजमा रहेका वर्ग, लिङ्ग, जातजाति, भाषाभाषीहरु बीच भाइचाराको विकास गरी आत्मीयता कायम गर्ने छ’– अध्यक्ष निवास श्रेष्ठले भने–‘हराएका वा नासिएका मौलिक परम्परालाई खोज अनुसन्धान गरी उजागर गर्ने, हाम्रो मौलिक परम्परा एक पुस्तादेखी अर्को पुस्तासम्म हस्तान्तरण गर्ने छौँ ।’

‘परम्परा, संस्कृति जगेर्ना गर्ने मुख्य उद्देश्य हो’–पनौती नेपाल महिला समूह अध्यक्ष सुनमाया श्रेष्ठले भनिन् –‘नगरपालिका भित्र रहेका विभिन्न वडाका सबै कला र संस्कृतिलाई समेटेर आयोजना हुने भिन्तुना पनौती सम्पदा र्‍यालीले पनौती क्षेत्रको थप विकास हुनेछ ।’ पनौती र आसपासका क्षेत्रमा रहेका विभिन्न सांस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभुषा आदिलाई कार्यक्रममा सहभागि गराउँदै जाकीडोलको लाखे, तामाङको झाँकी नृत्य, खैजेडी भजन, पनौतीको देवी नाच लगायत डेढ दर्जन भन्दा धेरै झाँकीहरु प्रस्तुत हुनेछन् । पनौतीको महालक्ष्मी पमाडीटोलबाट शुरु हुने झाँकी सहितको र्‍याली पनौती बसपार्क हुँदै फर्किएर पनौती गेटबाट इन्द्रेश्वर महादेव पुण्य मावि हुँदै कार्यक्रम स्थल पुगेर समापन हुनेछ । कार्यक्रम समापन पछि नेवारी भोजको आयोजना गरिएको अध्यक्ष निवास श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा स्थानीय सरकार तथा विभिन्न संघ संस्थाहरुको सहयोग र समन्वय रहनेछ । पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष उत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनसुन्दर रघु श्रेष्ठ, विभिन्न क्षेत्रका ब्यक्तिहरु र संचारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष विकास होराजु, सचिव सानुबाबु तामाङ लगायतले पनौतीमा हुने सम्पदा ¥यालीका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्