पश्चिममा अझै खतरा टरेको छैन

असोज यता ४ रेक्टरभन्दा माथिका ३ भूकम्प



काठमाडौँ । 

असोज महिनायता पश्चिम नेपालको तीन जिल्लामा ५ रेक्टर स्केलभन्दा माथिका चारवटा भूकम्प गएका छन् । २०८० असोज १६ गते बझाङमा एकैदिन ६ दशमलव ३ म्याग्निच्युड र ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको चार दिनपछि अर्थात् असोज २० गते बाजुरामा ५ दशमलब ३ म्याग्निच्युडको अर्को भूकम्प गयो । हिजो शुक्रबार ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो भने शनिबार साँझसम्म १ सय १५ पटक पराकम्प गएको थियो । परकम्प जाने क्रम अझै जारी छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा अझै खतरा कायमै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘५ सय वर्षदेखि सो क्षेत्रमा भूकम्प गएको थिएन । शुक्रबार मध्यरातमा गएको भूकम्पको कारण अर्बौं रुपियाँ बराबरको धनजनको क्षति भएको छ । भूकम्पको पूर्वअनुमान गर्न सकिदैन, तैपनि सो क्षेत्रमा खतरा कायमै छ । मध्यरातमा आएको भूकम्पको कारण ठुलो मानवनीय क्षति भएको छ ।’
भूकम्प मापन केन्द्रका अनुसार २०७९ माघ १० गते गते बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलब ९ रेक्टरको भूकम्प गएको थियो भने २०८० वैशाख

१४ गते पुनः सोही जिल्लामा ५ दशमलव ९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । लामो समयदेखि पश्चिम भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठुलो जोखिम रहेको जानकारी दिँदै अधिकारीले भन्नुभयो– ‘नेपाल देश नै भूकम्पको उच्च जोखिम भएको मुलुक हो । त्यसमध्ये पश्चिम नेपालमा उच्च जोखिम रहेको छ । पछिल्लो समय पश्चिम नेपालको रूकुम, रोल्पा, मुगु, दैलेख, बझाङ, मुगु, जाजरकोट, हुम्ला, जुम्ला, गोरखा, अछाम, लमजुङ, वाग्लुङलगायतका जिल्लामा ४ रेक्टर स्केलको करिब आधा दर्जन बढी भूकम्प गएको छ ।

नेपालमा शक्तिशाली भूकम्प गएको ८ वर्षपछि जाजरकोट केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ । यसअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाई ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा करिब ९ हजारको मृत्यु भएको थियो भने २२ हजार घाइते भएका थिए । ८ वर्षयता नेपालमा हालसम्म ५५ हजारभन्दा बढी पराकम्प र भूकम्पको रेकर्ड भएको छ । तथ्यांकअनुसार २०७२ सालयता हालसम्म ४ रेक्टर स्केलभन्दा माथि ५ सय ८३ वटा भूकम्प मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्