आकस्मिक रक्तदानमा ४० युनिट रगत सङ्कलन



पोखरा ।

 पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फूर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो ।

प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको साथै जनसेवाका कार्यमा कहिल्यै पछि नहट्ने कास्की प्रहरी प्रमुख थापाले प्रतिबद्धता जनाए ।

पोखरामा अहिले बिरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको प्रादेशिक रक्तसञ्चार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यका सचिवालय प्रमुख पूर्ण लामाले जीवनदान जस्तो पुण्यको काममा सहभागिता जनाउनेप्रति धन्यवाद ज्ञापन गरेका थिए । पोखरामा रगतको अभाव हुन नदिन रक्तदानको कार्यक्रम आयोजना गर्न संघ, संस्थाहरुलाई उनले आग्रह समेत गरे ।

कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देवेन्द्र सुबेदीले आकस्मिकरुपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिता प्रति धन्यवाद व्यक्त गरेका थिए । पोखरामा रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबले समन्वय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्