विश्व मष्तिष्कघात दिवस

विश्वमा वर्षेनी १ करोड ५० लाख मानिस पीडित



काठमाडौं । 

विश्व मष्तिष्कघात दिवस नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइयो । दिवसका अवसरमा आइतबार रत्नपार्कको शान्ति वाटिकामा नेपाल पक्षघात संघ, नेपाल स्ट्रोक प्रोजेक्ट र ग्रान्डी इन्टरनेसनल अस्पतालले जनचेतनामूलक कार्यक्रम रत्नपार्कबाट प्रभातफेरि शुरू गरी टुँडिखेलको परिक्रमा गरी रत्नपार्क शान्तिवाटिकामा पुगी अन्र्तक्रियामा परिणत भएको थियो ।

कार्यक्रममा मस्तिष्कघात तथा स्ट्रोक के हो भन्ने विषयमा वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाले मष्तिष्कघातले रक्त प्रवाहमा अवरोध भएपछि हुने समस्या हो भन्नुभयो । उहाँले मस्तिष्कको कुनै पनि भागमा रक्तनली बन्द भएर वा रक्तनली फुटेर स्ट्रोक हुने बताउनुभयो ।

डा. थापाले सन् २००४ को अक्टोबर २९ बाट नेपालमा मनाइँदै आएको मष्तिष्क दिवस पहिलोपटक सार्वजनिक थलोमा गर्दा यथार्थ जनचेतनामूलक भएको भान भयो भन्नुभयो । मस्तिष्कघात भएका धेरैजसो बिरामीलाई पक्षघात पनि हुने हुँदा यस रोगलाई पक्षघात, लकुवा अथवा प्यारालाइसिसजस्ता नामले पनि सम्बोधन गर्ने गरिन्छ । यस्ता बिरामीलाई जति सक्दो छिटो उपचार गर्न सके मात्रै ज्यान बचाउन साथै मष्तिष्कघातको जटिलताबाट जोगाउन सकिन्छ ।

वरिष्ठ न्युरोलोजिस्ट डा. राजु पौडेलका अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड ५० लाख मानिस मष्तिष्कघातबाट पीडित हुन्छन् । प्रभावितमध्ये ५० लाख मानिसको अकालमा ज्यान जाने गरेको छ भने ५० लाख बिरामी अशक्त जीवन जिउन बाध्य छन् । अमेरिकाजस्तो विकसित मुलुकमा ४ मिनेटमा १ जनालाई गम्भीर खालको मष्तिष्कघात हुन्छ । ४ जनामध्ये १ जनामा कुनै न कुनै प्रकारको मष्तिष्कघात हुने गरेको पनि उहाँले बताउनुभयो ।

वीर अस्पतालका वरिष्ठ न्युरोलोजिस्ट डा.अविनाश चन्द्रले मष्तिष्कघातको बढ्दो क्रमसँगै विश्वमा मृत्युको दोस्रो ठूलो कारण मष्तिष्कघात बन्दै छ । मष्तिष्कघात, पक्षघातलाई पनि हार्टअट्याकलाई जस्तै प्राथमिकतामा राखी उपचार गर्नका लागि जनचेतना र सरकारको आर्थिक सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले मष्तिष्कघातका बिरामी मुटुको समस्याजस्तो समयमै अस्पताल पुग्दैनन् र उपचार समयमा नहुँदा पक्षघात हुने र ज्यानैसमेत जाने गरेका घटना बढ्दो क्रममा रहेकाले जनचेतनाका लागि सबैले लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्