रक्तदाता कर्मचार्यद्वारा १७६ औं पटक रक्तदान 



बाँके। 
नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका समितिले  विशेष रक्तदान कार्यक्रमको आयोजना गरी  पीडित पक्षलाई केही हदसम्म भएपनि राहत प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल र बिशेष अतिथि  नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्“बाट  विभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा संयुक्तरूपमा रक्त संकलन थैली हस्तान्तरण गरी  कार्यक्रमको शुभारम्भ गरेका थिए  । सो कार्यक्रममा प्रेमसागर कर्माचार्यले १७६ औ पटक रक्तदान गरेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका समिति अध्यक्ष दिब्या गुरूङको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखाका अध्यक्ष प्रवाशकुमार शाक्य,नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला शाखाका अध्यक्ष दिला शाह,नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला शाखाका सल्लाहकार एवं वरिष्ठ पत्रकार  पूर्णलाल चुके र राप्ती सोनारी गाउँपालिका – ६ का अध्यक्ष लवराज खरेल लगायतले रक्तदानको महत्वको बारेमा प्रकाश पार्दै अन्य युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित परेका थिए ।

 सोही  कार्यक्रममा १७६औँ पटक रक्तदान गर्ने  सर्वाधिक स्वयंसेवी  कर्माचार्यलाई दोसल्ला ओढाई,फुलमाल खादा लगाई  सम्मान गरिएको थियो । सो कार्यक्रममा समाजका अन्य पदाधिकारीहरु तथा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखाका अध्यक्ष प्रवाशकुमार शाक्यले ८०औँ पटक र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला शाखाका अध्यक्ष दिला शाहले २६औँ पटक रक्तदान गरेका थिए  । सो कार्यक्रममा  महिला तथा पुरुष गरी  जम्मा ९६ जनाले   रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्