बनेपामा स्तन क्यान्सर सम्बन्धी सचेतना र्‍याली 



काभ्रे।

विश्वव्यापी रुपमा अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाको रुपमा लिने गरिएको छ । सोही महिनालाई अझै प्रभावकारी रुपमा स्तन क्यान्सरका बारेमा सचेतना फैलाउने उद्देश्यले नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रे शाखाको सहकार्यमा शिर मेमोरियल अस्पताल बनेपाले आगामी बनेपामा बृहत् जनचेतनामूलक र्‍याली आयोजना गरेको छ ।

बनेपाको शिर मेमोरियल अस्पताल परिसरबाट सुरु भएको र्‍याली  बनेपाका विभिन्न स्थानको परिक्रमापछि सभामा परिणत भएको थियो । ¥यालीमा नगर प्रमुख शान्तिरत्न शाक्य, अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापा, मेडिकल डाइरेक्टर डा.एन्जिला बस्नेत, अस्पतालका विभिन्न तहका कर्मचारीहरु, जनप्रतिनिधिहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आम जन समुदाय प्रति स्तन क्यान्सर सम्बन्धी रोगको पहिचान र हेरचाह गर्नका लागि जानकारी मूलक सन्देश प्रवाह गर्न ¥याली आयोजना गरेको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपाका नागरिकहरुलाई स्वस्थ राख्न शिविर तथा स्वास्थ्यका कार्यक्रमहरु सचालन गरिरहेको बताए । रोग लाग्नै नदिने, रोग लागि सके पछि समयमै उपचार गरी त्यसको व्यवस्थापन गर्ने तथा रोग लागिसकेका ब्यक्तिहरुलाई हौसला प्रदान गरी सहज र सरल जीवनयापनका लागि उत्प्रेरणा प्रदान गर्ने उक्त ¥यालीको उदेश्य रहेको थियो । अस्पताल परिसरबाट निस्कने बृहत् ¥याली बनेपा पुरानो बजार हुँदै लायकु दरबारबाट बनेपाको अरनिको राजमार्ग हुँदै पुनः रेडक्रस अघिबाट स्मार्ट पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. एन्जिला बस्नेत, क्यान्सर रोग विशेषज्ञ डा.पुन्य खरबुज, डा. धु्र्रर्व कँडेल, अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापा, नेपाल क्यान्सर रोग निवारण संस्थाका सदस्य हर्षनारायण कर्माचार्य लगायतले क्यान्सर जस्तो प्राणघातक रोग लाग्नै नदिन र लागि सकेकाहरुलाई उपचारसँगै हौसला प्रदान गर्नु पर्ने बताएका थिए ।

राजधानी पूर्वका जिल्लाहरुको सबै भन्दा पुरानो अस्पताल शिर मेमोरियलमा सबै प्रकारका क्यान्सरको उपचारका लागि तयारी गरिएको छ । अस्पतालकी मेडिकल डाइरेक्टर डा.एन्जिला बस्नेतका अनुसार पहिलो चरणमा अस्पतालमा आएका विरामीहरुलाई रिफर गर्नु नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुचारु हुनेछ । ‘२७ अक्टोवरबाट औपचारिक रुपमा क्यान्सर रोगको उपचार सुरु हुनेछ’–मेडिकल डाइरेक्टर डा.एन्जिला बस्नेतले भनिन–‘शुरुमा क्यान्सरको पहिचान गर्ने, क्यान्सर भएको प्रमाणीत भएमा त्यसको उपचार गर्न किमो थेरापी लगायतका सेवाहरु सुचारु गर्ने छौं । १२ शैया क्यान्सरका विरामीका लागि व्यवस्थापन गरिएको छ ।’ आईसियु बेड, किमोथेरापी सेवा, विशेषज्ञ डाक्टर, नर्सहरुलाई तालिम दिई सकेको डा. बस्नेतले बताइन् ।

 अस्पतालमा कार्यरत डा. धुर्व कँडेलले विरामीहरुमा देखिएको समस्याबाट अस्पतालले सेवाको भावले क्यान्सरको उपचार सेवा सुरु गरेको बताए । ‘हरेक दिन विरामीहरु अन्यत्र रिफर गर्नु पर्ने समस्या समाधान गर्न यो उपचार सेवा सुरु गरिएको हो’–डा. कँडेलले भने–‘उपचारसँगै नागरिकहरुलाई क्यान्सरका बारेमा सचेतना फैलाउने अभियान सुरु गरिन्छ । महिलाहरुका हकमा हरेक महिनाको एक पटक आफै ब्रेस्ट परीक्षण गर्न अनुरोध गरिन्छ भने खानपान र रहनसहनमा ध्यान दिन अनुरोध गरिन्छ ।’ यो सेवाबाट जिल्लाबासीहरु लाभान्वित हुने उनले बताए । अहिले क्यान्सरको उपचार नीजि अस्पतालहरुमा पुग्दा महङ्गो हुने गरेको छ भने भएका अस्पतालहरुपनि समयमा उपचार सेवा दिन विरामीको चापका कारण सकिरहेका छैनन । त्यही अवस्थालाई मध्यनजर गर्दै शिर मेमोरियल अस्पतालमा क्यान्सर सम्बन्धी रोगको उपचार सेवा सुरु गरिएको डा. कँडेलले बताए ।

भक्तपुर अस्पतालमा कार्यरत डा. पुन्य खरबुजका अनुसार क्यान्सरका विरामीहरु हरेक दिन बढिरहेका छन् । उनीहरुलाई नियमित उपचार सेवा सहज रुपमा दिन नसक्दा मानसिक र शारीरिक रुपमा थप अशक्त हुँदै गएको अवस्थामा आर्थिक रुपले समेत संकट पर्ने अवस्था बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्