विना स्वीकृति नेपालमा संचालित स्वास्थ्य शिविर रोकियो



काठमाडौं । 
नेपालीहरुको महान चाड दशैको मुखमा धर्मपरिवर्तन गर्न प्रोत्साहित गर्ने उदेश्यले विदेशीहरु विना स्वीकृत नेपाल प्रवेश गरी स्वास्थ्य शिविर संचालनमा जुटेपछि नेपाल मेडिकल काउन्सिलले शिविर बन्द गरेको हो ।
विदेशी भूमिबाट नेपालमा शिविर संचालनका लागि आएका झण्डै एक दर्जन व्यक्तिले नेपालमा स्वास्थ्य शिविर संचालनका लागि नेपाल सरकार तथा नेपाल मेडिकल काउन्सिल कुनै निकायसँग स्वीकृति नलिएको मेडिकल काउन्सिलले जनाएकोछ । अनुमति विना नै विदेशी डाक्टर प्रयोग गरि सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर बन्द गराएको मेडिकल काउन्सिलले जनाएकोछ ।
बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा बुधबारदेखि सुरु भएको तीन दिने निशुल्क स्वास्थ्य शिविरमा काउन्सिलको टोलीले विहिवार छापा मारी बन्द गराएको हो ।
काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा विहिवार गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले लिनु पर्ने अनुमति नलिएको बताउनुभयो । ‘ स्वास्थ्य शिविर संचालन गरिरहेका उनीहरु चिकित्सक नै हुन कि होइन् ? दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका १२ – १५ जना विदेशीहरु चिकित्सकको भूमिकामा खटिएको देखियो ।
शंकास्पद शिविर संचालक विदेशी टोलीलाई शुक्रवार  काउन्सिलमा प्रमाणसहित आउन भनिएको छ । यदि चिकित्सक नै हो भने पनि पहिले काउन्सिलसंग अनुमति लिएर मात्रै काम गर्नु पर्छ । त्यसैले हामीले विहिवार दिउसो देखि शिविर बन्द गरिदियौँ ,’ डाक्टर खत्रीले भन्नुभयो । अब विना स्वीकृति स्वास्थ्य शिविर संचालनमा संलग्नहरुले पेश गर्ने कागजातको आधारमा थप कार्वाहीबारे निर्णय हुने उहाँले बताउँनुभयो ।
‘चिकित्सक नै रहेछन् भने एक पटकलाई नसियत दिएर छाड्न सकिएला, होइन रहेछ भने त कडा कारवाही हुन्छ,’ उहाँले भन्नुभयो । शिविरको अनुगमनमा पुग्दा सेवाग्राहीहरुको बाक्लो उपस्थिति रहेको र आफु लगायतको काउन्सिलको टीमले सम्झाएपछि सौहाद्रपूर्ण वातावरणमा फर्काईएको पनि डा.खत्रीले बताउँनुभयो ।
पछिल्लो समय नेपालमा विभिन्न धर्म प्रचार प्रसारका लागि चाडपर्व लक्षित कार्यक्रम लिएर विदेशीहरु नेपालको नियम कानूनको अवज्ञा गर्दै आउँने गरेको पाईएकाले चर्चका नाममा संचालित स्वास्थ्य शिविरको अनुगमन गर्दा विना स्वीकृति विदेशीले खुलेआम कार्यक्रम संचालन गरेकाले काउन्सिलले रोक लगाएको डा.खत्रीले बताउँनुभयो ।
नेपालमा ९० प्रतिशत नेपाली हिन्दु धर्मालम्बी छन् र दशैं, तिहार, छड पर्व नेपालीहरुको प्रमुख पर्वका रुपमा मानिन्छ । यीनै पर्व लक्षित कार्यक्रम लिएर विदेशीहरुले धर्म परिवर्तनका लागि नेपालमा खुलेआम प्रवेश गर्ने गरेको हिन्दु धर्मालम्बीहरुको ठम्म्याईछ ।

प्रतिक्रिया दिनुहोस्