स्वास्थ्य मन्त्रीले स्वास्थ्य बीमा धराशायी बनाएको आरोप लगाउँदै बोर्डका ५ सदस्यले दिए सामूहिक राजीनामा



काठमाडौँ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमालाई धराशायी बनाएको आरोप लगाउँदै बीमा बोर्डका ५ सदस्यले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

सोमबार स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य वीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त गरेको एक दिन नबित्दै ५ जना सदस्यले स्वास्थ्य मन्त्री बस्नेत समक्ष राजीनामा दिएका हुन्  ।

सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर वस्नेतले मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुखको जिम्मेवारी सम्हाल्दै  आएका  डा. उपाध्यायलाई बीमा बोर्डको थप जिम्मेवारी दिँदै कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

स्वास्थ्य मन्त्री बस्नेतको सिफारिसमा सरकारले यही असोज २४ गने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गरेपछी उपाध्यायलाई थप जिम्मेवारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रीको चलखेलबाट बीमालाई धराशायी बनाएको र कामै गर्न नसकिने अवस्था सृजना भएको भन्दै स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्डका सदस्यहरुले मंगलबार स्वास्थ्य मन्त्री बस्नेत समक्ष राजीनामा बुझाएका छन् ।

९ महिना अघि बीमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतिले राजीनामा दिएदेखि बोर्डको अध्यक्ष पद हाल सम्म खाली छ । नागरिकको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँने उदेश्यले सरकारले लागू  गरेको बीमा कार्यक्रमलाई धराशायी बनाउन स्वास्थ्य मन्त्री स्वयम लागि परेकोले आफूहरुले सामूहिक राजीनामा दिएको सदस्यहरुले जनाएका छन् ।

यतिमात्र नभै स्वास्थ्य मन्त्रीले आफ्ना अनुकुलका मान्छे भर्ती गर्नकै लागि बीमा कार्यक्रम गिजोल्दै गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको, आवश्यक जनशक्ति व्यवस्थापन नगरेको राजीनामा पत्रमा उल्लेख गरिएको छ । साथै बीमालाई स्वायत्त बन्न नदिएको आरोप लगाएको छ ।

राजीनामा दिने बोर्डका मनोनीत सदस्यहरुमा डा. सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ भट्टराई र इन्द्रकला राई रहेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र सरकार बिमालाई सक्न लागी परेको आरोप लगाएका छन् ।

मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बिमा ऐन विपरीत बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलालाई स्षपष्टिकरण सोधेका थिए । सो स्पष्टीकरण सोधेको १५ दिनपछि मन्त्रिपरिषदले बसौलालाई तीन महिनाका लागि निलम्बन गर्दै एक हप्ताभित्र स्पष्टीकरण पेस गर्न पत्र बुझाएको छ ।

५ जना सदस्यले सामूहिक राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुईजना मात्र सदस्य छन् । तर, अर्थ मन्त्रालयका प्रतिनिधि लगातार तीन बैठकमा नआएपछि स्वास्थ्य बीमा ऐन अनुसार उनको पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्