राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै



काठमाडौँ। 

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै न्यूनतम शुल्क  १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमशः आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ ।

केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए ।

यही असोज २६ गते शुक्रवारका दिन भएको कलेजो प्रत्यारोपणमा भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए । काठमाण्डौ जिल्लाका ६२ बर्षिय सासुलाई उनकी ३७ वर्षिया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन । अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य हुँदै गएको छ ।

कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युवाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ ।

केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि  सबैमा अनुरोध गर्दै  प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्