शिक्षा सदनले मनायो ६२ औँ वार्षिकोत्सव



काभ्रे।

बनेपामा रहेको शिक्षा सदन माध्यमिक विद्यालयले ६२ औ स्थापना दिवस मनाएको छ । बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसुन्दर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कार वितरण तथा अभिभावक भेला गरिएको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले शैक्षिक क्षेत्रको गुणस्तर सुधार्न तीन तहकै सरकारको उत्तिकै भूमिका भए पनि कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी र दायित्व संविधानले स्थानीय तहलाई सुम्पिएकाले स्थानीय सरकार चनाखो हुनु पर्ने बताए । विद्यार्थी अनुसार शिक्षक तथा भौतिक पूर्वाधार र शैक्षिक सामाग्रीको व्यवस्थापन गर्ने, विद्यालयको नियमित अनुगमन र निगरानी तथा समन्वय गरी खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार्न स्थानीय सरकार सचेत हुनु पर्ने बागमती प्रदेश सभा सदस्य बादेले बताए ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगर क्षेत्रको शैक्षिक सुधार तथा गुणस्तरका लागि नियमित कार्य गरिरहेको बताए । बनेपामा अध्ययन गर्ने कक्षा शिशु देखि १२ सम्मका २३ हजार विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण तथा उपचार लगायतका कार्यहरु गरिरहेको बताउँदै नगर प्रमुख शाक्यले शिक्षामा खस्किएको गुणस्तर सुधार्न विद्यालय, अभिभावक र विद्यार्थी समेत सचेत हुनु पर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा तथा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षक संघ तथा संगठनहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा विद्यालयले कक्षा १२, कक्षा १० अर्थात् एसइईमा उत्कृष्ट हुने विद्यार्थीहरुका अलावा शिशु कक्षा देखि नै विभिन्न विद्यामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले भोग्दै आएका समस्या तथा पूर्वाधार भए पनि प्रविधि मैत्री हुन नसकेको, लायकु मञ्चकै छेउमा विद्यालय भएकाले कार्यक्रमहरु भइरहँदा शैक्षिक वातावरण खलबलिएको शिक्षकहरु पर्याप्त नभएको बताएका थिए ।

बनेपा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु मध्ये धेरै विद्यार्थी भएको शिक्षासदन दोश्रो हो । स्व. गोपालदास बादेको अध्यक्षतामा शुरु भएको उक्त विद्यालयमा हाल शिशु कक्षा देखि १२ सम्म ५ सय ९१ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा शिक्षक केशवप्रसाद ज्ञवाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसुन्दर श्रेष्ठले विद्यालयको शैक्षिक कार्यक्रम प्रभावकारी बनाउन सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्