राजधानीमा फैलियो डेंगी



काठमाडौं । राजधानीमा डेंगी संक्रमण बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले विशेष सरसफाइ शुरू गरेको छ । कामपाले हिजो बिहीबारबाट डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सडक वरपर विशेष सरसफाइ शुरू गरेको छ ।

कामपाले डेंगी नियन्त्रण र विशेष सरसफाइ गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय र कामपा वातावरण व्यवस्थापन विभागअन्तर्गत केही कर्मचारी परिचालन गरिएको छ । चाडवाड शुरू हुनै लाग्दा राजधानीमा डेंगी संक्रमणको संख्या ह्वात्तै बढ्न थालेको छ । कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले महानगरभित्र १ सय ८४ जना डेंगी संक्रमित रहेको जानकारी दिनुभयो । तर, अस्पतालहरूले जनाएअनुसार सयौंको संख्यामा संक्रमित रहेका छन् । उहाँले सबैभन्दा बढी कालिमाटी, कलंकी र स्वयम्भू क्षेत्रमा डेंगी संक्रमितको संख्या बढेको जानकारी दिनुभयो । बढी वर्कसप, भीडभाड हुने र पानी जम्ने क्षेत्र बढी भएका कारण ३ वटाक्षेत्रमा संक्रमितको संख्या बढेको हो ।

हालसम्मको तथ्यांकअनुसार डेंगी संक्रमितको संख्या ३५ हजार ५० जना रहेका छन् । संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ । उपत्यकामा संक्रमण दर उच्च रहेको छ । उपत्यकामा करिब ७ सय ५० जना संक्रमित भइसकेका छन् ।

–कामपाद्वारा विशेष सरसफाइ शुरू
–कलंकी, कालिमाटी र स्वयम्भूमा बढी संक्रमित
–दैनिक २ सय कर्मचारी परिचालन

विशेष गरी जमेको स्थान, घर, विद्यालय, सडक छेउछाउ, गमला, ड्रमलगायत सबै पानी जम्ने स्थानमा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रमअन्तर्गत २८ गतेसम्म डेंगी नियन्त्रण गर्ने कार्यक्रम रहेको छ । कामपाले हिजो डेंगी नियन्त्रण र विशेष सरसफाइमा सहभागी हुने टोलीलाई कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । जनस्वास्थ्य विभाग प्रमुख पौडेलले टोलीमा करिब १ सय ५० जना परिचालित हुने बताउनुभयो ।

कामपाले जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गर्नेछ । हरेक समूहमा एक जनाले नेतृत्व गर्नेछन् । बिहीबार पूर्वक्षेत्रअन्तर्गत नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गरेका थिए । सो टोलीले आज शुक्रबार पश्चिम क्षेत्रको वडा–२, १२ देखि १७ र २६ वडाक्षेत्रमा डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सफाइ कार्यक्रम गर्नेछ ।

भोलि शनिबार मध्यक्षेत्रको १८ देखि २७ र २७ वडाक्षेत्र र २८ गते उत्तरक्षेत्रको १, ३, ४, ५ र २८ देखि ३० वडाक्षेत्रमा डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्कने र बृहत् सफाइ कार्यक्रम गर्नेछ । डेंगीको अवस्था हेरेर दशैँलगत्तै विशेष कार्यक्रम गर्ने योजना रहेको जनस्वास्थ्य विभाग प्रमुख पौडेलको भनाइ थियो ।

जनशक्तिलाई परिचालन कार्यक्रम आरम्भ गर्दै प्रशासन विभागका प्रमुख दीपक अधिकारीले जनशक्तिबाट सफा सडक अपेक्षा गरिएको बताउनुभयो । त्यस क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले आजबाट टेकुमा भेला गरेर फरक दिनमा फरक क्षेत्रमा सरसफाइमा खटाइने जानकारी दिनुभयो ।

सफाइका क्रममा पानी जमेका खाल्टा पुर्ने, कुनै भाँडामा पानी देखिए पोख्ने, लामखुट्टेका लार्भा भएका स्थानमा लार्भिसाइट छर्ने काम गर्नेछन् । सफाइमा कामपा जनस्वास्थ्य र वातावरण व्यवस्थापन विभागअन्तर्गत सफाइ कर्मचारी परिचालित हुनेछन् ।

वातावरण व्यवस्थापन विभागका अनुसार पर्व लक्षित सफाइ सडक केन्द्रित हुनेछ । झार उखेल्ने, नाली सफा गर्ने, पखाल्ने, टिपनटापन गर्ने सफाइका मुख्य क्रियाकलाप हुन् । यस क्रममा ब्रमुर, जेटमेसिनसहितका उपकरण प्रयोग गरिने छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रश्मी राईका अनुसार, जनशक्तिले हाजिर भएर एक दिनमा ८ घण्टा काम गर्नुपर्नेछ । यसबापत उनीहरूले दैनिक ६ सय ६८ रुपियाँ पारिश्रमिक पाउँछन् । उनीहरूका लागि १ सय दिनको काम सुनिश्चित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्