मोना भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई



म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप भलिबल प्रतियोगिता–२०८० को उपाधि पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् । बिहीबार बेनीमा सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबलको फाइनल खेलमा बेनीले मंगला र अन्नपूर्णले मालिका गाउँपालिकालाई हराउँदै उपाधि जितेका हुन् ।

पुरुषतर्फको फाइनलमा बेनीले मंगलालाई शुन्यका विरुद्ध लगातार सोझो तीन सेटमा पराजित गरेको थियो । पहिलो सेट २५–१७, दोस्रो २५–१९ र तेस्रो २५–१९ अङ्कको अन्तरमा बेनीले मंगलालाई हराउँदै उपाधि जितेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । यसैगरी महिलातर्फको फाइनल खेलमा एक सेटको विरुद्ध अन्नपूर्णले मालिकालाई तीन सेटले जितेको छ ।

महिलातर्फ भलिबलको फाइनल खेलमा पहिलो सेट अन्नपूर्णले २५–१९, दोस्रो २५–१८, तेस्रो मालिकाले २५–१९ र चौथो अन्नपूर्णले २५–१४ अङ्कको अन्तरमा उपाधि जितेको भलिबल संघका अध्यक्ष बानियाँले जानकारी दिए ।

यसैगरी पुरुषतर्फ रघुगंगालाई १ का विरुद्ध ३ सेटले पराजित गर्दै मालिका गाउँपालिका तेस्रो भएको छ भने महिलातर्फ धवलागिरि गाउँपालिकालाई पराजित गर्दै रघुगंगा तेस्रो भएको छ । बुधवार र बिहीबार दुई दिनसम्म चलेको प्रतियोगितामा म्याग्दी जिल्लाका ६ वटै पालिकाहरुले सहभागिता जनाएका थिए ।

भलिबल प्रतियोगितामा विजेता, उपविजेता र सान्त्वना भएका पालिकालाई पुरुषतर्फ क्रमशः एकलाख र ५० हजार तथा महिलातर्फ ७५ हजार र ५० हजार रुपैयाँ एवं सान्त्वनालाई २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । उक्त पुरस्कार शुक्रवारदेखि सुरु हुने प्रवासी म्याग्देलीहरु आबद्ध संस्था मोना अन्तर्राष्ट्रिय कार्यकारी समिति (आईइसी)को पाँचौं अधिवेशनको उद्घाटन सत्रमा वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्