प्रभावकारी बन्दै आयुर्वेद स्वास्थ्य 

एक वर्षमा ३१ हजार ७ सयले लिए सेवा



काभ्रे।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आर्थिक वर्ष भएका कार्यहरुको प्रगति समीक्षा संचारकर्मीहरु मार्फत सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९-२०८० को वार्षिक समीक्षा कार्यक्रमबाट चालु वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउन मद्दत पुग्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेकी प्रमुख डा.वशंवदा कौण्डिन्न्यायनीले बताइन् ।

जिल्लाका १३ पालिका मध्ये ४ वटा पालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र र चारवटा पालिकामा नागरिक आरोग्य सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकबाट भने सबै क्षेत्रका नागरिकहरुलाई नि:शुल्क र सशुल्क सेवा प्रदान गरिरहेको छ । एक वर्षको अवधीमा जिल्लाका विभिन्न स्थानबाट सेवा लिने नागरिकहरूको सङ्ख्या ३१ हजार ७ सय ४२ रहेको छ । नि:शुल्क औषधी तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सशुल्क औषधी आवश्यक हुने बिरामीहरूका लागि ५ प्रतिशत छुटमा औषधी विक्री गर्न सुरु गरिएको छ । जसले नागरिकहरुलाई सरकारले तोकेका नि:शुल्क बाहेकका अन्य अत्यावश्यक औषधीहरु सेवनका लागि सहज भएको सेवाग्राहिहरुले बताएका छन् । स्तनपायी आमाहरुका लागि दुग्ध प्रवर्द्धन कार्यक्रम गत वर्ष प्रभावकारी रहेको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. वशंवदा कौण्डिन्न्यायनीले बताइन् ।

‘धन्वन्तरी दिवस, राष्ट्रिय योग दिवस, महिला स्वास्थ्य स्वयंसेविका सचेतना कार्यक्रम, संचारकर्मीसँग अन्तर्क्रिया, ट्राफिक प्रहरीलाई प्रर्दुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, विद्यालय स्तरीय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, नि:शुल्क आयुर्वेद सेवा, ज्येष्ठ नागरिक सेवा, क्षमता अभिवृद्धि कार्यक्रम, स्वस्थ जीवन कार्यक्रम, तनाव व्यवस्थापन, एक जिल्ला एक जडिबुडी कार्यक्रम सम्पन्न भएको छ’–जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.वशंवदा कौण्डिन्न्यायनीले भनिन् –‘गत वर्षमा संघ र प्रदेश सरकारबाट सञ्चालित कार्यहरु शतप्रतिशत जस्तै सम्पन्न भएका छन् । त्यसले नागरिकहरुमा आयुर्वेद सेवा लिन र त्यसको प्रभावकारीताका बारेमा बुझाउन सहज भएको छ ।’ कार्यक्रममा कविराज प्रताप लामाले चालु वर्ष सञ्चालन हुने कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए । चालु वर्षमा पनि अघिल्लो वर्षका जस्तै कार्यक्रमहरु विभिन्न क्षेत्रमा सञ्चालन गरिने उनले बताए । संघ मार्फत सञ्चालन हुने केही कार्यक्रमहरु कटौती भएको लामाले बताए ।

आयुर्वेद सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आयुर्वेदको प्रभावकारीताका बारेमा नागरिकहरुलाई सही सूचना प्रदान गर्नु पर्ने बताइन् । रोग लाग्नै नदिन तथा रोग लागि हालेमा आयुर्वेदको सही प्रयोग गर्न सहज वातावरण बनाउन आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गरेको सेवालाई अझै प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जोड दिईन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमलिसना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, आयुर्वेद स्वास्थ्य संस्थाका विभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्