दृष्टि दिवसमा तिलगङ्गा आँखा प्रतिष्ठानको अन्तरक्रिया 

३५ लाख मानिसलाई कार्यस्थलमा हुने दुर्घटनाबाट आँखासम्बन्धी समस्या



काठमाडौँ। 

तिलगङ्गा आँखा प्रतिष्ठानले  विश्व दृष्टि दिवस २०२३ को अवसरमा मंगलबार  विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको  छ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सबैको पहुँचमा आँखा स्वास्थ्यलाई पुर्‍याउन अस्पतालले केन्द्रमा मात्र नभई देशको कुना–कुनामा सेवा बिस्तार गरेको जानकारी दिइन्।

त्यस्तै डा सिर्जना अधिकारीले काम गर्दा कार्यस्थलमा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे तथ्यांकसहित प्रस्तुति दिएकी थिइन्।

३५ लाख मानिसलाई कार्यस्थलमा हुने दुर्घटनाबाट आँखासम्बन्धी समस्या

करिब ३५ लाख मानिसहरुलाई कार्यस्थलमा हुने दुर्घटनाबाट आँखासम्बन्धी समस्या हुने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार वार्षिक रूपमा अनुमानित ३५ लाख मानिसहरुलाई कार्यस्थलमा नै दुर्घटनाबाट हुने आँखा सम्बन्धी चोट लाग्ने गरेको छ।

त्यस्तै, समान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरूको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशत भन्दा कम छ। संगठनका अनुसार विश्वभरका काम गर्ने उमेरका करिब १ करोड ३० लाख व्यक्तिहरू दृष्टि कमजोरीसँगै बाँच्ने गरेका छन्।

पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्याको दृष्टि कमजोर  छ।

दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत) नै पहिलो कारण रहेको छ  भने अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ। चस्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ। हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ।

पुरुषको तुलनामा महिलाहरुमा दृष्टि बिहिनता बढीरहेका छन्। नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ। दृष्टि कमजोर भएका बालबालिकाहरुका औपचारिक शिक्षा ५ गुणाले कमी हुने सम्भावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ। ५ जना अन्धोपना भएका बालबालिकाहरुमध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ।

यो आकडा अनुसार विगतमा भएको सर्वेक्षण भन्दा रोगको भार कम हुँदै गएता पनि बुढ्यौलीपन, नसर्ने आँखाका नयाँ रोगहरु, नयाँ रोगको वृद्धि र मुख्यतया ग्रामीण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नु पर्ने हो त्यो अनुरूप भएको पाइँदैन।

नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखारोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको पाइन्छ। यसको अलावा कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृति अनुसार जोखिम मूल्याङ्कन समय–समयमा गर्ने हो भने यसबाट पर्ने असरलाई न्यूनीकरण गर्दै प्रत्येक नेपालीहरुको जीवनशैली उकास्न उत्पादकत्व वृद्धि गरी राष्ट्रलाई समृद्धि तर्पm उन्मुख गराउन सकिन्छ।

यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो बिहीबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइँदै छ।

प्रतिक्रिया दिनुहोस्