धुलिखेल नगरपालिकाले गर्‍यो  वार्षिक समीक्षा



काभ्रे। 

धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७९-२०८० मा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा आयोजना गरेको छ ।

दुई दिन आयोजित कार्यक्रममा पहिलो दिन हरेक वडामा भएका गतिविधिहरुका बारेमा वडा अध्यक्षहरुले पहिलो वर्ष भएका कार्यहरुमा भएका सफलता, अवरोध तथा सुधार गर्नु पर्ने पक्ष र असहजताका बारेमा प्रस्तुति गरेका थिए भने दोस्रो दिन कार्यालय मार्फत प्रदान भएका सेवाहरु शाखा प्रमुखहरुले प्रस्तुत गरेका थिए ।

 नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले लिएका महत्त्वपूर्ण लक्ष्यहरु पुरा गर्न समीक्षा महत्त्वपूर्ण भएको बताए । ‘हामीले गरिबी निवारण, स्वस्थ नगरबासीहरु सहित स्वस्थ नगर लगायतका महत्त्वपूर्ण कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘दक्षिण एसियामै नमुना शहरका रूपमा चिनिएको धुलिखेल नगरपालिकाले गर्ने हरेक गतिविधि नागरिक मैत्री हुनेछन्।’

समीक्षा कार्यक्रममा उपप्रमुख नीराजन जंगमले नगरपालिकाका सबै कार्यहरु गुणस्तरीय गर्न, नागरिकहरुका गुनासालाई सम्बोधन गर्न र आगामी वर्षका योजनाहरुलाई सहज कार्यान्वयन गर्न समीक्षा महत्त्वपूर्ण हुने बताए । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले काम गर्दाका अनुभव, भौगोलिक अवस्था, प्रशासनिक जटिलता, सामाजिक विषय तथा भएका अनुभवलाई समीक्षा कार्यक्रमले समेट्ने बताए । ‘विगत वर्षमा भएका अभ्यास र अनुभवका आधारमा चालु वर्षका योजनाहरु कार्यान्वयन गर्न सहज र सरल हुनेछ’–प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले भने–‘आवश्यकता र औचित्यका आधारमा भएका चुनौतीलाई आगामी दिनमा योजना तर्जुमा तथा योजना कार्यान्वयनमा ध्यान दिन सहज हुनेछ ।’ नागरिकको अपेक्षा र आवश्यकताका आधारमा कार्य सम्पादन गर्न सहज हुने थापाले बताए ।

नगरपालिकाका शाखाहरूले सम्पादन गर्न सेवालाई अझै गुणस्तरीय र प्रविधि मैत्री बनाउन समग्र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने तथा सिप र ज्ञानलाई विधि र प्रविधिसँग जोड्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

धुलिखेल नगरपालिकाले नागरिकहरुलाई घरबाटै सम्पत्ति कर तिर्न सक्ने व्यवस्था गरेको छ भने भुक्तानी प्रणालीमा पनि सुधार गर्दै लगेको छ । गुनासाहरुको सम्बोधन तथा नागरिकहरुका आवाजलाई सहज ढङ्गले समाधान गर्ने अख्तियारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्