पर्सामा आँखा परिक्षण १ सय ५८ जनाको निःशुल्क शल्यक्रिया गरिने



काठमाडौं  ।

पर्सा जिल्लाको संखुवा पर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा ४ सय ४५ जनाको आँखा परिक्षण गर्दा १ सय ५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तिय संस्थाको आर्थिक सहयोगमा संखुवा पर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा शनिबार एकदिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर आयोजना गरिएको संघले जनाएको छ ।

मोतियाबिन्दु देखिएको सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने भएकोछ । आर्थिक अभावमा र पहुँचको अभावमा कोहि पनि नागरिक आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायहरुसँगको सहकार्यमा देशैभरी बार्षिक हजारौ निःशुल्क आँखा शिविर संचालन गर्दै आइरहेको जनाएकोछ ।

छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व अन्र्तगत नेत्रज्योतीलाई शिविर संचालनका लागी आर्थिक सहयोग प्रदान गरेको हो । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १ सय ५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरु मार्फन नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेकोछ ।

स्थापना देखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरु मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७ सय ७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्