यात्रुले हरेक मिनेट नि:शुल्क उजुरी गर्ने व्यवस्था

धादिङका छ स्थानमा नागरिक सहायता कक्ष 



धादिङ। 

धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।नागरिकले यात्रा गर्दा भाेग्न परेका समस्या समेतलाई जहाकहीबाट नि:शुल्क उजुरी गर्न सकिने र ६ ठाउँका सहायता कक्षहरु राखेर सेवा दिइएको छ ।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सदरमुकाम धादिङबेशी सहित छ स्थानमा हेल्प डेस्क स्थापना गरिएको हो ।
धादिङबेशीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हेल्प डेस्कको स्थापना गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ गैह्रेले हेल्प डेस्कलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले यसले धेरै यात्रुहरूलाई सहज हुने विश्वास व्यक्त गरे ।
बडादशै‚ दीपावली तथा छठ पर्वमा हुने यात्रुको चाप,सवारी साधन चाप बढ्दै जाने हुँदा बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाइ गरी समस्या समाधान गर्ने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए।

हेल्प डेस्क धादिङबेशीस्थित पुछारबजार पुलिस बिट, जोगिमारा, गजुरी, गल्छी, महादेवबेशी र खानिखोला स्थापना गरिएको छ ।

यसैगरि सवारी साधनभित्र हुने आपराधिक र अनियमित किसिमका गतिविधि नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय धादिङले “सेफ्टी विन” कार्यक्रम पहिलो पटक लागू  गरेको छ ।

“सेफ्टी विन” कार्यक्रम अन्तरगत यात्रुको रुपमा प्रहरी सवारी साधनमा चढ्नेछन् । सवारी साधनभित्र हुने आपराधिक गतिविधि, अनियमित क्रियाकलाप, महिला वृद्ध अपांगता भएकामाथि  हुने हिंसा र दुर्व्यवहार विरुद्ध निगरानी गर्ने छ ।  निगरानीमात्र नभई यात्रुको रुपमा रहेका प्रहरीले सडकमा हुने चेक प्वाइन्टलाई खबर गर्ने छ भने चेकप्वाइन्टले कारबाहीको लागि सवारी साधन जाँच गर्ने र आवस्यक कारबाही गरिने किसिमको योजनामा सादा पोसाकका कर्मचारी परिचालन गरिएको मिश्रले बताए ।

दशैँतिहार सुरक्षा योजना अन्तरगत प्रहरीले चारठाउँमा नयाँ चेक प्वाइन्ट, यात्रु सहायता कक्षा सञ्चालन गरिने, राजमार्गलाई लक्षित गरेर नियमित गस्ती विशेष गस्ती, गरिने रातीको सुरक्षाका लागि छुटै गस्ती तथा राजमार्गमा यात्रु तथा नागरिकको सुरक्षाका योजना बनाइएको प्रहरी प्रमुख मिश्रले जानकारी दिए ।

दशैँ तिहारमा हुनसक्ने किसिमका आपराधिक गतिविधि निगरानी गर्नका लागि लामो सुरक्षा गस्ती  सञ्चालन गर्ने, प्रहरी चौकी नभएको गाउँहरुमा गएर प्रहरी टोली बास बस्ने र सुरक्षाको प्रत्याभूति दिने किसिमको योजना रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

बैक तथा वित्तीय संस्थाहरु, सुन पसलहरु सुरक्षा प्रदान गर्ने, जुवा तास नियन्त्रणका लागि विशेष योजना रहेकोले दसैँ  तिहारमा प्रहरी कर्मचारीलाई बिदा नदिने र १२  घण्टासम्मको डिउटी  गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्