सुन तस्करी प्रकरण- जाँचबुझ आयोगको कार्य प्रारम्भ



काठमाडौं । राजनीतिक वृत्तमा हलचल हुने गरी तस्करी भएको अवैध सुन कारोबार प्रकरणको छानबिनका लागि बनाइएको उच्चस्तरीय जाँचबुझ आयोगले कार्य प्रारम्भ गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर काम थालेको हो ।

असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित आयोगलाई तीन महिनाको समय तोकिएको छ । तीन महिनाभित्र आयोगले आवश्यक अनुसन्धान गरी सोको प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने छ ।

आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध पैठारी तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको आयोगका सदस्य किशोरजंग कार्कीले बताउनुभयो ।

२ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरएको ठूलो परिमाणको सुन बरामद गरेपछि सदनदेखि सडकसम्म तातेको थियो । ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सय किलो भनिएको उक्त सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उक्त सुन प्रकरणको प्रारम्भमा विभाग र पछि सरकारको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । सीआईबीले अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न देखिएका ३२ जनालाई सीआईबीले पक्राउ गरी अनुसन्धानपछि अदातलमा मुद्दा दायर गरेको छ ।

सुन तस्करी प्रकरणका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै लामो समय संसद् अवरुद्ध गरेका थिए । प्रतिपक्षी दलको आवाजलाई सत्ता पक्षका कतिपय सांसदहरूले समेत साथ दिएपछि गत भदौ ६ गते सरकार र राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबीच यही असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो ।

यद्यपि, दलहरूबीच आयोगको कार्यादेशको विषयलाई लिएर पूर्वसहमति कार्यन्वायन हुन नसक्दा आयोग गठनमा ढिलाइ भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागिता सँगै चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्केपछि सरकारले असोज १४ मा जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगलाई ६० किलो ७ सय १६ ग्राम सुनको अनुसन्धान गर्ने पहिलो कार्यादेश भए पनि त्यसअघि इलेक्ट्रिक चुरोट (भेप) मार्फत् भित्रिएको सहित सुनसम्बन्धी सबै प्रकरणको आवश्यक अनुसन्धान गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्