केराटिन स्मुथिङको बढ्दो लोकप्रियता



सुष्मा महरा

आजभोलिका युवापुस्तामाझ केराटिन हेयर स्मुथिङको चर्चा र प्रयोग बढ्दो छ । विशेष गरी तन्नेरी पुस्ता स्वभावैले चिटिक्क बनेर हिँड्न रुचाउँछन् । चिटिक्क बन्ने क्रममा कपालले पनि भूमिका खेल्छ । चम्किलो, सुन्दर र मुलायम कपालका लागि प्रयोग गरिने विभिन्न आधुनिक विधिमध्ये केराटिन धेरैको रोजाइमा पर्ने गरेको छ । त्यसै कारण पनि अहिले बजारमा केराटिन हेयर स्मुथिङको चर्चा बढी नै छ ।

वास्तवमा केराटिन भनेको हाम्रो कपाललाई नभई नहुने प्रोटिन हो । कपालमात्र नभई नङ, छाला र रौं निर्माणका लागि आवश्यक यो प्रोटिन हाम्रो शरीरमा नेचुरल्ली आउने प्रोटिन हो । कतिपयले मेरो कपालको क्वालिटी पहिले कस्तो राम्रो थियो, पछि नराम्रो हुँदै आयो भनेको सुनिन्छ । वास्तवमा कपाल नरम व खस्रो हुनु भनेको केराटिनको कारणले हो । सानो उमेरमा कपालमा प्रशस्त मात्रामा केराटिन प्रोटिन हुन्छ भने मानिसको उमेर बढ्दै जाँदा केराटिनको मात्रा पनि घट्दै जान्छ । हेयर वास गर्दा, कपाललाई हावाले हान्दा, कपालमा कलर, स्ट्रेट र हाइलाइट गर्दा केमिकलका कारण कपालको केराटिन हराउँदै जान्छ । यसले गर्दा कपाल रुखो, नराम्रो र खस्रो देखिन्छ ।

पहिले–पहिले माटोले नुहाउने गरिन्थ्यो । त्यसपछि मानव विकाससँगै कपाल नुहाउनका लागि रिठ्ठालगायत फिँज आउने वनस्पतिको प्रयोग गर्न थालियो । हुँदा–हुँदा पछि एउटै साबुनले लुगा धुने र टाउको नुहाउने गर्न थालियो । यसको मतलब कपाल र शरीरका लागि छुट्टाछुट्टै साबुन हुँदैनथ्यो । अलि पछि शरीर र कपालका लागि नुहाउने अलग–अलग साबुन आयो । बिस्तारै कपाल नुहाउनका लागि स्याम्पू बन्यो । स्याम्पू आएपछि कपाल नुहाउनका लागि साबुन प्रयोग हुन छोड्यो । किशोर–किशोरीमात्र नभएर बच्चा एवं बूढाबूढीहरुका लागि पनि कपाल नुहाउन विभिन्न ब्रान्डका स्याम्पू प्रयोग गरिन थाल्यो ।

पछिल्लो समय कपाललाई सफा सुन्दर र मुलायम राख्नका लागि कन्डिसनर, ट्रिटमेन्ट, स्पा हँुदै हेयर मास्क पनि आयो । यस्ता वस्तुको प्रयोग गर्नेहरु ह्वात्तै बढे । समयक्रमसँगै अहिले केराटिन हेयर ट्रिट्मेन्ट प्रयोगमा आएको छ । केराटिनको प्रयोगले बढ्दो उमेर र विभिन्न कारणले नष्ट हुँदै गएको कपालमा केराटिन नामक प्रोटिन उपलब्ध गराएर कपाललाई मुलायम राखी टुक्रिन, झर्न र रुखो हुनबाट बचाउँछ ।

बजारमा आएको केही समयमा नै कपाल नरम र चम्किलो बनाउन निकै रुचाइएको विधि हो केराटिन स्मुथिङ ।

स्वस्थ कपालका लागि केराटिन स्मुथिङ

धेरैमा केराटिन ट्रिट्मेन्टले कपाल नरम र मुलायमका साथै सीधा बनाउने काम पनि गर्छ भन्ने धारणा रहेको पाइन्छ । केराटिन स्मुथिङ गर्दा आइरनले हिट दिएर कपालको मसिनो रेसाभित्र प्रोटिन पठाउने भएकाले कपाल केही समयका लागि सीधा पनि हुन्छ । केराटिन स्मुथिङ गर्दा केही समय कपाल सीधा देखिए पनि स्ट्रेट गरेको जस्तो लामो समय भने सीधा हुँदैन । त्यही कारण धेरैले केराटिन स्मुथिङ गरेको थिएँ तर स्टे«ट किन बसेन भनेर सोध्छन् । केराटिन स्मुथिङ कर्ली कपाललाई सीधा बनाउने विधि होइन । कपाल हाइलाइट, कलर, स्ट्रेट आदि गर्दा कडा खालको केमिकल चलाएको छ भने त्यसले कपाललाई असर गरेर केराटिन हराउँदै जाने भएकाले कपाल स्वस्थ बनाउनका लागि यो विधि प्रयोग गरिन्छ ।

केराटिन स्मुथिङमा कर्ली भएको कपाललाई सीधा बनाउने स्ट्रेट लोसन प्रयोग गरिँदैन । त्यस कारण पनि स्ट्रेट गरेको जस्तो लामो समय कपाल सीधा हुँदैन । केराटिन स्ट्रेट नै भनेर गरियो भनेचाहिँ कपाल सीधा हुन्छ । त्यसमा पनि कति समय बस्ने भन्ने कुरा कपालको क्वालिटीमा भर पर्छ । केराटिन स्मुथिङ, केराटिन ट्रिट्मेन्ट र केराटिन स्ट्रेट भनेको फरक कुरा भएकाले आफूले के गर्न खोजेको र के गर्दै छु भन्ने कुरा बुझेर मात्र गर्नुपर्छ । यदि स्ट्रेट कपाल खोजेको हो भने केराटिन स्ट्रेट नै गर्नुपर्छ । केराटिन स्मुथिङले केवल कपाल नरम र चम्किलोमात्र बनाउँछ । केराटिन स्मुथिङ र स्टे«ट फरक–फरक भएकाले गर्नुअघि राम्रोसँग बुझ्नु र बुझाउनु आवश्यक छ, ताकि गरिसकेपछि गुनासो गर्ने ठाउँ नहोस् ।

कपाल कलर हाइलाइट र स्ट्रेट गरिरहने व्यक्तिले केराटिन स्मुथिङ गर्नु एकदमै जरुरी छ । किनभने कलर, हाइलाइट र स्ट्रेट गर्दा कडा खालका लोसन र केमिकल प्रयोग गरिने भएकाले केही समयमै कपाल ड्यामेज हुने, खस्रो हुने, फुस्रो हुने समस्या आउँछ । बेलाबेलामा केराटिन प्रोटिन कपालमा हालिरह्यो भने कपाल हेल्दी हुँदै जान्छ र मुलायम अनि चम्किलो देखिन्छ । कलर नगरेको कपालमा पनि स्मुथिङ गर्दा कपाल नरम, बलियो, चम्किलो र स्वस्थ बनाएर टुक्रिनबाट बचाउँछ । युवा पुस्तामात्र नभई बढ्दो उमेरका जोसुकैले पनि केराटिन स्मुथिङ गर्न सकिन्छ ।

खर्चका कुरा

बजारमा आएको केही समयमा नै कपाल नरम र चम्किलो बनाउन निकै रुचाइएको विधि हो केराटिन स्मुथिङ । शुरुमा आउँदा सस्तो भनेकै ५ हजारदेखि शुरु भएर कपाल हेरी २५–३० हजार रुपियाँसम्म पनि लिने गर्थे । शुरुमा केही स्थानमा मात्र गरिने केराटिन स्मुथिङको सेवा बजारमा हाई डिमान्ड बढेसँगै अहिले प्रायः साना–ठूला सबै पार्लरहरुमा गरिन्छ । त्यसैले यसको कम्पिटिसन पनि टफ भएको छ । पछिल्लो समय विश्वमै छाएको आर्थिक मन्दीका कारण जुनसुकै व्यवसाय गर्नेहरु धराशयी हुँदै गएका छन् । यही परिस्थितिलाई हेरेर हामीले न्यून दरमा केराटिन स्मुथिङको सेवा प्रदान गरिरहेका छौँ । पहिले हामी व्यवसाय गरेर कमाउन सिक्थ्यौं भने अहिले यही व्यवसायबाट बाँच्नमात्र सकेका छौं । अहिले फेसियल हाउसका प्रायः हरेक ब्रान्चले क्याराटिन स्मुथिङको अफर खोलेका छन् ।

असर त गर्दैन ?
डाक्टरहरुले दाउरामा खाना बनाउँदा धुँवा आउने हुँदा त्यसले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने गरेको हामीले सुनैकै हौं । त्यसो भन्दैमा खाना नै नपकाई खाने गर्न सकिँदैन । केराटिन स्मुथिङको कुरा पनि यस्तै हो । केराटिन स्मुथिङ गर्दा कपाललाई राम्रो गरे पनि आइरन गर्दा त्यहाँबाट निस्किने धुवाँले केराटिन गर्ने र गराउने दुवैको स्वास्थ्यमा असर गर्न सक्छ । त्यसैले केराटिन स्मुथिङ गर्दा मास्क प्रयोग गरी नकारात्मक असरबाट बच्न सकिन्छ । यसमा स्ट्रेट, पम र कर्ली गर्दाको जस्तो कडा र डेन्जर खालको केमिकल भने हुँदैन । त्यसैले अहिले केराटिन स्मुथिङतर्फ किशोर–किशोरीहरुको आकर्षण बढेको छ ।
(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्